लमजुङ ।
मंगलबारदेखि सुरु भएको नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप प्रतियोििगताको उदघाटन खेलमा गन्नी एफसीले जित हासिल गरेको छ । डिफेन्डिङ च्याम्पियन गन्नीले घरेलु टोली नाल्मा–११ बेंसीसहरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । टोलीको जितमा दिनेश हेन्जन नायक बने । उनले ह्याट्रिक पूरा गरेका थिए ।
दिनेशले खेलको सुरुवाती ७ मिनेटमै गोलको खाता खोले भने दोस्रो हाफको ८ र २४ मिनेटमा थप दुई गोल गरे । पहिलो हाफको अन्त्यतिर ४० औं मिनेटमा सजिन मगरले अर्को गोल थप्दै गन्नीको जित सुनिश्चित गरे । गन्नी एफसी दुई राष्ट्रिय टोलीका खेलाडीसमेत समेटेर मैदानमा उत्रिएको थियो ।
यसअघि सम्पन्न त्रिवेणी कपमा उपविजेता बनेको नाल्मा टोलीले यस प्रतियोगितामा ‘नाल्मा–११’ नामबाट सहभागिता जनाएको हो । त्रिवेणी कपमा भने उक्त टोली ‘लाङ्दीदेवी’को नामबाट खेल्दै आएको थियो ।
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । साथै, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । क्वार्टरफाइनलदेखि प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’लाई २ हजार रुपैयाँ दिइनेछ ।
घलेगाउँमा हरेक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको फुटबल मेलालाई ‘वैशाख बजार’को रूपमा चिनिन्छ । पछिल्ला वर्षमा महोत्सव नियमित हुन नसकेपछि उत्तरकन्या युनाइटेड युथ क्लबको पहलमा २०७३ सालदेखि स्मार्ट भिलेज गोल्डकप सुरु गरिएको हो ।











प्रतिक्रिया