वीर हनुमानका विभिन्न रुप छन् । उनले विभिन्न क्रियाकलापहरु गरेका छन् । सोअनुसार उनका नामहरु पनि विभिन्न छन् । उनै हनुमानको पूजा गर्दा पनि विभिन्न उद्देश्य र फल प्राप्तिका लागि संकल्प गरिएको हुन्छ । जुन किसिमको सहयोग र फल चाहेको हो सोही अनुरुप भक्तले हनुमानका विभिन्न रुपमध्ये एक रुपको पूजा–आराधना गर्नुपर्ने हुन्छ । यहाँ हनुमानका विभिन्न रुपको बारेमा उल्लेख गरिन्छ ।
१. पूर्वमुखी हनुमान ः पूर्वतर्फ मुख गरेको बजरङ्गबलिलाई वानरको रुपमा पूजा गरिन्छ । पूर्वमुखी रुपवाला हनुमानलाई ज्यादै शक्तिशाली र करोडौं सूर्यको तेजसमान मानिन्छ । शत्रुहरुको नाशको लागि पूर्वमुखी हनुमानको आराधना गरिन्छ । यदि दुश्मनले दुःख दिइरहेको छ वा सताइरहेको छ भने पूर्वमुखी हनुमानको पूजा गर्न सल्लाह दिइन्छ ।
२. पश्चिममुखी हनुमान ः पश्चिमतर्फ मुख भएको हनुमानलाई गरुडको रुप मानिन्छ । हनुमानको यस रुपलाई संकटमोचनका रुपमा लिइन्छ । भगवान् विष्णुको बाहन गरुडका समान पश्चिममुखी हनुमान पनि अमर छन् । संकटमोचनका लागि यिनै गरुडका समान पश्चिममुखी हनुमानको पूजा–आराधना गरिन्छ ।
३. उत्तरमुखी हनुमान ः उत्तर दिशातर्फ मुख भएका हनुमानको पूजा मकरको रुपमा गरिन्छ । उत्तर दिशा कुवेर र ईशानकोण देवताहरुको दिशा हो । यसतर्फ फर्केका हनुमानलाई पूजा गर्दा धन–दौलत, ऐश्वर्य, प्रतिष्ठा, दीर्घायुका साथै रोगमुक्त हुने विश्वास गरिन्छ ।
४. दक्षिणमुखी हनुमान ः दक्षिणमुखी हनुमानलाई भगवान् नरसिंहको रुप मानिन्छ । दक्षिण दिशा यमराजको हो । यो दिशामा हनुमानको पूजा आराधना गर्नाले डर, चिन्ता र विभिन्न समस्याबाट मुक्ति पाइन्छ । दक्षिणमुखी हनुमानले खराब शक्तिबाट बचाउँछन् ।
५. उध्र्वमुखी हनुमान ः उध्र्वमुखी हनुमानलाई उध्र्वमुख रुप अर्थात् घोडाको रुप मानिन्छ । यस रुपको हनुमानलाई पूजा गर्दा दुश्मनहरु र संकटबाट मुक्ति पाइने विश्वास गरिन्छ । ब्रह्माले विष्णु भगवान्लाई आग्रह गरेबमोजिम विष्णुले यो रुपको धारण गरेर हयग्रीव दैत्यको संहार गरेका थिए । त्यसैले उध्र्वमुख अर्थात् आकाशतर्फ फर्केको मुखरुपी हनुमानलाई हयग्रीव हनुमान पनि भनिन्छ ।
६. पञ्चमुखी हनुमान ः पञ्चमुखी हुमानको पाँच रुपको पूजा गरिन्छ । एउटै शिरमा पाँचवटा शिर भएको हनुमानको मूर्ति जताततै देख्न पाइन्छ । यस रुपमा हरेक मुख भिन्नाभिन्नै शक्तिहरुका परिचायक हुन् । रावणले जब छल गरेर राम र लक्ष्मणलाई बन्धक बनाई पातालमा लगेको थियो, तब हनुमानले पञ्चमुखी रुप धारण गरेर राम र लक्ष्मणलाई मुक्त गरेका थिए । उनी उत्तर दिशामा बराहमुखी, दक्षिण दिशामा नरसिंहमुखी, पश्चिममा गरुडमुखी, आकाशतर्फ हयग्रीवमुखी र पूर्व दिशातर्फ हनुमानमुखी भएर विराजित भएका थिए ।
७. एकादशी हनुमान ः यो एकादशी हनुमानको रुपलाई भगवान् शिवको स्वरुप मानिन्छ । एकादश रुप रुद्र अर्थात् शिवको एघारौं अवतार हो । एकादश मुख रुद्रको धारण गरी चैत्र पूर्णिमा अर्थात् हनुमान जयन्तीकै दिन राक्षसको वध गरिएको थियो । भक्तजनहरुले एकादशी र पञ्चमुखी हनुमानको पूजा एकैसाथ गरी हनुमान जयन्ती मनाउँछन् ।
८. वीर हनुमान ः वीर हनुमानको स्वरुपलाई भक्तजनहरुले साहस र आत्मविश्वासका साथ पूजा गर्दछन् । यसै रुपलाई भगवानको बल, साहस र पराक्रमको रुप मानिन्छ । अर्थात् वीर हनुमानले नै भगवान् श्रीरामका काम फत्ते पार्न सक्छन् अनि भक्तजनको पनि कष्ट क्षणमै दूर गरिदिन्छन् भन्ने मान्यता रही आएको छ ।
९. भक्त हनुमान ः हनुमानको यो स्वरुप भगवान् श्रीरामको भक्तकै हो । यिनको पूजा गर्दा भगवान् श्रीरामको आशिर्वाद मिल्छ भन्ने मान्यता छ । साथै विभिन्न बाधा, अड्चन हट्ने हुन्छ । यो पूजाले भक्तजनमा एकाग्रता र भक्तिको भावना जागृत हुन्छ भने श्रद्ध भाव पनि बढाउँछ ।
१०. सूर्यमुखी हनुमान ः यो स्वरुप भगवान् सूर्यको मानिन्छ । सूर्यदेव हनुमानका गुरु मानिन्छन् । यो स्वरुपको पूजा–आराधनाले ज्ञान, प्रतिष्ठा, प्रसिद्धि र उन्नतिको बाटो खुल्छ भनिन्छ । किनभने हनुमानका गुरु सूर्य यिनै शक्तिका लागि प्रख्यात छन् ।











प्रतिक्रिया