पहाडबाट पञ्चमीको तारिफ


नयाँ वर्षकै दिन पारेर मंगलबारबाट रिलीजमा आएको फिल्म पहाडले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ। दर्शक प्रतिक्रियाले आफूसहित सम्पूर्ण टिम उत्साहित रहेको निर्देशक तुलसी घिमिरेले बताए।

‘दर्शकको प्रतिक्रियाले निकै उत्साहित छौँ। दर्शकले आप्mनै कथा मान्नुभएको छ। मैले जे बुझाउन खोजेको थिएँ, दशकसम्म त्यो पुगेको छ’, निर्देशक घिमिरेको भनाई छ। बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यामा आधारित फिल्मले दर्शकको मन जितेको प्रतिक्रिया पाएको अभिनेता विपिन कार्कीले बताए। ‘फिल्मले नेपाली माटोको कथा बोलेको छ, हाम्रो आफ्नो मौलिक कथा हो। सबैलाई यसले बाध्छ’, अभिनेता कार्कीको भनाई थियो। फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको अभिनेता अरुण क्षेत्रीले बताए।

निर्देशक घिमिरेकी कान्छी छोरी पन्चमीले यसै फिल्ममार्फत डेब्यु गरेकी छन्। निर्देशक घिमिरेसँगै निर्देशन समूहमा रहेर काम गरेकी पन्चमीले पर्दा अगाडिको अनुभव नौलो र फरक रहेको सुनाइन्। ‘आफूलाई पर्दामा हेर्दा छुने अनुभूति हुने रहेछ, म प्रिमियरमा अरूको प्रतिक्रिया लिईरहेको थिएँ। यो मेरो लागि पहिलो काम हो। आप्mना अग्रजमार्फत धेरै सिक्ने अवसर पाएकी छु’, उनको भनाई छ। फिल्म हेर्नेहरुले उनको कामको तारिफ गरेका छन्।

अभिनेता नीर शाहले नेपाली मौलिक फिल्म हेर्न पाएको प्रतिक्रिया दिए। ‘फिल्मले हाम्रो नेपालीपनलाई उजागर गरेको छ। तुलसीजीले आप्mनो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई फिल्ममा देखाउनुभएको छ। फिल्मले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ’, उनले भने। अर्का अभिनेता भुवन केसीले फिल्म स–परिवार हेर्न मिल्ने बनेको प्रतिक्रिया दिए। ‘फिल्म निकै राम्रो बनेको छ। फिल्मले एउटा कम्प्लिट प्याकेज बनेको छ’, अभिनेता केसीको भनाई थियो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेले अभिनय गरेकी छन्।