प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो सामूहिक छलफल


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा संघीयता कार्यान्वयन, केन्द्र–प्रदेश समन्वय र विकास निर्माणका कामलाई तीव्रता दिने विषयमा केन्द्रित छलफल हुने बताइएको छ।

बैठकमा विकास आयोजना प्रभावकारी रूपमा अघि बढाउने, स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याको समाधान खोज्ने विषयमा गहन छलफल हुनेछ। साथै, केन्द्र र प्रदेशबीच समन्वय अभावका कारण रोकिएका राष्ट्रिय प्राथमिकताका योजनालाई अघि बढाउन साझा रणनीति तय गरिने अपेक्षा गरिएको छ।

देशको आर्थिक अवस्था सुधार, पूर्वाधार विकासमा देखिएका अवरोध हटाउने र सेवा प्रवाहलाई जनमुखी बनाउने विषयमा पनि समझदारी निर्माण गर्ने प्रयास गरिनेछ। सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रदेश तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।