काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन आफ्ना चुनौती, प्राथमिकता र हालसम्मको कार्यसम्पादन सार्वजनिक गरेको छ। प्रहरीका अनुसार बढ्दो अपराधको स्वरूप, प्रविधिको दुरुपयोग र जनअपेक्षाको चापबीच सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेष पहल भइरहेको छ।
प्रतिक्रिया समय घटाउने चुनौती
प्रहरीले ‘प्रहरी प्रतिक्रिया समय’ घटाउनु आफ्नो प्रमुख चुनौती रहेको जनाएको छ। सवारी साधन परिचालन, ट्राफिक जाम (३ मिनेटसम्म) र सडक जंक्शन, बिट तथा पिकेटमार्फत निगरानीलाई थप सुदृढ बनाउने प्रयास भइरहेको छ।
भौतिक उपस्थिती बिना सेवा विस्तार
प्रहरीले प्रविधिको प्रयोगमार्फत भौतिक उपस्थिती बिना नै अनुसन्धान प्रक्रिया पूरा गर्ने लक्ष्य लिएको छ। उजुरी दर्ता, बयान, सनाखत (मानिस तथा सामान) र चोरी भएका वस्तुको पुनःप्राप्ति जस्ता कार्यलाई डिजिटल माध्यमबाट सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ।
साइबर अपराधको बढ्दो जोखिम
ठगी, दुश्प्रचार, साइबर बुलिङ तथा मानसिक स्वास्थ्यमा असर पार्ने गतिविधि तीव्र रूपमा बढ्दै गएको प्रहरीको निष्कर्ष छ। यसलाई नियन्त्रण गर्न प्रविधिमैत्री अनुसन्धान र जनचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
प्रहरीका प्रमुख प्राथमिकता
प्रहरीले व्यावसायिक मापदण्ड कायम राख्न तालिम, व्यवहार सुधार र नियमित ब्रिफिङलाई जोड दिएको छ। पारदर्शिता, निष्पक्षता, तत्काल प्रतिक्रिया तथा सामुदायिक प्रहरी साझेदारीमार्फत अपराध रोकथामलाई प्राथमिकता दिइएको छ। साथै प्रमाणमुखी अनुसन्धानलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
सार्वजनिक सुरक्षा प्रबन्ध
काठमाडौंमा दैनिक रूपमा ११५० देखि ११८० जनासँग सार्वजनिक स्थानमा सोधपुछ, २१५ देखि २२० सवारी चेकजाँच र औसत ५०० प्रहरी परिचालन हुने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ। निर्वाचन जस्ता संवेदनशील समयमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ।
भदौ २३–२४ घटनाको अनुसन्धान
२०८२ भदौ २३ र २४ गते काठमाडौंमा भएको घटनामा ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तीमध्ये ७ जनाको शव अझै पहिचान हुन बाँकी रहेको र डीएनए परीक्षण प्रक्रियामा रहेको छ। ४२ वटा ज्यान सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ।
उक्त घटनासम्बन्धी केही जाहेरी तामेलीमा राखिए पनि पुनः एक जाहेरीलाई तामेलीबाट निकालेर अनुसन्धान अघि बढाइएको छ। यस क्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरी अनुसन्धान गरिएको थियो। सर्वोच्च अदालतको आदेशअनुसार हाल उनीहरू हाजिर जमानीमा रहेका छन्।
लैङ्गिक हिंसा नियन्त्रणमा समन्वय
लैङ्गिक हिंसा नियन्त्रणका लागि स्थानीय तह, मानवअधिकारकर्मी, जिल्ला बार, महानगरपालिका, प्रहरी र अन्य निकायको सहभागितामा सञ्जाल गठन गरिएको छ। मासिक रूपमा छलफल तथा अन्तरक्रिया हुँदै आएको छ।
अपराध र कारबाहीको अवस्था
२०८२ असोजदेखि हालसम्म ५५६६ मुद्दा दर्ता भएका छन् भने ४२७९ जना पक्राउ परेका छन्। दैनिक सरदर ५०–६० उजुरी दर्ता हुने गरेको प्रहरीले जनाएको छ।
हातहतियारसम्बन्धी कारबाहीमा १८१ वटा हतियार बरामद र ५१ जना पक्राउ परेका छन्। फरार कैदीबन्दीमध्ये १६२ कैदी र ९० थुनुवा पक्राउ गरी दाखिला गरिएको छ।
आन्दोलन व्यवस्थापन
धर्ना ४३०, विरोध जुलुस १६५, कोणसभा ४१ लगायत विभिन्न आन्दोलन शान्तिपूर्ण रूपमा व्यवस्थापन गरिएको छ। यस क्रममा २६१ प्रदर्शनकारी पक्राउ परेका छन्। प्रहरीले कुनै मानवीय क्षति नभई सुरक्षा व्यवस्था सम्पन्न भएको जनाएको छ।
आर्थिक अपराध र लागूऔषध नियन्त्रण
हुन्डी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी ६ मुद्दा दर्ता भई १० जना पक्राउ परेका छन्, जसमा २ करोड ६३ लाख रुपैयाँ बरामद गरिएको छ। सम्पत्ति शुद्धीकरणतर्फ ४ मुद्दामा १५ जना पक्राउ परेका छन्।
लागूऔषधतर्फ ३३८ मुद्दा दर्ता भई ४६० जना पक्राउ परेका छन्। विभिन्न प्रकारका लागूऔषध—नुरफिन ३७६१, नाइट्रोजेपाम ३७७६ लगायत ठूलो परिमाणमा बरामद गरिएको छ।
काठमाडौं प्रहरीका अनुसार बढ्दो अपराध, प्रविधिजन्य चुनौती र जनअपेक्षालाई सम्बोधन गर्न आधुनिक प्रविधि, सामुदायिक साझेदारी र प्रभावकारी अनुसन्धानलाई केन्द्रमा राखेर काम भइरहेको छ। प्रहरीको लक्ष्य छ—छिटो सेवा, निष्पक्ष अनुसन्धान र सुरक्षित समाज।











प्रतिक्रिया