क्यान्सर पीडितलाई पाटन अस्पतालमा निः शुल्क औषधि


काठमाडौं। 

पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले सो अस्पतालले क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको जानकारी दिनुभएको छ । 

ख्यातिप्राप्त गायिका मिरा राणाले क्यान्सरपिडितलाई सघाउन स्थापना गरेको मिरा राणा क्यान्सर समाजबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा एक अमेरिकी विदेशी संस्थाको सहकार्यमा क्यान्सरका विभिन्न प्रकारका औषधि निःशुल्क रूपमा वितरण गर्दै आएको जानकारी गराउनु भएको हो। डा. शाहीले पाटन अस्पतालले बिरामीहरूको आर्थिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक औषधिहरू निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको बताउनु भयो। उहाँका अनुसार अमेरिकास्थित म्याक्स फाउन्डेसनको सहयोगमा पाटन अस्पतालले क्यान्सरका १३ प्रकारका औषधि प्राप्त गर्दै आएको छ। ती औषधि क्यान्सरका विरामीहरुलाई निः शुल्करुपमा उपलब्ध गराउँदै आएको उहाँले जानकारी गराउनु भयो। 

यस सहकार्यबाट लाभान्वित बिरामीहरूले मासिक १०-१५ हजार रुपैयाँदेखि लिएर १०-१५ लाख रुपैयाँसम्म पर्ने महँगा औषधि निःशुल्क रूपमा प्राप्त गरिरहेको उहाँले जानकारी दिनु भयो। 

अस्पतालमा स्तन क्यान्सर, फोक्सोको क्यान्सर, रक्त क्यान्सरअन्तर्गत क्रोनिक माइलोइड ल्युकेमिया, मिर्गौला क्यान्सर, पेटसम्बन्धी क्यान्सर क्रोनिक लिम्फोसिटिक ल्युकेमियालगायतका क्यान्सरका थेरापीअन्तर्गत औषधि उपलब्ध गराइँदै आएको पनि उहाँले बताउनु भयो। यो पहलले क्यान्सरका बिरामीहरूलाई आर्थिक भारबाट राहत मिल्नुका साथै उपचारमा सहजता आएको छ, जुन स्वास्थ्य सेवामा एक सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।