देशको एकीकरणपूर्वकै कुरो हो, गोर्खामा राम शाहले एक पाटीमा बसेर आम नागरिकलाई न्याय दिन्थे, निसाफ छिन्थे । यो पाटी गोर्खाको गोरखकाली मन्दिर तल रहेको छ । गोरखामै उनका अनुयायी नरभूपाल शाहदेखि पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरी काठमाडौँ सजाए, आपसी कलहमा रहेका मल्ल राजालाई वशमा लिएर । पछि उनकै भाइ बहादुर शाहले त हालको नेपाल तेब्बर सिमानासमेत विस्तार गरे, पछि सुगौली सन्धिले नेपालको नक्सा पूर्व मेची र पश्चिम महाकालीमा सीमित हुन पुग्यो । वीर गोर्खाली नपुगेको संसार छैन । त्यति बेला बृटिस साम्राज्य गोर्खालीबाट डराउँथ्यो । तिब्बतीयनहरुलाई समेत राज्य कर बुझाउन लगाइयो यहाँ, इतिहास साक्षी छ ।
गोर्खाको गोरखकाली, मनकामना अभैm प्रसद्धि छन् र देशको दशैँकोठा अहिलेसम्म त्यहीँको जमराले सज्जित छ, पूmलपातीको हर्षोल्लासमा पनि राष्ट्रले त्यतै सम्झने गरेको छ, राष्ट्र प्रमुखसमेत सरिक भएर । पछिल्लो समय गोर्खाबाट पढेलेखेका बाबुराम भट्टराई निस्के, जसको नेतृत्वमा सशस्त्र आन्दोलन हुँदा एक दशकसम्म देशमा रगतको खोलो बग्यो, खर्बौं खर्बका संरचना ध्वस्त हुँदै बीसौँ हजारको ज्यान मात्रै गएन, सदियौँको सपना बोकिरहेको उही राम शाह, द्रव्य शाह, कुलमण्डन, नरभूपाल, पृथ्वीनारायणहरुको विरासत थाम्दै आएको वंश नै सखापै भयो । पछिल्लो खर्चिलो गणतन्त्र देखा प¥यो, लोकतन्त्रको नाममा पूर्ण लोभतन्त्र यसैमा मिसिँदा सिंहदरबारलगायतलाई राणाहरुले जति पनि सुरक्षित राख्न सकेन ।
गोर्खाकै आध्यात्मिक अभियन्ता नारायण पोखरेलले यसै सेरोफोरोमा सहादत प्राप्त गरे भने अहिले त्यसको संरक्षक भएर सुधन गुरुङ देखा परेका छन् । आन्तरिक मामिला, गृह प्रशासन, भनौँ देशैभरिको जिम्मा अहिले यिनकै हातमा छ । उनकै टिममा बालेनले महाकाली जगाएको एक डकुमेन्ट्री सार्वजनिक गरे, जुन धेरै भाइरल भयो । छयालीसपछि देशले नयाँ परिवेश पायो, सत्चालीसमा नयाँ संविधान आइरहँदा सत्चालीसकै सेरोफेरोमा देशले एक जंगबहादुर जन्माइसकेको रहेछ, कसैलाई अत्तोपत्तो नै भएन । सत्चालीसपछि भएका तमाम कुकर्महरुको अहिले उसले सिंहदरबार र बालुवाटार बसेर छानबिन गर्दै छ ।
३६ वर्षसम्म तर मार्दै देशको ढुकुटी सोहोर्नेहरुको अहिले निद्रा हराम भएको छ, भागाभाग छ, च्यासल र गुण्डुमा प्रहरी तैनाथ छन्, मानिस भूमिगत छन्, हत्कडीमा परेका छन् । देशले सपुत बेलाबखत जन्माउँदो रहेछ, जति बेला धेरै स्वतन्त्रता मिल्यो, साथसाथमै अंकुश पनि तयार गरिसकेको र तुरुन्तै अर्को जंगबहादुर जन्मनुपर्नेछ भन्दै सयौँ आलेखहरु लेखिरहँदा पछिल्लोपल्ट देशले मागेकै जंगबहादुर सिंहदरबार छिरिसकेको छ र कार्यभार लिएलगत्तै ठूला माछाहरुलाई समातिसकेको छ ।
