फिल्म परालको आगोको रिलिज डेट नजिकिँदै जाँदा यसका कलाकारहरूमा उत्साह बढ्दै गएको छ। अभिनेता सौगात मल्लदेखि गायक–अभिनेता प्रकाश सपुतसम्मले फिल्मले दर्शकको भरोसा नटुट्ने दाबी गरेका छन्। फरक कथा, सशक्त प्रस्तुति र नया“ सहकार्यका कारण यो फिल्मप्रति कलाकार विशेष आशावादी देखिएका छन्।
अभिनेता सौगात मल्लका अनुसार परालको आगो उनको करिअरकै फरक अनुभव हो। उनले पहिलो पटक नया“ अनुहार र फरक शैलीको कथामा काम गर्ने अवसर पाएका छन्। निर्देशक लक्ष्मण सुनारले कथा राम्रो तरिकाले प्रस्तुत गर्ने विश्वासका कारण आफूले फिल्म स्वीकार गरेको उनले बताए। ‘फिल्मको अन्तिम परिणाम कस्तो बनेको छ भन्ने उत्सुकता उत्तिकै छ, तर कथा र निर्माण प्रक्रियाले राम्रो फिल्म बनेको संकेत दिएको छ’ सौगात सुनाउँछन्।
सौगातले सह–कलाकार प्रकाश सपुतसँगको सहकार्यलाई पनि सकारात्मक अनुभवका रूपमा लिएका छन्। सुहाना थापास“ग काम गर्दा पनि निकै सहज वातावरण रहेको उनको भनाइ छ। गाउँमा करिब एक महिना बसेर गरिएको सुटिङले कलाकारबीच राम्रो समन्वय बनेको उनले सुनाए। सुहाना थापाको अभिनयप्रति प्रभावित सौगातले उनलाई मेहनती र सम्भावनायुक्त अभिनेत्रीको रूपमा लिएका छन्।
उनले सुहानामा अघिल्लो पुस्ताकी अभिनेत्री झरना थापाको झल्कोसमेत देखेको बताए। ट्रेलर र गीतको निर्माण पक्ष पनि सशक्त देखिएकाले फिल्मले दर्शकमाझ राम्रो प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।यता, प्रकाश सपुत पनि परालको आगोबाट निकै आशावादी देखिए। गायनमा स्थापित नाम बनाइसकेका प्रकाशले अभिनयमा आफूलाई स्थापित गर्ने प्रयासस्वरूप यो फिल्मलाई महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। यसअघि परदेशी २, पूर्ण बहादुरको सारंगी र माइतीघरजस्ता फिल्ममा देखिइसकेका उनले यसपटक चामे पात्रमार्फत फरक स्वाद प्रस्तुत गरेका छन्।
ट्रेलरमा उनको अभिनय दमदार देखिएको छ। श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र द्वन्द्व झल्काउने कथामा उनले भावनात्मक र यथार्थपरक अभिनय गरेका छन्। एक दृश्यमा भैंसीमाथि रिस पोख्ने अभिनय गर्नुपर्दा सुरुमा असहज भएको उनले स्मरण गरे। त्यस क्रममा सह–अभिनेत्री सुहाना थापाले अभिनयलाई प्रभावकारी र सुरक्षित तरिकाले कसरी प्रस्तुत गर्ने भनेर सहयोग गरेको उनले बताए।
प्रकाशका अनुसार परालको आगो भन्नासाथ नेपाली समाजमा श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र द्वन्द्वको कथा झल्किन्छ र फिल्मले यही विषयलाई गहिराइमा उतारेको छ। साहित्यिक कृतिमाथि आधारित भएर काम गर्नु चुनौतीपूर्ण भए पनि यसले आफूलाई नयाँ अनुभव दिएको उनले बताए। गुरुप्रसाद मैनालीको चर्चित कथा परालको आगोमा आधारित फिल्म हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेका हुन्।
सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुतसँगै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मञ्जिला बानिया“लगायतले अभिनय गरेको फिल्ममा सुशील देवकोटाको पटकथा र संवाद, शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतको संगीत, किरण तुलाधरको पाश्र्व संगीत, रामजी लामिछानेको कोरियोग्राफी, संकल्प भुजेलको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्म आगामी शुक्रवार अल नेपाल रिलिज हुँदैछ।











प्रतिक्रिया