चन्द्र शम्शेरलाई झुत्रो कपडा पठाएर लोकतन्त्रका लागि वि.सं १९७४ देखि चुनौती झेल्ने पिता कृष्ण प्रसाद कोइराला, उनका छोरा वीपी कोइराला र उनका सन्ततिले सहन गरेका कठोर यातनाहरूले नेपालीहरूलाई रैतीबाट शक्तिशाली नागरिकमा पुर्याएका कुरालाई नेपाली कांग्रेस र समग्र प्रजातन्त्र प्रेमीले बिर्सिनु हुँदैन । उनीहरूले कहिल्यै आफ्नो व्यक्तिगत सम्पन्नता, आर्थिक वैभव बढाउनका लागि मात्र राजनीतिमा प्रवेश गरेका थिएनन् । न त आफूले पुस्तौ पुस्तासम्म गुमाएका सबै मानसिक, भौतिक र आर्थिक सम्पत्तिको प्रतिफल खोजेका थिए ।
कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधि, कृष्ण प्रसाद भट्टराईलगायत धेरै लोकतन्त्रका लागि होमिएका परिवारहरु नेपाली कांग्रेसका लागि नेता मात्र होइन, नेपाली लोकतान्त्रिक आन्दोलनका ऐतिहासिक धरोहर पनि हुन् । त्यहाँ बालकदेखि वृद्धसम्मकाले नागरिक शासनको व्यवस्था ल्याउन अरु धेरै जीवित र शहीद भएका व्यक्तिहरू जस्तै चुनौति, यातना ब्यहोरेर ज्यान जवानी र जेथाको पर्वाह नगरी आन्दोलनमा होमिएका थिए । यदि पिता कृष्ण प्रसाद कोइरालाले आफ्नो जवानी, जीवन, सम्पत्ति, अयस, आराम र परिवारका बालकदेखि वृद्धसम्मका सुखलाई त्याग नगरेको भए, सायद आज हामी यस स्थानमा लोकतन्त्र कस्तो हुन्छ ?, यसमा आर्थिक विकासको कति महत्व छ र मोडेल कस्तो हुन्छ ? भनेर छलफलमा जुटन सकेका हुने थिएनौ ।
त्यसैले राजनीतिमा संघर्ष, त्याग र बलिदानको मूल्य भौतिक सम्पत्ति दानको भन्दा हजारौं गुणा हुन्छ र अमूल्य नै हुन्छ । वर्तमान पार्टी सभापति पनि लामो राजनीतिक संघर्ष जेल नेलपछि यो स्थानमा हुनुहुन्छ । दक्षिण अफ्रिकामा रंगभेदि नीति हटाउन नेल्सन मण्डेला २७ वर्ष जेल बस्ने त्याग गर्नुपर्यो, हजारौ सहीद भए र राजनीतिक लडाई जिते । नेल्सन मण्डेला जेलमा बसेर संघर्ष गरिरहँदा अर्का एक अश्वेत प्याट्रिक मोत्सेपे भने फोर्स पत्रिकामा बिलिनियर (अर्बपति)को सूचीमा नाम चढाएका थिए । तर, रंगभेदि नीति २७ वर्ष जेल पर्ने मण्डेलको संघर्षले गर्दा मात्र हटाउन बाध्य पारिएको हो । पैसा, धन, दौलत मात्र कमाएर रंगभेदि शासन हट्ने भएको भए नेल्सन मण्डेला २७ वर्ष जेलको कालकोठरीमा बस्नुपर्ने थिएन ।
आज हामीले पार्टीमा संघर्ष, त्याग र बलिदानको अवमूल्यन हुँदा पनि बोल्न नसक्ने भएर किन बसेका छौं ?, जबकि यो हलमा अहिलेको नागरिक शासनका लागि धेरै जेलनेल खानु भएको आदरणीयहरु हुनुहुन्छ । साँच्चै वीपी कोइरालाले भन्नुभएको थियो–‘ देशमा प्रजातन्त्र बहाली भएपछि पार्टीमा सुकिला मुकिला हाबी हुनेछन्, त्यसबेला आम कार्यकर्ताले फेरि संघर्ष गर्नुपर्ने हुन्छ ।’ हामीलाई थाहा छ, लौह पुरुष गणेशमान सिंह कहिल्यै कांग्रेसको सभापति हुनुभएन । तर, कांग्रेसमा उहाँको भूमिका र स्थान सभापतिकोभन्दा विशिष्ट र उच्च थियो र छ । किनकी उहाँ र उहाँका परिवारको जीवन लोकतन्त्रका लागि निकै संघर्षपूर्ण र कठोर यातनाका बीच गुज्रियो ।
जनताको आकांक्षा र कांग्रेसको दायित्व