लोकतन्त्रको जरा बलियो थिएन, जरा मक्काउने काम यिनै भरियाहरुले गरेका थिए । अधिकांशलाई खाडी पठाउँदा पनि, विदेश धकेल्दा पनि धेरै विदेशबाट फर्केर ब्यालोट बाकसमा आश गर्दै, कहिले लौरो त कहिले घण्टी बजाउँँदै अहिले सबैको निद हराम हुने गरी लौरो बर्साउने काममा लागिसकेका छन् ।
गोर्खाले जन्माएको सुधन गुरुङले कसैलाई नछाड्ने भनिसके । जसरी रवि र बालेनहरुको लक्ष्यमा आम जनतालाई सुशासन दिने र भ्रष्टाचारमुक्त देश बनाउने काममा छन् सुधन गुरुङ, त्यसैमा तल्लीन छन् । रातभरि प्रधान कार्यालय नक्साल बसेर भए पनि गुण्डा नाइकेहरुलाई समात्न सकेका छन् । ओली र उनका अनुयायीहरु अहिले तितरवितर भएका छन् । सत्ता जोगाउन भएभरका कुकर्म गर्ने र अपवित्र साँठगाँठ गरेर ठगबन्धन गराउने कार्य गरेजस्तो सत्ताच्युत भएकाहरुलाई अहिले सजिलो छैन । अब भाग्नुपर्ने वा भागेकाहरु विदेशमै रहे पनि समातिएर भित्रिनुपर्ने अवस्था सिर्जना भएको छ अहिले । ३ दिनसम्म सुन, डलर, पैसाको बोरा जल्दै गर्दा एआईको काम भनी बच्न खोज्नेहरुको दिन अब करिब सकिएको भान हुँदै छ ।
देशलाई ठूलो ऋण बोकाएर, व्यापारघाटा बढाएर, पूरै देशलाई बेरोजगार बनाएर विदेशीको इशारामा रातरातै बालुवाटारबाट तनखा बुभ्mदा पनि जनताले सहेकै थिए । तर अब अति भएकाले जनता सडकमा आए, धोती फुस्काए, तुइनको सहाराले भाग्न बाध्य गराए । तैपनि अहंकार घटेन र अन्ततः नयाँ शक्ति मुटुमै प्रहार गर्ने गरी डडेल्धुरा मात्रै होइन, चितवन, गोर्खा, झापा सबैतिर छरियो । जनता उर्लेर आए । बाढी रोकिएन, मतपत्रकै माध्यमबाट एकलौटी मात्रै होइन, १८२ सिटको संसद्बाट सरकार चलिरहेको छ अहिले ।
विगतमा लोकतन्त्रका ठेकेदारहरुले चाहेको सुशासन केवल धज्जी उडानका लागि रहेछ भन्ने स्पष्ट हुन्छ । यसको पुष्टि पटक–पटक रिपोर्ट प्रकाशित गरेर एम्नेस्टी इन्टरनेसनलले सुशासनको कमजोर अंक सार्वजनिक गरेकै थियो । देश भ्रष्टाचारको दलदलमा फसाउने र ग्रेलिस्टमा राख्ने कार्य सत्तासीन दलहरुले नै गरेका थिए । अर्थ मन्त्रालयको नेतृत्व लिइरहँदा सबै ठीक छ भन्ने अनि बाहिर जानासाथ अर्थतन्त्र कमजोर छ भन्ने अभिव्यक्ति त आएकै थियो ।
पछिल्लोपल्ट बिमामा हेलचेक्र्याइँ, भुक्तानीमा समस्या, देशैभरि पूँजीगत खर्च नभई चालू खर्चको तीव्रता रह्यो र आसेपासेलाई जागिर दिन धेरै संयन्त्रहरु थपियो ।
