उदयपुर ।
उदयपुरको रौतामाई गाउँपालिका वडा नं ६ मा यही चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म प्रथम रौता त्रियुगा पर्यटन महोत्सव सुरु भएको छ ।
रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिकाको आयोजना र कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा सुरु भएको रौता पर्यटन महोत्सवको कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री पराजुलीले देशको आर्थिक विकासका लागि मात्र होइन विपन्न समाजको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक र अन्य विकासकालागि पर्यटन उद्योगले ठुलो मद्दत गरिरहेको हुँदा हामीसँग रहेका प्राकृतिक सम्पदालाई आधार बनाएर भौतिक पूर्वाधार निर्माणदेखि विविध प्रकारका सेवा सुविधा पर्यटकहरुलाई उपलब्ध गराउन सकेमा प्रचुरमात्रामा पर्यटक ल्याउन सकिने अवस्था रहेको बताउनु भयो ।

पहिलो पटक आयोजना गरिएको रौता पर्यटन महोत्सवमा स्थानीय खाना परिकार, कृषि उत्पादन, पशुपन्छी, स्थानीय रुपमा उत्पादन गरिएका विभिन्न समानहरु, हस्तकलाका सामान प्रदर्शनी तथा बिक्रीकालागि स्टलमा राखिएका छन् ।
समुन्द्र सतहबाट १ हजार ७सय १० मिटरको उचाइृमा रहेको यस रौता पोखरीको विशेषता के हो भने छिनछिनमा मौसम परिवर्तन भैरहन्छ । केही बेरमा पानी पर्ने । केही बेरमा हावाहुरी आउने । कुहिरो लाग्ने र केही बेरमा नै घाम लाग्ने भएकोले यस ठाउँमा जाँदा बाक्लो लुगा लैजानु पर्ने हुन्छ ।
जिल्लाको ऐतिहासिक धार्मिक पर्यटकीय स्थलका रुपमा चिनिएको रौता पोखरीको परिसरमा आयोजित पर्यटन मेलामा उदयपुर, खोटाङ, ओखलढुंगा, सिराहा सप्तरी, सुनसरी लगायतका जिल्लाका व्यवसायीहरुले सहभागिता जनाएका छन् भने साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ समेत संचालन गरिएको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले बताएका छन् ।
महासचिव श्रेष्ठले प्रथम रौतामाई त्रियुगा पर्यटन महोत्सव संचालन गर्नकालागि लामो समयदेखि विभिन्न निकायहरुसँग छलफल चलाएको तर केही समस्याहरुले गर्दा बाधा भैरहेका थियो । पछि रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका , कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मनत्रालयले महोत्सवकालागि सहयोग गर्ने भएपछि विगतका वर्षहरुमा नयाँ वर्षका समयमा मेला लाग्दै आएको समय पारेर ५ दिने पर्यटन मेला आयोजना गर्न सफल भएको बताए ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा धेरै हिमश्रृंखलाहरु देखिने रौता पोखरी निकै प्रसिद्ध धार्मिक स्थल भएकोले यहाँ प्राय बाह्रै महिना भक्तजनहरु बोका, परेवा पूजा गर्न भाकल कबोल पुरा गर्न आइरहने गरेको रौतामाई गापा वडा न. ६का वडाध्यक्ष पृथ्वी कुमार राईले बताए ।
स्थानीय तथा राष्ट्रियसतरका गायक कलाकारहरुको प्रस्तुती रहने यस महोत्सवमा विभिन्न जातजातीको झाँकी प्रदर्शनका साथै स्थानीय संस्कृति परम्परागत गीत, नृत्य, भजनहरु पनि प्रस्तुती भएका छन् ।

किम्बदनती अनुसार परापूर्वकालमा यस ठाउँमा भुजुङ गुरुङ नामका गुरुङ जाती भेडा सहित गोठ सारेर बस्न थाले । भेडा चराउने क्रममा विहान रौता पोखरीको वरपर भेडा छाडे । दिनभरी चौरमा चरिरहेको भेडा साँझ घर फर्कनु पर्नेमा फर्केनन र यताउता सबैतिर खोजी गरे तर फेला पार्न सकेनन् । भेडा खोज्दा खोज्दै रात परेकोले उनी खानपिन गरेर आराम गर्न गए । सोही राती सपनीमा उनलाई रौता भगवती देवीले दर्शन दिइन रे । सपनीमा देवीले म रौता देवी हुँ । मबसेको वरपर फोहर नगर्नु सरसफाई गरेर मेरो दैनिक पूजाआजा गर्नु मितीले चिताएको सोचेको सबैपुरा हुन्छ । हराएका भेडाहरु सबै फेला पर्छ भनेर देवी अलप भइछिन।
भोलिपल्ट बिहानै उठेर शुद्ध भएर ती भेडी गोठालो गुरुङले सपनीमा देवीले भने झै पोखरी वरपर सरसफाई गरी पुजा आजा गरेर देवीसँग माफी मागेपछि हराएका भेडाहरु सबै चरणमा देखिएको थियो रे । यस किम्बदन्तीलाई विश्वास मानेर अहिले पनि स्थानीयले यस मन्दिरमा दैनिक सरसफाई गरेर पूजाआजा गर्ने चलन रहेको छ ।











प्रतिक्रिया