होटलमा श्रीमतीको हत्या गरी फरार भएका सन्तोष सेन्चुरी पर्साबाट पक्राउ


काठमाडौँ ।

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका सन्तोष सेन्चुरीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत साउन ३० गते राति करिब ११ बजे काठमाडौँ महानगरपालिका–२६, गोंगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नं २०१ मा २७ वर्षीया ललिता बि.क. को हत्या भएको थियो। मृतक ललिता बि.क. काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२, भंगाल घर भएकी हुन्।

कसरी भयो घटना ?

अनुसन्धानअनुसार मृतकको श्रीमान् २८ वर्षीय सन्तोष सेन्चुरीले श्रीमतीलाई सम्बन्ध विच्छेदको अन्तिम छलफल गर्ने बहानामा होटलमा बोलाएर हत्या गरेका थिए। श्रीमतीको घाँटी थिची हत्या गरी शवलाई कोठाको बक्स पलङभित्र लुकाएर उनी त्यहाँबाट फरार भएका थिए।

होटल सञ्चालक भीममाया लिङ्खाले तीन दिनपछि कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी टोली पुगेपछि शव फेला परेको थियो। मृतकको मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएको थियो।

प्रारम्भिक अनुसन्धान

साउन २८ मा मृतकका दाजुभाइ मोतिराम विश्वकर्माले प्रहरी वृत्त महाराजगञ्जमा बहिनी हराएको भन्दै खोजतलासको लागि निवेदन दिएका थिए।
सोही दिन प्रहरी वृत्तले सन्तोष सेन्चुरीलाई बोलाएर सोधपुछ समेत गरेको थियो।

त्यसपछि परिवारका सदस्यहरूसँगै ललिताले काम गर्ने लगनस्थित गार्मेन्टसम्म समेत खोजतलास गरिएको थियो। तर, घटना भएको तीन दिनपछि मात्रै शव फेला परेको थियो।

प्रहरी अनुसन्धानले देखाएको तथ्यअनुसार सन्तोष र ललिताबीच दुई वर्षअघि विवाह भएको थियो। तर विवाहअघि नै सन्तोषको अर्को महिलासँग प्रेम सम्बन्ध रहेको र विवाहपछि श्रीमतीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको खुलेको छ।

सम्बन्ध तनावपूर्ण भएपछि दुवैबीच अलग बस्ने निर्णय भएको थियो। यही क्रममा साउन २७ गते अन्तिम छलफल गर्ने भन्दै सन्तोषले श्रीमतीलाई फोन गरेर होटलमा बोलाएका थिए।

होटलमा करिब दुई–तीन घण्टा बसेर उनले घाँटी थिची श्रीमतीको हत्या गरी शव पलङभित्र लुकाएका थिए। सोही दिन दिउँसो करिब ४ बजे सन्तोष एक्लै होटलबाट बाहिरिएको होटल सञ्चालक र अनुसन्धानले पुष्टि गरेको छ।

यसअघि प्रहरीसँग सम्पर्कमा रहेका सन्तोष साउन २९ गते दिउँसोदेखि मोबाइल स्विच अफ गरी हराएका थिए।
सन्तोष भारततर्फ फरार हुने उद्देश्यले पर्सा पुगेको अनुसन्धानबाट खुलेपछि प्रहरी वृत्त महाराजगञ्जले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी भदौ १ गते वीरगञ्जस्थित एक स्थानबाट उनलाई पक्राउ गरेको हो।