घरजग्गा कारोबार सुधार हुँदै


काठमाडौं ।

घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदन छ । वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त रहने तर तेस्रो र चौथो त्रैमासमा उल्लेख्य वृद्धि हुने क्रम निरन्तर देखिँदै आएको प्रतिवेदनमा उल्लेख छ । समग्रमा नेपालको घरजग्गा बजार पछिल्लो समय मन्दीबाट क्रमशः बाहिरिँदै सुधारतर्फ उन्मुख भएको देखिए पनि क्षेत्रीय असमानता, चक्रीय उतारचढाव र संरचनात्मक चुनौतीहरू अझै कायम रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारसम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गर्न सुरु गरेको छ। आर्थिक वर्ष २०७९÷८० लाई आधार वर्ष मानेर तयार पारिएकोे तथ्यांकले देशभरको घरजग्गा बजारको अवस्था, प्रवृत्ति र क्षेत्रगत वितरणलाई समेटेको छ । अबदेखि यस्ता विवरण त्रैमासिक रूपमा सार्वजनिक गरिने बैंकले जनाएको छ ।

प्रदेशगत विश्लेषणमा कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश पर्छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार न्यून देखिएको छ । जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा सबैभन्दा ठूलो रहेको छ। तर कारोबार मूल्य (थैली रकम) का हिसाबले बागमती प्रदेश अगाडि देखिएको छ, जसले राजधानी केन्द्रित उच्च मूल्यलाई संकेत गर्छ ।

जग्गाको आकारअनुसार हेर्दा अधिकांश प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । तर मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला कित्तामा कारोबार बढी देखिएको छ । महानगर र उपमहानगर क्षेत्रमा भने मध्यम आकारका (५–१० आना) प्लटहरूको माग उच्च रहेको पाइएको छ ।

पछिल्लो तीन वर्षको तथ्यांकले घरजग्गा कारोबारमा पुनः विस्तारको संकेत दिएको छ । आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा करिब ४ लाख ५६ हजार कारोबार भई हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । सोही अवधिमा राजीनामा (किनबेच) कारोबार संख्या पनि उल्लेख्य बढेर उच्च विन्दुमा पुगेको छ । कारोबार रकमतर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ । तीन वर्षअघि करिब ५८ अर्ब रुपियाँ रहेको त्रैमासिक कारोबार रकम बढेर २०८१÷८२ को चौथो त्रैमासमा १ खर्ब २७ अर्ब रुपियाँभन्दा माथि पुगेको छ । यसले बजारमा रकमको प्रवाह र सक्रियता बढ्दै गएको संकेत गर्छ ।

त्यस्तै जग्गा कारोबार भएको कुल क्षेत्रफल पनि विस्तारै बढ्दो क्रममा रहेको छ । विश्लेषण अवधिमा कुल कारोबार क्षेत्रफल करिब १.८ गुणाले वृद्धि भएको देखिन्छ, जसले बजार विस्तारसँगै जमिनको माग पनि बढेको पुष्टि गर्छ । घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी पनि उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले बढ्दा आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि कर्जा वृद्धि र कारोबार मूल्यबीच प्रत्यक्ष सम्बन्ध भने स्पष्ट देखिएको छैन । सरकारी राजस्वतर्फ भने उतारचढाव देखिएको छ। २०७८÷७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपियाँ पुगेको राजस्व त्यसपछि घट्दै ८ अर्ब २० करोडमा झरेको थियो । पछिल्लो समयमा सुधार हुँदै २०८१÷८२ मा औसत करिब १२–१५ अर्ब रुपियाँको स्तरमा पुगेको छ, तर अझै पुरानो उच्च विन्दुमा फर्किन सकेको छैन ।

महानगरपालिकाहरूमा कुल कारोबार संख्याको हिस्सा कम भए पनि कारोबार मूल्यमा उनीहरूको योगदान उल्लेख्य रहेको छ । यसले शहरी क्षेत्रमा जग्गाको मूल्य तुलनात्मक रूपमा उच्च रहेको देखाउँछ। भरतपुर, वीरगञ्ज र पोखरा जस्ता शहरहरूमा कारोबार सक्रिय देखिँदा काठमाडौं र ललितपुरमा उच्च मूल्यका कारण कारोबार तुलनात्मक रूपमा कम रहेको विश्लेषणमा उल्लेख छ । राष्ट्र बैंकले यस प्रकारको तथ्यांकले रियल–स्टेट क्षेत्रको यथार्थ अवस्था बुझ्न र नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यही आधारमा आगामी दिनमा घरजग्गा मूल्य सूचकांक निर्माण गर्ने तयारी समेत अघि बढाइएको छ ।