जापान अहिले विश्वकै सबैभन्दा धेरै वृद्धवृद्धा भएको देशका रूपमा चिनिन्छ । जहाँ १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूको संख्या झन्डै एक लाख पुगेको पछिल्लो एउटा रिपोर्टले दाबी गरेको छ । यो तथ्यांकमा महिलाहरूको हिस्सा उल्लेखनीय छ । जहाँ कुल एक शताब्दी आयु पुगेकामध्ये करिब ८८ प्रतिशत महिलाहरू छन् । सन् १९६३ मा जब जापानले पहिलो पटक यो गणना सुरु गरेको थियो, तब केवल १५३ जना मात्रै १०० वर्ष कटेका व्यक्तिहरू थिए । तर, सन् १९९८ सम्म आइपुग्दा यो संख्या १० हजार पुग्यो र आज एक लाखको हाराहारीमा पुग्नुले जापानको जनसांख्यिकीय बनावटमा आएको ठुलो परिवर्तनलाई संकेत गर्दछ । वर्तमानमा ११४ वर्षीया शिगेको कागावा जापानकै सबैभन्दा जेठी व्यक्तिका रूपमा छिन् भने पुरुषतर्फ १११ वर्षीय कियोटाका मिजुनो सबैभन्दा जेठा व्यक्ति हुन् । प्रत्येक वर्ष ‘वृद्ध दिवस’ को अवसरमा नयाँ शतायुहरूलाई प्रधानमन्त्रीको तर्फबाट बधाई पत्र र चाँदीको कप प्रदान गर्ने परम्पराले पनि जापानी समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई झल्काउँछ ।
जापानीहरूको यो लोभलाग्दो दीर्घायुको पछाडि कुनै जादु नभई उनीहरूको जीवनशैली, खानपान र सामाजिक संरचनाको ठुलो हात रहेको छ । जापानी खानपानमा माछा, तरकारी, भटमासका परिकार र समुद्री लेउको प्रयोग बढी हुन्छ भने रातो मासु र बोसोयुक्त खानेकुराको प्रयोग निकै कम हुन्छ । उनीहरूको एउटा प्रसिद्ध प्राचीन मान्यता छ ‘हारा हाची बु’, जसको अर्थ हुन्छ पेट ८० प्रतिशत भरिएपछि खान छोड्नु । यसले गर्दा उनीहरूमा मोटोपनाको समस्या कम र हृदय रोग तथा क्यान्सर जस्ता घातक रोगहरूको जोखिम पनि न्यून रहेको बताइन्छ । अन्य देशहरूमा चिनी र नुनको मात्रा बढ्दै जाँदा जापानीहरूले भने सरकारी जनस्वास्थ्य सन्देशहरूलाई पालना गर्दै नुनको खपत घटाए । यसका साथै, जापानीहरू बुढेसकालमा पनि शारीरिक रूपमा सक्रिय रहन मन पराउँछन् । सन् १९२८ देखि सुरु भएको ‘रेडियो ताइसो’ जस्ता सामूहिक व्यायामहरू आज पनि उत्तिकै लोकप्रिय छन् । जसले शारीरिक स्वास्थ्य मात्र नभई समुदायमा आत्मीयता पनि बढाउँछ । सार्वजनिक यातायातको प्रयोग र पैदल हिँड्ने बानीले उनीहरूलाई पश्चिमा देशका वृद्धवृद्धाहरूको तुलनामा बढी तन्दुरुस्त राखेको छ।
दीर्घायुको अर्को महत्वपूर्ण पक्ष जापानी जीवन दर्शन ‘इकिगाई’ हो । इकिगाईको अर्थ हुन्छ ‘बाँच्नुको उद्देश्य’ । जापानी वृद्धवृद्धाहरू अवकाशपछि पनि कुनै न कुनै अर्थपूर्ण कार्यमा व्यस्त रहन्छन् । जसले गर्दा उनीहरूमा एक्लोपन र मानसिक तनाव कम हुन्छ । उनीहरूको सामाजिक सुरक्षा प्रणाली र स्वास्थ्य सेवा अत्यन्तै सुलभ र प्रभावकारी छ । जापानले हाल ‘स्टेम सेल’ अनुसन्धान र ‘पुनरुत्पादक औषधि’ (रिजेनेरेटिभ मेडिसिन) को क्षेत्रमा विश्वलाई नै नेतृत्व गरिरहेको छ ।

नोबेल पुरस्कार विजेता वैज्ञानिक शिन्या यामानाकाले विकास गरेको ‘आईपीएस सेल’ प्रविधिले पार्किन्सन, मेरुदण्डको चोट र आँखाका रोगहरूको उपचारमा नयाँ आशा जगाएको छ । जापानले वृद्ध जनसंख्यालाई बोझको रूपमा नभई ‘समाजको अमूल्य सम्पत्ति’ र ‘बुद्धिको भण्डार’ का रूपमा स्वीकार गर्दै ‘सोसाइटी ५.०’ को अवधारणा अघि सारेको छ । जहाँ प्रविधिको प्रयोग गरेर वृद्धवृद्धाहरूको जीवनलाई अझ सहज र उत्पादक बनाउने लक्ष्य राखिएको छ ।
यद्यपि, यो दीर्घायुको सफलतासँगै जापानले केही गम्भीर चुनौतीहरूको पनि सामना गरिरहेको छ । एकातिर मानिसहरू धेरै बाँचिरहेका छन् भने अर्कोतिर जन्मदर अहिलेसम्मकै न्यून बिन्दुमा झर्दै गएको छ । सन् १९७० को दशकमा वार्षिक २० लाखभन्दा बढी बच्चा जन्मिने जापानमा अहिले यो संख्या ८ लाखभन्दा कम छ । यसले गर्दा कार्यबलमा कमी आउने र सामाजिक सुरक्षाको खर्च बढ्ने समस्या देखिएको छ । अहिले जापानको कुल जनसंख्याको २९ प्रतिशतभन्दा बढी मानिस ६५ वर्ष माथिका छन् । धेरै वृद्धवृद्धाहरू अझै पनि काम गरिरहेका छन् र राष्ट्रिय कार्यबलमा उनीहरूको हिस्सा १३ प्रतिशतभन्दा बढी छ । कतिपय अवस्थामा पेन्सन सुविधा लिनका लागि परिवारले मृत्यु भइसकेका सदस्यको जानकारी लुकाएका घटनाहरू पनि विगतमा देखिएका थिए । जसले सरकारी तथ्याङ्क व्यवस्थापनमा केही प्रश्नहरू पनि उठाएको थियो । तर, यी सबै चुनौतीका बावजुद जापानले कसरी स्वास्थ्य र प्रविधिलाई जोडेर मानव आयुको सीमालाई विस्तार गर्न सकिन्छ भन्ने कुरा विश्वलाई देखाइरहेको छ । जापानीहरूको खानपान, सक्रियता र सकारात्मक सोचले भरिएको यो जीवनशैली दक्षिण एसियाली देशहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।











प्रतिक्रिया