“एक बल, एक सपना : भलिबलको अद्भुत यात्रा“

विश्व भलिबल दिवस

658
Shares

सन् १८९५ को चिसो बिहानी, अमेरिकाको म्यासाचुसेट्सस्थित एक सानो जिम्नेसियममा एउटा नयाँ सपना जन्मिँदै थियो । विलियम जी. मोर्गन नामका एक साधारण शारीरिक शिक्षा शिक्षकले बास्केटबलजस्तै रमाइलो तर कम कठोर खेलको कल्पना गरिरहेका थिए । योंग मेन्स क्रिश्चियन एसोसिएसन (वाईएमसीए) को छानोमुनि उभिएर उनले कागजमा केही स्केच गरे, टेनिसको सर्भ, ह्यान्डबलको गति र बास्केटबलको सामूहिकता मिसाएर एउटा नयाँ खेल तयार भयो । जसको नाम ‘मिन्टोनेट’ राखियो ।

शुरूमा खेल केही अपरिपक्व थियो । न कुनै निश्चित नियम थिए, न त उपयुक्त बल । तर, मिलेर खेल्ने भावना, हाँसो, सन्तुलन र प्रतिस्पर्धा खेलभित्र लुकेको आत्मा थियो । छोटो समयमै मिन्टोनेटको नाम “भलिबल” मा परिणत गरियो, किनभने खेलको मूल आत्मा नै “बललाई भल्ल गर्नु” यानि उचाल्नुमा आधारित थियो । त्यो एक बल, एक सपना, आज विश्वभर आठ सय मिलियनभन्दा धेरै मानिसहरूको जीवनको हिस्सा बनेको छ ।

भलिबलको लागि वास्तविक मोड सन् १९४७ मा आयो । जब अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) को स्थापना भयो । यसले खेलका नियमहरू एकरूप बनाएर अन्तर्राष्ट्रिय मान्यता प्रदान ग¥यो । भलिबलको पहिलो अन्तर्राष्ट्रिय उडान फिलिपिन्स पुगेको थियो । त्यहाँका खेलाडीहरूले सन् १९१३ मा पहिलो पटक यो खेल फार–इस्टर्न प्रतियोगितामा देखाए । जहाँ ‘सेट’ र ‘स्पाइक’ जस्ता आजका आधुनिक चालहरू विकास भयो । खेलले आफ्नो गति पाईरह्यो र सन् १९६४ मा जापानको टोकियो ओलम्पिकमा प्रवेश गर्दा भलिबलले आफ्नो वास्तविक अन्तर्राष्ट्रिय पहिचान बनायो । त्यही क्षणदेखि हरेक ब्लक र हरेक स्पाइकले एउटा कथा भन्न थाल्यो । त्यसपछि ब्राजिल, सोभियत संघ (हालको रूस) र इटालीजस्ता देशहरू पुरुष तथा महिला दुवै भलिबलमा शक्तिशाली राष्ट्र बने ।

भलिबलको प्रभाव केवल इन्डोर कोर्टमा मात्र सीमित भएन । पछि “बिच भलिबल” (समुन्द्री तटमा खेलिने प्रारुप) को विकासले खेललाई नयाँ उँचाइमा पु¥यायो । सन् १९९६ मा एट्लान्टा ओलम्पिकमा बिच भलिबल समावेश भएसँगै यसको अन्तर्राष्ट्रिय लोकप्रियता अझै बढ्यो । संयुक्त राज्य अमेरिकाले यस संस्करणमा धेरै स्वर्णपदक जित्दै आफ्नो प्रभुत्व कायम ग¥यो ।

