लमजुङ प्रदेश अस्पताल भवन निर्माणमा ढिलाइ : ९ महिना बित्दा पनि टेण्डर आह्वान भएन

376
Shares

लमजुङ।

७० करोड रुपैयाँ लागतमा निर्माण हुने प्रदेश अस्पताल लमजुङको सुविधासम्पन्न भवन निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि आर्थिक वर्षको साढे नौ महिना बितिसक्दा समेत टेण्डर आह्वान हुन नसक्दा निर्माण कार्य अन्योलमा परेको हो ।

प्रदेश सरकारको कुल ६९ करोड ९७ लाख ६४ हजार दुई सय ५८ रुपैयाँ लागत अनुमान रहेको यस परियोजनाका लागि हालसम्म कुनै ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । बजेट विनियोजन भइसके पनि कार्यान्वयनमा ढिलाइ हुँदा सेवाग्राहीमा निराशा बढेको छ ।

पूर्वाधार कार्यालय लमजुङका प्रमुख इञ्जिनियर सोभियत खड्काले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पुनरावलोकन भइरहेकाले टेण्डर प्रक्रिया ढिला भएको बताउनुभयो । उहाँका अनुसार वैशाख महिनाभित्रै टेण्डर आह्वान गरिने तयारी रहेको छ ।

निर्माण हुने नयाँ भवनमा बिरामी र सेवाग्राहीलाई सहज हुनेगरी आधुनिक सुविधा समावेश गरिने जनाइएको छ । भवनमा प्रतीक्षालय, अपाङ्गमैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको व्यवस्था हुनेछ । साथै आकस्मिक सेवा, आइसियु, एनआइसियु, प्रसूति तथा स्त्रीरोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, मुटु तथा न्यूरो सेवा सञ्चालन गर्ने योजना रहेको छ ।

हाल प्रदेश अस्पतालमा दैनिक बिरामीको चाप उच्च रहेको छ । अस्पतालका अनुसार गत वर्ष मात्र एक लाख १३ हजार आठ सय ३७ जनाले सेवा लिएका थिए । भवन अभावका कारण सेवा प्रवाहमा कठिनाइ हुँदै आएको छ ।

नयाँ भवन निर्माण सम्पन्न भएपछि लमजुङसँगै मनाङ, तनहुँ र गोरखा जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । तर, निर्माण प्रक्रिया समयमै अघि नबढ्दा सेवाग्राहीले अझै केही समय सास्ती व्यहोर्नुपर्ने देखिएको छ ।