कमलाको अस्थायी डाइभर्सन फेरि बग्यो, सिरहा–धनुषा आवतजावत ठप्प


काठमाडौं । 

सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला पुल नजिक बनाइएको अस्थायी डाइभर्सन लगातार वर्षाका कारण फेरि बग्दा दुई जिल्लाबीचको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।

बिहीबार रातिदेखि परेको वर्षापछि शनिबार बिहान डाइभर्सन भत्किएपछि सयौं सवारीसाधन बाटोमै अलपत्र परेका छन् भने यात्रुहरूलाई गन्तव्य पुग्न कठिनाइ भएको छ। यसअघि पनि सामान्य वर्षाले क्षति पुर्‍याएको डाइभर्सन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार निरन्तर वर्षा र कमला नदीमा बढ्दो पानीको बहावका कारण अस्थायी संरचना पुनः क्षतिग्रस्त भएको हो। पानी घटेपछि पुनः मर्मत गरी डाइभर्सन निर्माण गरिने तयारी छ।

सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ भने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुल निर्माण ढिलाइका कारण स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्।