जनता के चाहन्छन् ? जनताको आकांक्षालाई सम्बोधन गर्नु कांग्रेसको दायित्व हो । किनभने जनताको राजनीतिक र अर्थ सामाजिक चाहनाहरू विशेषगरी ‘जेन–जी’ पुस्ता र ‘डायस्पोरा’को मागलाई विश्लेषण नगरी नेतृत्वबाट तदर्थ निर्णय गर्नु उचित हुँदैन । कांग्रेसका विभिन्न अभियानहरू र पार्टीका केही क्रियाशील विभागहरूले जनताको भावनालाई बुझ्नका लागि विभिन्न प्रयास गर्दैछन् । हामीले ती विचार र सुझावलाई सक्रियतापूर्वक विश्लेषण गरेर पार्टीको गतिविधिहरूसँग जोड्नुपर्छ र पुराना दस्तावेजहरूलाई समयानुकूल परिमार्जन गर्न आवश्यक छ । जनताको धारणा र सुझाव सुन्ने संस्कारलाई अझ गहिरो बनाएमा यसले कांग्रेसलाई अझ सशक्त तथा लोकप्रिय बनाउँछ ।
पार्टीको साँचो उद्देश्य भनेको जनतासँगको सम्बन्धलाई मजबुत बनाउनु नै हो । कांग्रेसका कार्यकर्ताको दायित्व भनेको जनताको आवाजलाई सुन्नु र त्यसअनुसार कार्यक्रमहरू सञ्चालन गर्नु हो । त्यसैले आम मानिससँगको बहस र छलफलले जनताले कांग्रेसलाई आफ्नो पार्टीको रूपमा अझ बढी स्वीकार गर्नेछन् । युगवाणी पत्रिकामा विं.सं. २००५ कार्तिक ५ मा छापिएको एक लेखमा वीपी कोइरालाको एउटा विचार थियो –‘कांग्रेसलाई जनताको संस्था बनाउनका लागि हामीले जनताभित्रै काम गर्नुपर्छ । यो संस्था जनताको हो र कांग्रेसले जबसम्म जनताको सहानुभूति र सद्भावना पाउन सक्दैन, तबसम्म यसले आफ्नो ध्येयका लागि आवश्यक शक्ति संकलन गर्न सक्दैन । यस संस्थाको शक्ति नै जनताको शक्तिको मापन हो । जनता र कांग्रेसबीचको यस्तो सम्बन्धलाई बुझ्नुपर्छ र बुझाउनु पर्छ।’ हामी तिनै शक्तिशाली जनताको बलमा त्यस्तो व्यवस्था ल्याउने प्रयासमा छौं, जहाँ कोही पनि भोकाका, नांगा र अशिक्षित नहुन, अनि जीवनका आवश्यकताहरू—जस्तै सडक, सुविधाहरू, अस्पताल, आदिको कुनै अभाव नरहोस् ।’ अहिले पनि जनताको बलमा हामीले फड्को मार्न पर्यटन विकासका लागि पर्यटन मन्त्रालय (नागरिक उड्डयनलाई यातायातमा लगेर), खनिज मन्त्रालय, सूचना प्रविधि मन्त्रालय, पूर्वाधारमा सिँचाइ, खानेपानीसमेत मिलाएर प्रतिबद्ध मन्त्रालय बनाएर क्षेत्र केन्द्रित नीति बनाउन आवश्यक छ ।
सरकारको समीक्षा
गत वर्ष कांग्रेस सरकारमा जाँदा ७ बुँदे सम्झौतासहित जनता समक्ष महत्वपूर्ण आश्वासन दिएको थियो । तर, वर्तमान अवस्थामा सुशासनको आभास नदेखिनु र संसदीय प्रणालीलाई पंगु बनाउनुले गर्दा जनता निराश भएका छन् । उदाहरणका रूपमा ‘कुलिङ अफ पिरियड’ काण्ड । यसबारे कांग्रेसले आफै छानबिन गरेर जनतालाई सत्य तथ्यहरूका बारेमा समयमै जानकारी दिन विशेष ध्यान दिनुपर्ने छ । साधारण त्रुटीको रूपमा यसलाई अदेखा गर्नु हुँदैन । सरकारमा जानु भएका नेपाली कांग्रेसका मन्त्रीजीहरुलाई कांग्रेसको संस्कार अनुसार एक हप्ताभित्र सम्पत्ति सार्वजनिक गर्न केन्द्रीय समितवाटै अनुरोध गर्याैं । तर, लामो समयसम्म भएन ।
