मेची इन्डष्ट्रिजको आईपीओ व्यवस्थापन एसबिआई मर्चेन्ट बैंकिङ्गलाई


काठमाडौँ
मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि संस्थागत परामर्श तथा निष्कासन र बिक्री प्रबन्धक सेवाको जिम्मा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई दिएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष पवन घिमिरेले हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, धितोपत्र खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा शेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

मेची इन्डष्ट्रिज लिमिटेड झापाको दमकस्थित ताराबारी क्षेत्रमा अवस्थित उत्पादनमूलक उद्योग हो, जहाँ बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लक उत्पादन गरिन्छ। यी ब्लकहरू हलुका, वातावरणमैत्री तथा परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने गर्दछन् । कम्पनीको वार्षिक उत्पादन क्षमता २१ लाख ६० हजार थान रहेको छ ।

उच्च चापयुक्त बाफ प्रविधिबाट तयार हुने यी ब्लकहरू ताप र आगो प्रतिरोधी हुन्छन् । साथै कम्पनीले एड्हेसिभ, रेडिमिक्स प्लास्टर र वाल पुट्टी जस्ता सामग्री उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिन जडान कार्यलाई तीव्र बनाएको छ र छिट्टै बजारमा ल्याउने लक्ष्य राखेको छ ।