अवैध क्रिप्टोकरेन्सी कारोबार आरोपमा चिकित्सक पक्राउ


चितवन।

गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी सञ्चय तथा कारोबार गर्दै डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले २९ वर्षीय चिकित्सक डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। पक्राउका क्रममा उनीबाट ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा भाडामा बस्दै आएका थिए। अनुसन्धानका क्रममा उनी अवैध क्रिप्टोकरेन्सी नेटवर्क सञ्चालनमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनका मोबाइल तथा अन्य विद्युतीय उपकरण परीक्षण गर्दा वाइनान्स र बाइविटजस्ता नेपालमा प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेला परेको जनाएको छ।

भरतपुरस्थित एक अस्पतालमा कार्यरत डा. यादवले हालसम्म कति व्यक्तिलाई ठगी गरेका छन् र कति रकम संकलन गरेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।