अहिलेको सरकारले राजस्व अनुसन्धान विभागलगायत अनेकौँ संयन्त्रहरुलाई खारेज गरेको छ । मन्त्रालयहरुको संख्या र मन्त्रीहरु घटाइएको छ र पनि स्वास्थ्य बिमामा केही बोलिएको छैन । प्रदेश मन्त्री कारखाना पनि बन्द हुनुपर्छ । शासकीय सुधार भन्दै सय मार्गचित्र सुधारका काम अघि बढाउन लागिएको र धेरै सेवा उपभोक्ताहरुको घरमै पु¥याउने भनिएको छ । अनावश्यक झन्झट नदिने गरी पेपरलेस सरकार र होम डेलिभरीको अवधारणा ल्याइएको छ । प्रधानमन्त्रीलगायत सेक्टरल मन्त्रीहरुले मातहत संयन्त्रहरुलाई कडा निर्देशन जारी गर्दै भ्रष्टाचारमा शून्य शहनशीलता, काममा ढिलासुस्ती नहुने र यसो गर्ने भए जागिरबाट अलग रहन पनि निर्देशन भइसकेको छ । शिक्षा र स्वास्थ्यमा अहिले धेरै व्यापारीकरण भएको छ । कक्षा पाँचसम्म परीक्षा लिनु नपर्ने भनियो, राम्रो हो, बच्चाहरुलाई अनावश्यक ताडना नदिनु नै राम्रो । शैक्षिक संस्थाहरुमा विद्याभन्दा वस्तुको बिक्री भइरहेको छ । यसमा सुधारको आशा पलाएको छ ।
निजी मेडिकल संस्थाहरुले अनिवार्य १० प्रतिशत हेल्पलेस बिरामीहरुलाई छुट्याउने नीति अँगालिएको छ । बालेनले महानगर हुँदै शिक्षामा राम्रो जग बसालेका छन् । देशैभरि त्यसलाई लागू गर्ने, छात्रवृत्ति कोटा थपलगायत शुल्कमा पनि अंकुश लगाइनुपर्छ । स्वास्थ्य बिमामा कटौती गरिएको छ, त्यसैले सुविधा बढाइनुपर्छ । वृद्ध भत्ताको उमेर झन् बढाइने खबरले वृद्धहरु दुखित छन् । साबिकभैmँ ६८ वर्षमै झारिनुपर्छ, गएको सरकारले ७० माथि उकालेकामा सर्वत्र विरोध भइरहेको छ ।
लोकतन्त्रका नाममा छयालीसपछि जो राजनीतिकर्मीहरुले आफूलाई राजनेता भनाए, देश दोहन गरे, तिनको सम्पत्ति छानबिन गर्ने नै भनिएको छ । देश दोहन गर्नेलाई छुट दिइनुहुन्न । अहिलेसम्मका घोटालाहरु वाइड बडी, पतञ्जलि जग्गा, ललिता निवास, बाँसबारी जग्गा, सेरा दरबार, सुडानी काण्ड, भूटानी शरणार्थी, यति, ओम्नीदेखि गोकर्ण रिसोर्ट, बिजुली बक्यौता, सार्वजनिक जग्गा हडप्नेहरु सबैको जाँच गर्नु आवश्यक छ । विदेशमा रकम थोपर्ने, घरमा बंकर बनाई नोट थुपार्ने कार्य गर्नेहरु र गरिब नेपालीको रगत–पसिनामा होली खेल्नेहरुलाई कठघरामा उभ्याइनुपर्छ । स्वास्थ्य उपचारका नाममा शीतल निवासले पनि धेरै रकम बुझेको छ । सर्प पाल्ने, बाख्रा पाल्ने, सबैको हिसाब चेक गरिनुपर्छ ।
बनमारा झार पलाउन नदिनु नै राम्रो । खानेपानी आपूर्ति राम्रो छैन, रित्ता ग्यास सिलिन्डर बोकेर फागुन २१ को चुनावमा होमिए आम जनता । निहत्था बालबालिका धेरैले बलिदान दिए । हजारौँ हजार मानिस मारेर पनि अतृप्त हुने लोकतन्त्रले जेन्जी समयमा धेरै मान्छे निल्यो । प्राकृतिक विपत्तिले पनि धेरै मानिस निलेको छ ।
