पश्चिम बङ्गाल चुनाव लक्षित गर्दै पूर्वी सीमा ७२ घण्टा बन्द


काठमाडौं ।

भारतको पश्चिम बङ्गालमा हुन लागेको विधानसभा चुनावलाई ध्यानमा राख्दै काँकरभिट्टा–पानीटङ्की नाका सोमबार साँझदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ। दार्जिलिङ प्रशासनको निर्णयअनुसार वैशाख १० गते मतदान सम्पन्न नभएसम्म सीमा आवतजावत पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यस अवधिमा सर्वसाधारण र सवारीसाधनको आवागमन बन्द रहने भए पनि उपचारका लागि बिरामी तथा अत्यावश्यक कामका लागि भने परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ। नेपाल र बङ्गलादेशका पर्यटकलाई पनि आवश्यक कागजपत्र देखाएमा आफ्नो मुलुक फर्किन सहजीकरण गरिने बताइएको छ।

नेपाल–भारतबीच चुनावको समयमा सीमा बन्द गर्ने प्रचलन यसअघि पनि रहँदै आएको छ।