मदनकृष्णलाई जन्मदिनको अवसरमा ललितरत्न उपाधिका साथ भव्य नागरिक अभिनन्दन


ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता, गीतकार, संगीतकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई उनको जन्मदिनको अवसरमा ललितरत्न उपाधि प्रदान गर्दै ललितपुरमा आयोजित भव्य कार्यक्रमका बीच नागरिक अभिनन्दन गरिएको छ।

ललितपुर महा नगरपालिका–१६ वडा कलाकार समितिको आयोजनामा गत सोमवार अक्षय तृतीयाका दिन पाटन दरबार क्षेत्रमा सांस्कृतिक–सांगीतिक कार्यक्रमबीच उक्त सम्मान गरिएको हो। कलाकार समितिसँगै समाजसेवी सरिता महर्जनलगायत विभिन्न संघ–संस्थाले सम्मानपत्र अर्पण गर्दै श्रेष्ठको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए। शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल, वाद्य शिरोमणि घराना, ललितपुर सुनचाँदी व्यवसायी संघ, थ्रीस्टार क्लब, डिलाइट स्कुललगायत २१ भन्दा बढी संस्थाको सहभागिताले कार्यक्रम अझ भव्य बनेको थियो।

परम्परागत धाःबाजाको गुञ्जनसँगै नेवार संस्कृतिअनुसार श्रेष्ठलाई स्वागत गरिएको थियो। विभिन्न समुदायका भेषभूषामा विद्यार्थी, चर्या कलाकार र स्थानीयवासीको सहभागितामा जात्रामय झाँकीसहित पाटन दरबार क्षेत्रमा प्रवेश गराई कार्तिक डबली अगाडि अभिनेता श्रेष्ठलाई आसन ग्रहण गराइएको थियो। कार्यक्रममा प्रशन्ना बज्राचार्य र प्रिजा शाक्यले चर्या नृत्य प्रस्तुत गरेका थिए भने डिलाइट स्कुलका विद्यार्थीले गायक तथा अभिनेता श्रेष्ठले नै गाएको सयथरी बाजा एउटै ताल गीतमा नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रम नेवार परम्परा अनुसार सगुन प्रदान गर्दै अघि बढाइएको थियो। कलाकार समितिका पदाधिकारीले फूल, माछा, वः, वासालगायत पञ्चतत्वको प्रतीक अर्पण गरेका थिए भने स्वस्तिवाचनसमेत गरिएको थियो।

औपचारिक भाषणभन्दा फरक, अन्तरवार्ता शैलीमा सञ्चालन गरिएको कार्यक्रमले दर्शकलाई विशेष आकर्षित ग¥यो। संवादका क्रममा मदनकृष्णले आप्mनै स्वरमा अरबौं मान्छेहरूमा, फुलबुट्टे सारी र खोलावारी खोलापारीलगायतका गीत प्रस्तुत गरेका थिए। उनले सरिता महर्जनका साथ नेपाल भाषाको गीत न्ह्यलय् छि हे ज्वलय् छि हे र निशा देसारसँग मय्जु छ दः गुलि यः गुलि यः पनि सुनाएका थिए। गीत प्रस्तुतिमा भूपेन्द्र बज्राचार्यले गितार र यमन श्रेष्ठले किबोर्डमा साथ दिएका थिए।
स्थानीय तहमा स्थापना भएको कलाकार समितिले नयाँ प्रतिभा खोजी, युवा कलाकारलाई मञ्च प्रदान गर्ने तथा वरिष्ठ कलाकारलाई सम्मान गर्ने कार्य गर्दै आएको जनाएको छ।