लमजुङ।
लमजुङको घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा मंगलबारदेखि ‘नवौँ स्मार्ट भिलेज आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमै साविक विजेता गन्नी एफसी पोखराले घरेलु टोली नाल्मा–११ बेंसीसहरलाई ४–० गोल अन्तरले पराजित गरेको छ।
गन्नीको जितमा दिनेश हेन्जन नायक बने। उनले एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे र ‘म्यान अफ द म्याच’ घोषित भए। उनले खेलको सुरुवाती ७ मिनेटमै गोलको खाता खोलेका थिए भने दोस्रो हाफको ८ र २४ मिनेटमा थप दुई गोल गरे। पहिलो हाफको अन्त्यतिर ४० औं मिनेटमा सजिन मगरले अर्को गोल थप्दै गन्नीको जित सुनिश्चित गरे। गन्नी एफसी दुई राष्ट्रिय टोलीका खेलाडीसमेत समेटेर मैदानमा उत्रिएको थियो।
यसअघि बेंसीसहरमा सम्पन्न त्रिवेणी कपको ३३औं संस्करणमा उपविजेता बनेको नाल्मा टोलीले यस प्रतियोगितामा ‘नाल्मा–११’ नामबाट सहभागिता जनाएको हो। त्रिवेणी कपमा भने उक्त टोली ‘लाङ्दीदेवी’को नामबाट खेल्दै आएको थियो।
देशभरका १२ टोलीको सहभागिता रहेको प्रतियोगिता एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले खेलकुदमार्फत ग्रामीण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले घलेगाउँले खेलकुदसँग जोडेर पर्यटन विकासको नमुना प्रस्तुत गरेको उल्लेख गरे।
आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। साथै, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। क्वाटरफाइनलदेखि प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’लाई २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
घलेगाउँमा हरेक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको फुटबल मेलालाई ‘वैशाख बजार’को रूपमा चिनिन्छ। पछिल्ला वर्षमा महोत्सव नियमित हुन नसकेपछि उत्तरकन्या युनाइटेड युथ क्लबको पहलमा वि.सं. २०७३ देखि स्मार्ट भिलेज गोल्डकप सुरु गरिएको हो। आयोजक समितिका सचिव उमलबहादुर विकका अनुसार अहिले यस प्रतियोगितालाई नै घलेगाउँको मुख्य उत्सवका रूपमा अघि बढाइएको छ।
विशेष कुरा, प्रतियोगितामा सहभागी सबै टोलीका लागि निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरिएको आयोजकले जनाएको छ।











प्रतिक्रिया