सोसिडाडले जित्यो कोपा डेल रे उपाधि


लन्डन, (एजेन्सी)
रियल सोसिडाडले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको एटलेटिको मेड्रिडलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै यस सिजनको कोपा डेल रे उपाधि जितेको छ । यो सोसिडाडको चौथो कोपा डेल रे उपाधि हो ।

सोसिडाडका लागि एन्डर बेरेनेटिक्सयाले खेल सुरु भएको १४ सेकेण्डमै गोल गरेर डिएगो सिमोनको टोलीलाई स्तब्ध पारेका थिए । १८ औं मिनेटमा एडेमोला लुकम्यानले गोल गरेर एटलेटिकोलाई १–१ बराबरीमा पु¥याएका थिए । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै सोसिदादले फेरि खेलमा अग्रता लिएको थियो । टोलीका लागि मिकेल ओयारजाबालले गोल गरेका थिए ।

तर एटलेटिकोले ८३ औं मिनेटमा जुलियन अल्भारेजको गोलमार्फत् खेल २–२ बराबरीमा पु¥याएको थियो । यसपछि दुबै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसमा पनि दुबै गोल गर्न असफल भएपछि खेलको निधो पेनाल्टी सुटआउटमा भएको थियो ।