नर्भिक अस्पताल अब सातै दिन खुला रहने


काठमाडौं।

कामको व्यस्तताका कारण समयमै स्वास्थ्य जाँच गर्न नपाइरहनुभएको छ? स्वास्थ्य परीक्षणका लागि कार्यालयबाट बिदा लिन गाह्रो भइरहेको छ?

धेरैजसो कामकाजी व्यक्तिहरू अन्य दिन कार्यालयको व्यस्तताका कारण अस्पताल जान फुर्सद निकाल्न सक्दैनन्। त्यसमा पनि शनिबार अस्पतालका अधिकांश सेवाहरू बन्द हुने भएकाले चाहेर पनि नियमित स्वास्थ्य जाँच गर्न समस्या हुने गरेको छ। कतिपयले त स्वास्थ्य समस्या देखिए पनि व्यस्तताकै कारण उपचारमा बेवास्ता गर्ने गरेका छन्।

अब भने यस्तो समस्याबाट राहत मिल्ने भएको छ। कामकाजी व्यक्तिहरूलाई लक्षित गर्दै थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले शनिबार पनि आफ्ना सेवाहरू सञ्चालन गर्ने निर्णय गरेको छ।

यसअघि शनिबार आकस्मिक सेवा मात्र उपलब्ध गराउँदै आएको अस्पतालले अब ओपीडी तथा अन्य नियमित सेवाहरू पनि सञ्चालनमा ल्याउने भएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयकुमार मिश्रका अनुसार, बैशाख १२ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार ओपीडी सेवा, डाक्टर परामर्श, प्रयोगशाला परीक्षण तथा इमेजिङ सेवाहरू (एक्स–रे, सिटी स्क्यान, एमआरआई) उपलब्ध हुनेछन्।

यसका साथै, बैशाख महिनाभर यी सेवाहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको पनि अस्पतालले जनाएको छ।