नेपालको साफ महिला च्याम्पियनसिपमा सहभागि अन्योल


काठमाडौं ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको आठौं संस्करण भारतको गोवा राज्यस्थित मार्गाओ शहरमा आयोजना हुँदैंछ । प्रतियोगिता मे २५ देखि जुन ७ तारिखसम्म संचालन हुनेछ । तर, यस प्रतियोगितामा नेपालको सहभागिता भने अन्योलमा रहेको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि प्रतियोगिता सुरु हुन एक महिना अगावै प्रारम्भिक ३५ सदस्यीय टोली बुझाउनुपर्ने रहेको छ । तर, अप्रिल १५ तारिख नाघिसक्दा पनि नेपालको तर्फबाट कुनै प्रतिक्रिया आइरहेको छैन । यदि, नेपाली टोलीलाई यस प्रतियोगितामा सहभागिता गराउने हो भने यही अप्रिल २५ तारिखमै ३५ सदस्यीय टोली बुझाउनु पर्दछ । यसको लागि नेपालसँग अझै १० दिन समय बाँकी रहेको छ ।

नेपाली फुटबलको मुख्य निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट तीन महिनाको निलम्बनमा रहेको छ । यसले गर्दा फुटबलसम्बन्धी सबै कार्यहरू अहिले चलायमान छैन । यही कारणले गर्दा नेपालको सहभागिता संकटमा परिरहेको एन्फाका पदधिकारीहरूले बताइरहेका छन् ।

एन्फाले आफ्नो कार्यकाल नसकिँदै ‘अर्ली इलेक्सन’ गराउने प्रयास गरेकैले राखेपले एन्फालाई गत चैत ११ गते तीन महिनाको लागि निलम्बन गरेको थियो । साधारणसभाको निर्णय विपरीत जिल्ला तहको निर्वाचन नगरी पुरानै प्रतिनिधिलाई मताधिकार दिएर केन्द्रको चुनाव गराउन खोजिएको आरोप एन्फामाथि लागेको हो ।

एन्फा निलम्बनकै कारण नेपालले थाइल्यान्डमा भइरहेको फिफा सिरीजमा भाग लिन पाएन । यसको मतलब निलम्बन फुकुवा नभए नेपालले साफ च्याम्पियनसिपमा पनि खेल्न पाउने छैन । यदि, यस्तो भएमा नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसिपमा हुने छैन ।

गत चैत ३० गते मात्र फिफा र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिले एन्फा र राखेपबीच भर्चुअल वार्ता गरेका थिए । वार्तामा फिफा र एएफसीले राखेपको निलम्बन फिर्ता लिएर चुनावको पुरानै कार्यक्रममा फर्कने कुरामा जोड दिए । तर, राखेपले भने आफ्नो निर्णयमा अडान रहेको छ । राखेपले राष्ट्रिय खेलकुद ऐनको पालना गराई ‘अर्ली इलेक्सन’ रोकेको बताउँदैं आइरहेको छ ।

साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म ६ पटक फाइनल खेल्यो । तर नेपालले उपाधि जित्न सकेको छैन । त्यसमा पछिल्ला तीन संस्करण नेपालमै आयोजना भएको थियो । तापनि नेपालले उपाधि उचाल्न सकेन । अहिले पनि कुनै तयारी छैन । यसैले नेपाल उपाधि दावेदारीमा कमजोर नै देखिनेछ ।