विश्व फुटबलका प्रेमीहरूका लागि अबका केही महिनाहरू केवल क्यालेन्डरका पाना मात्र होइनन्, उत्साह र रोमाञ्चका अनुपम उत्सव बन्ने निश्चित छ । आगामी जुन–जुलाईमा हुने फुटबलको महाकुम्भ फिफा विश्वकपको रौनकमा संसार झुम्नुअघि नै युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगले माहोललाई तताइसकेको छ । अहिले २०२५–२६ को च्याम्पियन्स लिग संस्करण आफ्नो चरमोत्कर्षमा पुगेको छ ।
जहाँ युरोपका चार फुटबल महाशक्तिहरू हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा हुने फाइनलको टिकट काट्नका लागि आतुर देखिएका छन् । लिग चरणका उतारचढाव र नकआउट चरणका कठिन चुनौतीहरू पार गर्दै गर्दा बार्सिलोना, रियल मेड्रिड र लिभरपुल जस्ता विश्वप्रसिद्ध र सशक्त टोलीहरू यसपटक स्तब्ध हुँदै बाहिरिएका छन् । अब मैदानमा केवल फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पीएसजी), जर्मनीको बायर्न म्युनिख, इंग्ल्याण्डको आर्सेनल र स्पेनको एट्लेटिको मेड्रिड मात्र बाँकी छन् । जसले उपाधि जित्ने आफ्नो सपनालाई जीवित राखेका छन् ।
सेमिफाइनलको यो समीकरणलाई हेर्दा फाइनल पुग्नका लागि अब हुने चारवटा भिडन्तहरू फुटबलका दुई फरक दर्शन र शैलीबीचको महा–टक्कर जस्तै देखिनेछन् । खेल तालिकाअनुसार पहिलो लेगका खेलहरू अप्रिल २८ र २९ मा हुनेछन् भने निर्णायक दोस्रो लेग मे ५ र ६ मा खेलिनेछ । फुटबलको यो प्रतिस्पर्धामा दुई लेगको कुल स्कोर (एग्रिगेट) को आधारमा विजेताको चयन गरिनेछ । यदि निर्धारित समयमा खेल बराबरी भएमा अतिरिक्त समय र पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिनेछ । किनकि सन् २०२१ पछि ‘अवे गोल’ को पुरानो नियम अब इतिहास भइसकेको छ । खेलाडीहरूका लागि एउटा ठूलो राहतको खबर के छ भने क्वाटरफाइनलपछि सबै पहेँलो कार्डहरू रद्द गरिएका छन् । जसले गर्दा सेमिफाइनलमा एउटा कार्ड पाउँदैमा फाइनल गुम्ने डरबाट खेलाडीहरू मुक्त भएका छन् । यसले मैदानमा अझ खुलेर र निर्धक्क फुटबल खेल्ने वातावरण सिर्जना गर्नेछ ।
पहिलो सेमिफाइनलमा साविक विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) र जर्मनीको फुटबल महारथी बायर्न म्युनिखबीचको टक्कर निकै रोचक हुने देखिएको छ । यी दुई टोली पछिल्लो एक दशकमा पटक–पटक आमनेसामने भएका छन् । विगतको इतिहासमा बायर्नको पल्ला केही भारी देखिए पनि वर्तमान लय र मनोबलका आधारमा लुइस एनरिकको पीएसजी निकै शक्तिशाली देखिएको छ । बायर्नले यो सिजन बुन्डेसलिगामा गोलको नयाँ कीर्तिमान नै कायम गरेको छ । स्टार स्ट्राइकर ह्यारी केनको नेतृत्वमा रहेको उनीहरूको अग्रपङ्क्तिले प्रति खेल औसत ३.४ गोल गरिरहेको छ । किर्तिमानी १५ पटकको च्याम्पियन रियल मेड्रिडलाई क्वाटरफाइनलमा ४–३ को रोमाञ्चक गोलअन्तरले पाखा लगाउँदा बायर्नले आफ्नो आक्रामक सामर्थ क्षमताको विश्वलाई पुनः स्मरण गराइसकेको छ ।