विपत्ति आउने गरी लोभतन्त्रले कच्चा पूर्वाधार तय गरेको छ । कमिसन मोहमा परेर आफ्नै ठेकेदारको घरमा बसी नेतृत्वले सुनको पलङमा राज गरेको दिनको अन्त्य हुनुपर्छ । पाँच वर्षसम्म कसैले राज्यबाट कुनै सुविधा लिनुहुन्न । सिंहदरबार उठाउनका लागि ऋण होइन, नेताको सुविधा कटाएर बनाइनुपर्छ ।
पहिलेका पञ्चहरुले कुनै तलब भत्ता लिएनन् र गाडी पनि चढेनन् । अहिले वडा अध्यक्षहरुले प्राडो र पजेरो किन ? सुशासनको अब्बल डेनमार्कका प्रधानमन्त्रीले कार्यालय आउँदा साइकलको प्रयोग गर्ने गरेका छन् ।
महात्मा गान्धीले चप्पल लगाए । यो भएन भनेर रु. २ जाने जुत्ता किनेर लगाउन दिँदा यो महँगो जुत्ता म लगाउँदिन, फिर्ता गरिदिनू भने । फिर्ता गर्न टाढा जाँदा गाडीभाडा बढी लाग्छ भन्दा त्यो बढी भाडा म सहन सक्छु तर गरिब देशवासीको नाममा मैले धनीले प्रयोग गर्ने जुत्ता लगाउँदिन भने । यहीँ पनि ३० अर्बको ऋण हुँदा गोखकाली रबर उद्योग, सिमेन्ट कारखाना, जुत्ता कारखाना, औद्योगिक क्षेत्रहरु, कलकारखाना, सेरामिक उद्योग, ओरियन्ट म्याग्नेसाइट र पूर्व–पश्चिम राजमार्गहरु चलेका थिए राम्रैसँग । अन्न बढी भएर देशले धान–चामल निर्यात गथ्र्यो । अहिलेका भुइँफुट्टाहरुले देश लिएपछि देशलाई नर्क बनाए । नदी, मसानघाटमा महल ठड्याए । जग्गा अतिक्रमण गरे । सवारी जामदेखि दुर्घटना अति गराए ।
सबैलाई आलिसान महल, त्यो पनि काठमाडौँमै चाहियो । भैँसीपाटीमा जीमखानासहितका आलिसान महलहरु बनिए, जनताको रगन–पसिनाबाट । असह्य भएर जलेका छन् अहिले । नचल्ल्ने भ्यूटावर, नचल्ने विमानस्थल, सेता टावरहरु कुनैले नेपाल र नेपालीको गरिबी देखेनन् । बरु खित्का छोडेर हाँसेको प्रतिफल थियो जेन्जी आन्दोलन ।
मर्ने बेलासम्म सत्ता बोकेरै मर्ने लोभतन्त्र ढलेको छ, अहिले गोर्खाबाट उदय भएको राज्य गोर्खाबाटै संरक्षित हुने आशा हुँदै छ, न्याय पाउनेछन् जनताले । यो आशा गरौँ । धुरीबाट धुवाँ नआएसम्म खाना नखाने राजाहरु पनि यहीँ थिए, छद्म भेषमा गाउँ–गाउँ पुगी जनताका समस्या देख्ने–बुझ्ने राजाहरु पनि यहीँ थिए । संसारकै अब्बल कम्युनिजमको सिद्धान्तलाई व्यावहारिक प्रयोग गर्ने राजा महेन्द्र पनि यहीँ थिए र विश्वलाई नै चकित पार्ने गरी शान्तिक्षेत्रको प्रस्ताव ल्याएर धेरैको सहमति जुटाउने राजा वीरेन्द्र पनि यहीँ थिए । यिनकै थलोबाट उदय भएका अहिलेका युवा नेतृत्वहरुले अब देशको अस्मिता बचाउलान् भन्ने आशा गरौँ ।











प्रतिक्रिया