महिला मन्त्री र सचिव भएकै मन्त्रालयबाट काबिल र इमान्दार महिला सहसचिवहरू नै लेखेटिए

महिला नेतृत्वमै महिला किन असुरक्षित ?


सुशासनको नारा कि पुरानै सेटिङको पुनरागमन ?

काठमाडौं।

सार्वजनिक प्रशासनमा एउटा स्थापित धारणा छ— महिला कर्मचारीहरू तुलनात्मक रूपमा इमानदार, सुशासनप्रेमी, अनुशासित र जिम्मेवार हुन्छन् । घुस, सेटिङ, अनियमितता र बिचौलियाको खेलमा पुरुष कर्मचारीहरूको संलग्नता बढी देखिने गरेको तथ्य लुकाउने विषय होइन । घुस खान होटलहरूको चोटाहरूमा महिला कर्मचारीहरू धाउँदैनन् । यसमा पुरुष कर्मचारीहरू नै अग्रपंक्तिमा देखिँदै आएका छन् । त्यसैले महत्वपूर्ण र संवेदनशील निकायको जिम्मेवारी अब महिला कर्मचारीहरूलाई दिनुपर्छ भन्ने मान्यतासमेत निजामती सेवामा विकास हुन थालेको छ । तर, यही मान्यतालाई सीपीएको भूमिकामा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सिंगो सरकारले उल्ट्याइदिएको छ— र त्यो पनि महिला मन्त्री र महिला सचिवकै सामूहिक प्रयासमा ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र सचिव चन्द्रकला पौडेलले मन्त्रालयभित्र सुशासनको बलियो सन्देश दिन सक्ने दुर्लभ अवसर गुमाएका छन् । आफ्नै मन्त्रालयमा काम गर्दै आएका, स्वच्छ छवि बनाएका र कार्यक्षमतामा अब्बल ठहरिएका दुई महिला सहसचिव पार्वती शर्मा र नीता पोखरेललाई एकाएक मन्त्रालयबाट हटाई प्रदेशमा सरुवा गरेर पठाइएको छ । सामान्यतया सरकारले एकपटक प्रदेशमा बसिसकेका सहसचिवलाई फेरि प्रदेशमा नै सरुवा नगर्ने परम्परा रहँदै आएको छ । शर्माले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेशस्थित कार्यालयमा १३ महिना काम गरिसक्नुभएको छ भने पोखरेलले लोकसेवा आयोगको वाग्मती प्रदेशमा रहेर काम गरिसक्नुभएको छ । सरकारले एकपटक प्रदेशमा गइसकेका सहसचिवलाई फेरि प्रदेशमा नपठाउने अभ्यासलाई समेत भत्काएको छ । शर्मा मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखा प्रमुख र पोखरेल नीति योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुखको रूपमा रहनुभएको थियो ।

दुवैजना महिला सहसचिवलाई अन्यत्र सरुवा गर्ने मन्त्री र सचिवको यो कार्यले एउटा गम्भीर प्रश्न उठाएको छ— महिला नेतृत्वले नै महिला क्षमतामाथि विश्वास नगर्ने हो भने, सुशासनको आशा कसरी गर्ने ?

यो रास्वपाकी उदाउँदो अवस्थामा रहेकी युवा मन्त्री प्रतिभाका लागि सुनौलो अवसर गुमेको क्षण हो । मन्त्री प्रतिभा मन्त्रीको रूपमा आउनुभएको एक महिना मात्रै पुगेको छ । तर, उहाँले त्यो सुनौलो अवसर गुमाउँदै एक महिनामा आफ्नै मन्त्रालयमा रहेका काविल र इमानदार महिला सहसचिवलाई नै पाखा लगाउनुलाई शंकाको रूपमा लिइएको छ । सुशासनको जगमा बनेको वर्तमान सरकारकी सामान्य प्रशासनमन्त्री प्रतिभाले रातदिन खटिन सक्ने, सुशासनलाई आफ्नो मुख्य मन्त्र बनाउँदै आएका र निजामती क्षेत्रकै स्वच्छ छविका महिला सहसचिवलाई एक महिनाकै अवधिमा हटाउनुले कतै मन्त्रालयमा बिचौलियाहरू हाबी हुन थालेका त होइनन् भन्ने प्रश्न सिर्जना भएको छ । यद्यपि, हालसम्मको मन्त्री प्रतिभाको कार्यसम्पादन भने प्रभावकारी नै भएको विश्लेषण कर्मचारी तहमा गरिँदै आइएको छ । यस प्रकरणमा उहाँ किन चुक्नुभयो ? भन्ने प्रश्न मन्त्रालयमा जोडतोडले उठ्न थालेको छ ।

८ महिनामै तोडिएको ‘सेटिङ’ फेरि फर्किंदै छ ?