अर्कोतर्फ, पीएसजीले पनि क्वाटरफाइनलमा लिभरपुल जस्तो बलियो टोलीलाई ४–० को फराकिलो गोलअन्तरले ध्वस्त पार्दै आफ्नो रक्षात्मक मजबुती र नियन्त्रणमुखी फुटबलको शक्ति प्रदर्शन गरेको छ । ओसमान डेम्बेले र केर्भिचा कभारात्स्खेलियाको उत्कृष्ट फर्मले पीएसजीको आक्रमणलाई थप धारिलो र खतरनाक बनाएको छ । पीएसजीसँग बलमाथि नियन्त्रण राख्ने (पोजेसन) अद्भुत कला छ भने बायर्न ‘उच्च जोखिम र उच्च प्रतिफल’ को आक्रामक रणनीतिमा विश्वास गर्छ । बायर्नका लागि डिफेन्समा डायोट उपामेकानोको प्रदर्शन जति महत्वपूर्ण हुनेछ । पीएसजीका लागि उसको सन्तुलित मिडफिल्डको भूमिका उति नै निर्णायक हुने देखिन्छ । यस महाभिडन्तमा पीएसजीले झिनो अन्तरले बाजी मारेर लगातार दोस्रो पटक फाइनल पुग्ने इतिहास रच्ने फुटबल पण्डितहरूको अनुमान छ ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा इंग्लिस क्लब आर्सेनल र स्पेनिस क्लब एट्लेटिको मेड्रिडबीचको प्रतिस्पर्धा पनि कम रोचक हुनेछैन । यो खेललाई विशेषगरी ‘विश्वकै उत्कृष्ट रक्षापङ्क्ति’ विरुद्ध ‘चतुर र जिद्दी रणनीतिकार’ बीचको लडाइँको रूपमा हेरिएको छ । मिकेल आर्टेटाको नेतृत्वमा रहेको आर्सेनलले यस सिजन युरोपकै सबैभन्दा बलियो रक्षापङ्क्ति प्रस्तुत गरेको छ । च्याम्पियन्स लिगका १२ खेलमा मात्र ५ गोल बेहोर्नु आफंैमा एउटा ठूलो सफलता हो ।
यद्यपि, हालका केही खेलहरूमा आर्सेनलका फरवार्डहरू फिनिसिङमा केही चुकेको देखिन्छ । जुन सेमिफाइनल जस्तो ठूलो मञ्चमा महँगो पर्न सक्छ । अर्कोतिर, डिएगो सिमियोनको एट्लेटिको मेड्रिड नकआउट खेलहरूमा सधैं ‘अण्डरडग’ भएर पनि घातक साबित हुँदै आएको छ । बार्सिलोनालाई ३–२ को प्रतिस्पर्धात्मक अन्तरले हराउँदै उनीहरूले आफ्नो जुझारुपन पुष्टि गरिसकेका छन् ।
एट्लेटिकोको वास्तविक शक्ति भनेकै थोरै अवसरको पूर्ण सदुपयोग गर्नु र सेट–पिस (कर्नर वा फ्री–किक) मा विपक्षीलाई दवाबमा राख्नु हो । जुलियन अल्भारेज र एडेमोला लुक्म्यान जस्ता खेलाडीहरू सानो गल्तीमा पनि गोल निकाल्न माहिर छन् । आर्सेनलले आप्mनो घरेलु प्रिमियर लिगको उपाधि होड र च्याम्पियन्स लिगको दोहोरो दवाबका बीच केही थकान महसुस गरिरहेको देखिए पनि उनीहरूको रक्षात्मक पर्खाल भत्काउन एट्लेटिकोलाई हम्मेहम्मे पर्ने निश्चित छ । यदि आर्सेनलले समयमै आफ्नो गोल गर्ने लय पुनः प्राप्त गर्न सक्यो भने उनीहरू उपाधिका लागि निकै बलियो दाबेदार ठहरिनेछन् ।
समग्रमा भन्नुपर्दा, यस सिजनको च्याम्पियन्स लिग सेमिफाइनलले फुटबलका दुई विपरीत धारहरू, आक्रामक शक्ति र रणनीतिक रक्षालाई एउटै मञ्चमा उभ्याएको छ । बायर्न र पीएसजीको खेलमा गोलको वर्षा र कलात्मक फुटबलको अपेक्षा गरिएको छ भने आर्सेनल र एट्लेटिकोको खेल धैर्यता, अनुशासन र गल्तीको पर्खाइमा केन्द्रित हुनेछ । तथ्याङ्क र हालको सन्तुलित खेललाई आधार मान्ने हो भने आर्सेनलले एट्लेटिकोलाई झिनो गोलअन्तर वा पेनाल्टी सुटआउटमा पन्छाउँदै फाइनलको यात्रा तय गर्ने सम्भावना बलियो देखिन्छ । युरोपेली क्लब फुटबलको यो शिखर यात्रामा कुन दुई टोलीले बुडापेस्टको मैदानमा उपाधिका लागि अन्तिम लडाइँ लड्नेछन् भन्ने कुरा अब केही हप्ताको प्रतीक्षाको विषय मात्र हो । खेल प्रेमीहरूका लागि भने यी आगामी दिनहरू फुटबलको रोमाञ्चकता, तनाव र खुसीको अनुपम संगम हुने पक्का छ











प्रतिक्रिया