द रोलिङ स्टोन्स स्कुलमा विश्व टेबल टेनिस दिवस मनाइयो


काठमाडौँ। 

नेपालमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय “विश्व टेबल टेनिस दिवस कार्यक्रम २०२६“ ठूलो उत्साह र उत्साहका साथ बिहीबार मनाइएको छ । विश्व टेबल टेनिस दिवसको अवसरमा स्ट्याग ग्लोबल तथा आईटीटीएफ प्रशिक्षक नरेस रावलले “द रोलिङ स्टोन्स स्कुल“ मा स्कुलको सहकार्यमा एक भव्य खेलकुद कार्यक्रमको आयोजना गरेका हुन् । 

काठमाडौंको भिमसेनस्थानस्थितको स्कुलमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, स्वयंसेवक, सामाजिक कार्यकर्ता, मन्त्री, टेबल टेनिसका प्रतिष्ठित व्यक्तिहरूसहित १ सयभन्दा बढी सहभागीहरूले विभिन्न खेलकुदका गतिविधिहरूमा रमाइलो गरे । 

यस वर्ष विषय “स्वास्थ्य र कल्याण“ मा आधारित थियो र सहभागीहरूले विभिन्न खेलकुद कार्यहरूमार्फत यो विषयवस्तुको महत्व सिके । स्कूलका अध्यक्षः सुनीलकृष्ण श्रेष्ठ, निर्देशकः स्कूलकी निर्देशक बिनी श्रेष्ठ, विशिष्ट अतिथि वागमती प्रदेश सभा सदस्य माननीय शैलेन्द्रमान बज्राचार्यले स्वागत र धन्यवाद दिनुभयो । 

दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव तथा एसियाली टेबल टेनिस युनियनका उपाध्यक्ष शंकर गौतमले साँचो स्वास्थ्य भनेको रोगको अनुपस्थिति मात्र होइन; यो पूर्ण शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था रहेकोले खेल्नु पर्नेे बताउनुभयो । 

स्कूलका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले विभिन्न टेबल टेनिस खेलकुद कार्यक्रमका विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रिन्सिपल श्रेष्ठले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रति इच्छा जाग्ने बताउनुभयो । उहाँले बताउनुभयो–रोलिङ स्टोन्स स्कुलमा विश्व टेबल टेनिस दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह र अनुशासन झन बलियो बनाउनेछ । यस्ता गतिविधिहरूले केवल शारीरिक तन्दुरुस्ती मात्र होइन, टीमवर्क, एकाग्रता र आत्मविश्वास पनि विकास गर्छ भन्ने हाम्रो विश्वास छ ।

उहाँले थप्नुभयो–आगामी दिनहरूमा पनि हामी विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता सिर्जनात्मक र प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जानेछौँ ।

विश्व टेबल टेनिस दिवस हरेक वर्ष अप्रिल २३ तारिखका दिन मनाउँदैं आएको छ । यसपटक पनि अन्तर्राष्ट्रिय टेबल टेनिस फाउन्डेसन, जर्मनीले स्ट्याग ग्लोबललाई नै प्रवर्द्धकको रूपमा छनोट गरेको छ । योसमेत गरी विश्व टेबलटेनिस दिवस नेपालमा स्ट्याग ग्लोबलले तेस्रोपटक प्रवर्द्धकको रूपमा मनाउन पाएको प्रशिक्षक रावलले बताउनुभयो ।