काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन वरिष्ठ डिभिजनल इन्जिनियर (सी.डी.ई.) पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध अनियमितता गरेको अभियोगमा मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
४ करोड २२ लाख ७५ हजार ९८५ रुपियाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध दुई छुट्टाछुट्टै ऐनअन्तर्गत कारबाहीको माग गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अवैध रूपमा आर्जित सम्पत्तिबाट खरिद गरिएका घरजग्गा र सुन जफत गर्न तथा थप कैद र जरिवाना गर्न मागदाबी गरिएको छ ।
इन्जिनियर पूर्णबहादुर श्रेष्ठले पुरातत्व विभागबाट सञ्चालित विभिन्न ठेक्कापट्टाको काममा निर्माण व्यवसायी तथा संयुक्त उपक्रम (जेबी) हरूसँग घुस÷रिसवत माग गरी सहजीकरण गरिदिएका थिए । सोबापत प्राप्त अवैध रकम उनले आफ्नै विभागमा कार्यरत सहायक देउकला अधिकारीको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट पुष्टि भएको छ ।
त्यस्तै, अवैध रूपमा आर्जित रकमलाई वैध देखाउन उनीहरूले विभिन्न उपायहरू अपनाएको भेटिएको छ । देउकला अधिकारीको खातामा पटक–पटक गरी जम्मा गरिएको ४ करोड २२ लाख ७५ हजारभन्दा बढी रकमबाट उनीहरूले संयुक्त रूपमा नुवाकोट र काठमाडौंका विभिन्न स्थानमा घरजग्गा खरिद गरेको, सुनका गहना खरिद गरेको र विभिन्न व्यक्तिलाई भुक्तानी दिएको देखिएको छ ।
अख्तियारले अनुसन्धानका क्रममा यो रकमको स्रोत लुकाउन बेनामी स्वामित्व सिर्जना गरेको, नक्कली ऋण लिएको देखाएको र बैंकिङ प्रणालीबाहेक नगदमै कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको जनाएको छ ।











प्रतिक्रिया