रोलिङ इलाम गोल्डकपको सेमिफाइनलमा

0
Shares

इलाम

रोलिङ क्लब झापा इलाममा जारी एनआरएनए अन्तर्राष्ट्रिय आमन्त्रित इलाम गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आइतबार भएको खेलमा रोलिङले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–० ले हराएको हो । टोलीलाई जित दिलाउन प्रतापसिंह राई, निरज कार्की र अरुण मेचेले गोल गरेका थिए ।

प्रतापले खेलको २४ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता बढाए । लगत्तै त्यसको तीन मिनेट बित्न नपाउँदै निरजले गोल गरे । डिफेन्स लाइनका सबिन घिमिरे र गोलरक्षक अबिशेक बरालको गल्तीको फाइदा उठाउँदै निरजले गोलरक्षक बराललाई बिट गर्दै सहज गोल गरेका थिए । योसँगैं रोलिङ पहिलो हाफमा २–० को अग्रतमा रह्यो ।

खेलको ४६ औं मिनेटमा अरुणले गोल गर्दै टोलीलाई जिततर्फ डो¥याएका थिए । खेलमा फर्कन फिदिमले पटक पटक प्रयास गरेपनि सफल बन्न सकेन । खेलको ७४ औं मिनेटमा पेनाल्टी पाएको फिदिम त्यसमा पनि चुकेको थियो । जमिन लक्समले प्रहार गरेको बललाई झापाका गोलरक्षक योगेश धिमालले बचाएका थिए । यस्तै ८० औं मिनेटमा फिदिमका सबिन घिमिरेले करिब २५ यार्डबाट गरेको प्रहार पनि बारमा लागेर बाहिरिएको थियो ।

गोल्डकपको उद्घाटन भएको शनिबारको खेलमा आयोजक रेडहर्ष फूटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पथरी ११ मोरङ सेमिफाइनल पुगिसकेको छ । सोमबार हुने तेस्रो क्वार्टरफाइनलमा मच्छिन्द्र एफसी र पाहुना टोली मलेसियाको एन पेनाङ एफसीबीच प्रतिष्पर्धा हुनेछ । गोल्डकपको फाइनल खेल बैशाख १२ गते हुनेछ । यसको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैंयाँ पाउनेछ ।