विश्वभरका फुटबल प्रेमीहरूका लागि सन् २०२६ को वर्ष विशेष हुने निश्चित छ । आउँदो फिफा विश्वकप र २०२६–२७ को नयाँ फुटबल सिजनका लागि ‘द इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड’ (आइएफएबी) र फिफाले खेललाई थप रोमाञ्चक, छिटो र पारदर्शी बनाउने उद्देश्यका साथ नयाँ नियमहरू सार्वजनिक गरेका छन् । केही समयअघि वेल्समा सम्पन्न बोर्डको १४०औँ वार्षिक साधारण सभाले खेलमा हुने ढिलासुस्ती हटाउन र मैदानभित्रको अनुशासन कायम राख्न केही ऐतिहासिक निर्णयहरू गरेको हो । जुन नियमहरू आगामी १ जुन २०२६ देखि पूर्णरूपमा कार्यान्वयनमा आउँदैछन् । नयाँ नियमहरूमध्ये सबैभन्दा चर्चामा रहेको विषय ‘समयको व्यवस्थापन’ हो । अबका खेलहरूमा खेलाडीहरूले जानाजानी समय बर्बाद गर्न पाउने छैनन् । विशेषगरी सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने विश्वकपलाई लक्षित गर्दै ल्याइएका यी नियमहरूले मैदानभित्रको रणनीतिलाई नै बदल्ने देखिन्छ ।
नयाँ नियम यसप्रकार छन :
समय खेर फाल्नेलाई ५ सेकेन्डको ‘अल्टिमेटम’
अब फुटबल मैदानमा खेलाडीले जानीजानी समय खेर फाल्ने दिन सकिएको छ । नयाँ नियमअनुसार, ‘थ्रो–इन’ वा ‘गोल किक’ लिँदा रेफ्रीले ५ सेकेन्डको ‘भिजुअल’ काउन्टडाउन सुरु गर्नेछन् । यदि उक्त समयभित्र खेल सुचारु नभएमा थ्रो–इन विपक्षी टोलीलाई दिइनेछ भने गोल किकको बदलामा विपक्षीले सिधँै कर्नर किक पाउनेछ । त्यस्तै, गोलकिपरले ८ सेकेन्डभन्दा बढी समय हातमा बल होल्ड गरेमा पनि विपक्षी टोलीले कर्नर किक उपहार स्वरूप पाउनेछन् ।
मैदान बाहिर निस्कन १० सेकेन्डको समय सीमा
खेलमा हुने प्रतिस्थापन (सब्स्टीच्युसन) लाई छिटो बनाउन नयाँ नियम ल्याइएको छ । मैदान बाहिर निस्कने खेलाडीले अब १० सेकेन्डभित्र फुटबल ग्राउण्डको चार कुनामा लेखिएको रेखा पार गर्नु पर्नेछ । यदि तोकिएको समयभन्दा ढिलो गरेमा, उनको सट्टामा भित्र छिर्ने खेलाडीले तत्काल प्रवेश पाउने छैनन् । ती खेलाडीले १ मिनेटको ‘पेनाल्टी वेट’ पछि मात्र खेलमा सहभागी हुन पाउनेछन् । मैदानमा हुने चोटपटकको उपचारका लागि पनि नयाँ नियम आएको छ । मैदानभित्र उपचार गराउने खेलाडीले खेल सुचारु भएपछि एक मिनेट बाहिरै बस्नुपर्नेछ । खेल पुनः सुरु भएको १ मिनेटपछि मात्र खेलाडी मैदान छिर्न पाउने व्यवस्था गरिएको छ ।
ऐतिहासिक विश्वकप ढाँचा र कार्ड माफीको राहत
सन् २०२६ को विश्वकप फुटबलको इतिहासमै सबैभन्दा ठूलो हुनेछ । जहाँ पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यी टोलीलाई १२ समूहमा विभाजन गरिनेछ भने कुल ३२ टोली नकआउट चरणमा पुग्नेछन् । खेलाडीहरूले धेरै खेलहरू खेल्नुपर्ने भएकाले उनीहरूलाई राहत दिन समूह चरण र क्वार्टरफाइनलपछि ‘येलो कार्ड एम्नेस्टी’ (पहेंलो कार्डको माफी) को व्यवस्था गरिएको छ । जसले सानातिना गल्तीका कारण खेलाडीले महत्वपूर्ण खेल गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ । खेलाडीहरूलाई रातो कार्डको जोखिमबाट जोगाउन ‘कार्ड एमनेस्टी’ को विशेष व्यवस्था गरिएको हो । समूह चरण र क्वार्टरफाइनल खेल सकिएपछि खेलाडीले पाएका पहेँलो कार्डहरू शून्य (क्लियर) हुनेछन् । ताकि सामान्य गल्तीका कारण कुनै पनि स्टार खेलाडीले सेमिफाइनल वा फाइनल जस्ता महत्वपूर्ण खेल गुमाउनु नपरोस् । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिमा पनि थप सुधार गर्दै अब गलत निर्णयका आधारमा दिइएको दोस्रो पहेंलो कार्ड र पहिचानको भ्रम (मिस्टेकन आइडेन्टिटी) जस्ता विषयहरू पनि समीक्षा गर्न सकिनेछ ।
रेफ्रीको सुरक्षा अब ‘बडी क्यामेरा’ को निगरानीमा
मैदानमा रेफ्रीमाथि हुने दुव्र्यवहार रोक्न र निर्णय प्रक्रियालाई पारदर्शी बनाउन अब रेफ्रीले ‘बडी क्यामेरा’ प्रयोग गर्न सक्नेछन् । अब रेफ्रीसँग तर्क गर्न वा स्पष्टीकरण सोध्न टोलीका कप्तानलाई मात्र अनुमति हुनेछ । साथै, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को दायरा पनि बढाइएको छ । अब गलत पहेँलो कार्ड वा गलत कर्नर किक दिइएको अवस्थामा पनि भीएआरले हस्तक्षेप गर्न पाउनेछ ।
गहनादेखि महिला स्टाफसम्मका अन्य फेरबदल
नियमहरूमा गरिएका अन्य सुधारहरू पनि निकै व्यावहारिक छन् । अब खेलाडीहरूले सुरक्षित रूपमा ढाकिएका गैर–खतरनाक गहनाहरू लगाउन पाउनेछन् । खेलाडीको गहना (जस्तै औंठी वा माला) सुरक्षित रूपमा ढाकिएको खण्डमा लगाउन पाइने व्यवस्था गरिएको छ । महिला फुटबलको हकमा, प्रत्येक टोलीमा कम्तीमा दुई जना महिला स्टाफ अनिवार्य गरिएको छ । यदि कुनै खेलाडीले गोल हुने निश्चित अवसर रोक्दा रेफ्रीले ‘एडभान्टेज’ दिएर गोल भयो भने, उक्त खेलाडीलाई अब पहेँलो कार्ड देखाइने छैन ।
यी नियमहरूको कार्यान्वयनसँगै फुटबल खेल अझ बढी गतिशील र समयमै सकिने अपेक्षा गरिएको छ । यी परिवर्तनहरूले मैदानभित्रको ढिलासुस्तीलाई निरुत्साहित गर्दै खेललाई निर्धारित समय अवधिभर थप रोमाञ्चक र निष्पक्ष बनाउनेछन् । अबका दिनमा फुटबल केवल कौशलको प्रदर्शन मात्र नभई समय र अनुशासनको पनि उत्कृष्ट तालमेल बन्नेछ, जसको प्रतीक्षा संसारभरका करोडौँ प्रशंसकहरू गरिरहेका छन् ।











प्रतिक्रिया