२०२५ सम्म आइपुग्दा भलिबल विश्वब्यापी बनिसकेको छ । यसलाई मध्येनजर गर्दै एफआईभीबीले हरेक वर्ष जुलाई ७ लाई विश्व भलिबल दिवसको रूपमा मनाउने घोषणा ग¥यो । जसको पहिलो औपचारिक उत्सव सन् २०२५ अर्थात् यही वर्षदेखि शुरूवात हुँदैछ । हुनत भलिबललाई १८९५ को डिसेम्बरमा होलिओक वाईएमसीएमा विकास गरिएको भए पनि खेलको पहिलो सार्वजनिक प्रदर्शन भने जुलाई ७, १८९६ मा स्प्रिंगफिल्ड, मासाचुसेट्समा भएको थियो । यही दिनको सम्झना स्वरुप विश्व भलिबल दिवस जुलाई ७ मा मनाउने निर्णय गरिएको छ । यो दिन केवल खेलको उत्पत्तिलाई सम्झनेमा मात्र सिमित नभई त्यो आत्मबल, एकता र जीवनका संघर्षहरूलाई सम्मान गर्न क्षण हो, जुन भलिबलको हजारौँ कथाले ब्याख्या गरेको छ । जहाँ महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति, धनी–गरिब, सबै एउटै बलले जोडिन्छन् । भलिबल वल्र्ड टिभी (भीबीटिभी) जस्ता प्लेटफर्महरूले घरमै बसेर विश्वस्तरीय खेल हेर्न सकिने बनाएका छन् । खेल अब केवल हेर्ने मात्र होइन, अनुभव गर्ने माध्यम पनि बनिसकेको छ ।

नेपालको राष्ट्रिय खेल भलिबल

भलिबललाई २०१७ मे २३ मा औपचारिक रूपमा नेपालको राष्ट्रिय खेल घोषणा गरिएको हो । यो नेपालको अत्यन्त लोकप्रिय खेल हो, जुन विद्यालय, समुदायदेखि लिएर राष्ट्रिय स्तरका प्रतियोगितासम्म विभिन्न परिवेशमा खेलिन्छ । नेपाल भलिबल संघ (एनभीए) यस खेलको प्रमुख नियामक संस्था हो, जसले पुरुष र महिला दुबै राष्ट्रिय टिमको संयोजन र व्यवस्थापन गर्छ ।

नेपालमा भलिबलको इतिहास रोचक उतारचढावले भरिएको छ । सन् १९३३÷३४ तिर बेलायती सेनाबाट फर्किएका नेपाली सैनिकहरूले भित्र्याएको यो खेल काठमाडौंको त्रिचन्द्र क्याम्पसमा लोकप्रिय बन्दै देशभर फैलिएको हो । यद्यपि संस्थागत प्रयास १९४० को दशकमा देखिए पनि ठोस विकास भने १९९० को दशकपछि मात्र देखिन थाल्यो । सन् १९७३ मा पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना भएसँगै यो खेलले औपचारिकता पायो र १९७४ मा नेपाल भलिबल संघ स्थापनापछि देशभर प्रतिस्पर्धात्मक रूपमा फैलियो । अन्तर्राष्ट्रिय यात्राको थालनी सन् १९७६ मा पाकिस्तान भ्रमणबाट भयो । जसले अनुभव त दिलायो तर तत्काल उपलब्धि ल्याएन । त्यसपछि चीन र रुसमा नेपालले खेल्ने अवसर पायो, जसले १९७८ को एसियाली खेलकुदको तयारीमा सहयोग पु¥यायो । यद्यपि प्रारम्भिक चरणमा कुनै ठूलो सफलता भने हात परेन ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय सफलता दशकौंपछि मात्र आयो । सन् २०१७ मा पुरुष टिमले एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा कांस्य पदक जित्यो । अझ उल्लेखनीय, सन् २०१९ मा महिला टिमले बंगलादेशमा आयोजित सोही क्षेत्रीय प्रतियोगितामा सबै खेल जित्दै र एक सेट पनि नहार्दै स्वर्ण पदक जित्ने ऐतिहासिक सफलता प्राप्त ग¥यो । बितेका केहि वर्षमा नेपाली महिला तथा पुरुष भलिबलको स्तर वृद्धि भएको छ र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सम्झनलायक नतिजा आत्मसात गरेको छ । नेपालमा भलिबलको क्रेज पनि बढ्दो छ । महंगो टिकट काटेर दर्शकको भीडले राष्ट्रिय खेलकुद परिषद् परिसरमा रहेको कभर्ड हलको सिट क्षमताले थेग्न नसक्ने दृश्य नेपालमा भलिबलको लोकप्रियताको साक्षी बनेको छ ।