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा—जहाँबाट हजारौं कर्मचारीको सरुवा–बढुवा निर्धारण हुन्छ । यो महाशाखामाथि लामो समयदेखि ‘सेटिङ’ र ‘चलखेल’ को अखडा बनेको आरोप लाग्दै आएको थियो ।

यसअघि विशेष गरी प्रमुख प्रशासकीय अधिकृतदेखि अन्य आकर्षक निकायमा सरुवा हुनका लागि प्रति सरुवा ५ देखि १० लाखसम्मकै चलखेल हुने गरेको र बिचौलियाको नेटवर्क मन्त्रीदेखि सचिवसम्म फैलने गरेको आरोपसमेत यो मन्त्रालयमाथि लाग्दै आएको थियो । कर्मचारीहरूका अनुसार केही बिचौलियाहकरूको धन्दा नै सरुवा सेटिङ हुने गरेको थियो । यसमा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा सहसचिवदेखि मन्त्री सचिवसम्ममा नै बिचौलियाहरूले आर्थिक नजराना टक्राउँदै आफू अनुकूलका सरुवा गराउने गरेका थिए । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको त घुस रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको थियो र पछि उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा नै दायर गरेको थियो ।

यस अघि पनि कैयौं मन्त्रीहरू घुस प्रकरणमा मुछिएका थिए । तर, जब पार्वती शर्मा मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको रूपमा आउनुभयो त्यसपछि उहाँले सरुवा सेटिङ गर्ने बिचौलियाहरूको जालो पूरै ध्वस्त पारिदिनुभएको र विधि निर्माण गर्नुभएको मन्त्रालयका इमानदार कर्मचारीहरूको भनाइ छ ।

कर्मचारीहरूका अनुसार शर्माले सरुवालाई पारदर्शी बनाउनुका साथै आर्थिक लेनदेनलाई नियन्त्रण गर्दै बिचौलियाको जालो भत्काउन सफल हुनुभएको थियो । यही कारणले शर्मा हटाइनुभएको त होइन ? यो प्रश्न अहिले मन्त्रालयका गल्ली–गल्लीमा गुञ्जिरहेको छ । शिक्षा व्यवस्थापन र कानुन गरी ३ वटा विषयमा स्नातकोत्तर गर्नुभएकी शर्मा नीति निर्माण तहमा समेत योग्य मानिनुहुन्छ । शर्मा पीएचडी स्कलरसमेत हुनुहुन्छ । उहाँले यूकेबाट पार्टीसिपिटेड राइजिङ लिडरसिप कोर्ससमेत गर्नुभएको छ ।

सुशासनको जगमा बनेको सरकारमै ‘गिल्टी फिलिङ’ पैदा गर्ने निर्णय

अहिलेको सरकार सुशासनको नारा र जगबाट बनेको हो । मन्त्री रावल स्वयं ‘सुधारमुखी’ छविकी नेतृका रूपमा उदाउनुभएको छ । तर, मन्त्री बनेको एक महिनामै गरिएको यो निर्णयले उहाँको प्रतिबद्धतामाथि प्रश्नचिह्न खडा गरेको छ । मन्त्री प्रतिभामाथि सुशासनलाई संस्थागत गर्दै आउनुभएकी, बिचौलियाको खेल रोक्न सफल हुँदै आउनुभएकी शर्मालाई पाखा लगाउँदै पुनः पुरुष कर्मचारीलाई नै कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिनुलाई आश्चर्यको रूपमा हेरिएको छ । यो संयोग हो कि संकेत ? मन्त्रालयभित्रै प्रश्न गर्न थालिएको छ । यो निर्णयमा सचिव चन्द्रकला पौडेलको भूमिका पनि उत्तिकै शंकास्पद रहेको कर्मचारीको गुनासो छ । मन्त्रालयका कर्मचारीहरू शंका व्यक्त गर्दै भन्छन्– ‘कतै पुरानै शक्तिशाली ‘नेटवर्क’ फेरि सक्रिय त हुँदै छैन ? किनकि सरुवा प्रक्रियालाई पारदर्शी बनाउने अधिकारी हट्नु, त्यो पनि सचिवकै सहमतिमा, सामान्य विषय होइन ।’

नीति, योजना तथा विकास सहायता महाशाखामा कुशलतापूर्वक काम गर्दै आउनुभएकी नीता पोखरेल पनि विभिन्न मन्त्रालयमा सुधारका काम गरिसक्नुभएकी स्वच्छ छविकी प्रशासक हुनुहुन्छ । उहाँले जनप्रशासन र अर्को एक गरी दुई विषयमा स्नातकोत्तर गर्नुभएको छ ।,

सामान्यतया एकपटक प्रदेशमा काम गरिसकेका सहसचिवलाई फेरि प्रदेशमै पठाउने प्रचलन छैन । तर, यहाँ त्यो मापदण्डसमेत उल्लंघन भएको देखिन्छ । यो प्रकरण केवल दुई सहसचिवको सरुवामा सीमित छैन । यो निर्णयले तीन वटा गम्भीर सन्देश दिएको छ– जसमा महिला नेतृत्वले नै महिला क्षमतामाथि विश्वास गुमाउँदै छ, सुशासनको अभ्यास गर्ने कर्मचारीहरू असुरक्षित छन् र पुरानै सेटिङ संस्कृति फर्किने संकेत देखिँदै छ । मन्त्री रावल र सचिव पौडेलका लागि यो निर्णय केवल प्रशासनिक निर्णय होइन । यो नैतिक परीक्षण पनि हो । यदि यो निर्णय सच्याइएन भने भोलि सुशासनका भाषणहरू केवल ‘कागजी आदर्श’ मा सीमित हुने मन्त्रालयका कर्मचारीहरूकै विश्लेषण छ । यस सम्बन्धमा जानकारी लिन मन्त्री रावललाई पटकपटक सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन । सरुवा गरिएका सहसचिवद्वय शर्मा र पोखरेलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।