रामकृष्ण ढकालको मालती मंगले प्रेम, द्वन्द्व र सामाजिक यथार्थ


आगामी वैशाख २५ गते रिलिजमा आउने फिल्म मालती मंगलेको ललितपुरस्थित लबिम मलको क्युएफएक्स सिनेमाज्मा आयोजिक एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।


सार्वजनिक ट्रेलरले मालती मंगलेलाई पारिवारिक र सामाजिक कथामा आधारित फिल्मका रूपमा प्रस्तुत गरेको छ। कथाको केन्द्रमा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम सम्बन्ध देखिन्छ। जसमा आउने उतारचढाव, पारिवारिक दबाब र सम्बन्धमा उत्पन्न दरारलाई ट्रेलरले उजागर गरेको छ।

अभिनेता मेक्सम गौडेललाई हरि नामक नकारात्मक भूमिकामा देखाइएको छ। साथै, मित्रता, सम्बन्ध र समाजभित्रका मूल्य–मान्यताबीच हुने संघर्षलाई पनि कथाले समेटेको छ।

विशेषगरी छोरा–छोरीबीच हुने विभेद र समाजको इज्जतसम्बन्धी मानसिकतामाथि ट्रेलरले गहिरो प्रश्न उठाएको छ। ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’ भन्ने संवादले सामाजिक दबाब र देखावटी इज्जतको यथार्थलाई झल्काएको छ। यसअघि सार्वजनिक भइसकेका गीत झ्याम पारम र सुनैको सपनीका झलक पनि ट्रेलर समावेश छ।

रानी फिल्म्स्को ब्यानर र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्म्मा कथा र निर्देशक प्रकु पाण्डेयको छ भने पटकथा र संवाद संयोग गुरागाईंको छ। विजय, वर्षा र मेक्समसगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुष्मा निरौला, सुनिल तामाङलगायत कलाकारले अभिनय गरेको फिल्ममा महेश पौडेलको छायाकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।

गायक रामकृष्ण ढकाल निर्माता र प्रस्तुतकर्ता रहेको फिल्ममा सागर ज्ञवाली कार्यकारी निर्माता तथा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माता रहेका छन्।