देशको अर्थतन्त्रमा कुनै विशेष सुधार देखिँदैन। राजस्व लक्ष्यको ७५ प्रतिशत पनि पुग्न नसकेको स्थिति छ । बैंक र वित्तीय संस्थामा केही कारोबार भइरहेका छन्, ब्याज दरहरू पनि घटेका छन् । तर, निजी क्षेत्रले ऋण लिन चाहेको देखिँदैन। बैंकहरुमा खराब ऋणको मात्रा बढेको छ । धेरै बैंकहरुको शेयर मुल्य निकै घटेको छ। शिथिल आर्थिक अवस्थाले रोजगारको अवसरहरु सिर्जनामा र सरकारको विकासका लक्ष्यमा प्राप्त गर्नमा पनि असर गरेको छ ।
तीन तहका सरकारहरूको वित्तीय र बजेट अनुशासनको अभावले गर्दा कांग्रेसमाथि प्रश्न उठिरहेका छन्। सामान्य मानिस र बौद्धिक वर्गले कांग्रेसलाई सोधिरहेका छन् कि, ‘के यो त्यही कांग्रेस हो जहाँ महेश आचार्य र डा. रामशरण महत जस्ता आर्थिक सुशासनका हस्ती थिए ?’ यस्ता प्रणालीगत कमजोरीहरू सच्याउन पार्टीको नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले सरकारमा जाने सबै मन्त्रीहरूलाई बजेट अनुशासन र आर्थिक प्रणालीको आधारभूत नीति र सिद्धान्तको प्रशिक्षण दिन ढिलो गर्नु हुँदैन ।
हामीले गठबन्धन गरेर सरकारलाई स्थिरता त दिएका छौं ।तर, नीतिगत स्थिरता दिन सकेको छैन । राजनीतिक अस्थिरता निम्त्याउने, फजुल खर्च बढाउने र केही समुदाय र वर्गको मागलाई सम्बोधन गर्न असफल भएको परिप्रेक्षमा हामीले संविधान संशोधनको वाचा गरेका थियौं । तर, पछिल्लो एक वर्षमा हामीले त्यो एजेण्डा बिर्सिएका छौं । यो केन्द्रीय समितिले सरकारलाई अबिलम्ब संबिधान संशोधनको कार्य शुरु गर्न निर्देशन दिनुपर्छ ।
१५औ महाधिवेशनको सन्दर्भ
विगतमा नेपालमा अचम्म तरिकाले कम्युनिष्ट पार्टीहरु बलियो हुँदै गए । अहिले नेकपा एमालेमा देखिएको राजनीतिक चलखेलले नेपालमा फेरि कम्युनिष्ट एकता नहोला भन्न सकिँदैन । देशमा सुशासन कायम गर्न, लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन र आर्थिक गतिविधि बढाउन पनि असल राजनीतिक गतिशीलता बढाउन आवश्यक छ । कांग्रेसको गतिशीलताले मात्र ‘मिसन ८४’ लिएर हिँडेका एमाले तथा नयाँ दलहरुसँग हामी प्रतिस्पर्धा गर्न बलियो हुने छौं ।
सुशील कोइरालाले संविधान बनाउने कुरामा ध्यान दिनुपर्ने भएकाले विधानमा ६ महिना थप्ने व्यवस्था गरिएको थियो । तर, अहिले देशमा न हिंसात्मक आन्दोलन छ न त कुनै ठूलो विपद् छ । देशमा आर्थिक र सुशासनको समस्याबाहेक अन्य त्यस्तो कुनै समस्या छैन जसले महाधिवेशनको मिति सार्न हामीलाई बाध्य तुल्याओस् । देशमा राजनीतिक गतिशीलता बढाएर लोकतन्त्रलाई बलियो बनाउन पनि केन्द्रीय समितिले पार्टीको १५औ महाधिवेशनको तालिका सार्वजनिक गर्नुपर्छ ।
नेपालीले अहिले लगानी, रोजगारी र ठूलो बजारमा पहुँच खोजेका छन् । प्रविधि अधिकतम् प्रयोग गर्ने गरी नेपाली कांग्रेसले आगामी महाधिवेशनमा युवा केन्द्रित आर्थिक नीति, निजी क्षेत्रको लगानी बढाउने र नेपाली वस्तु तथा सेवाको उत्पादन लागत घटाउने पूर्वाधार नीति, बदलिँदो विश्व परिवेशमा दरिलो, विश्वसनीय र नेपालको स्वाभिमान बढाउने गरी आर्थिक कूटनीति र सामाजिक न्याय दिने सामाजिक विकासका नीति जस्ता मुद्दाहरुमा अहिलेदेखि नै छलफलमा स्पष्ट नीति तथा योजनाहरुको खाका तयार गरेर जनतालाई भरोसा दिनुपर्ने छ ।
महाधिवेशनको तालिकासँगै यस्ता नीतिहरूमा सरोकारवालाहरुसँग छलफल र दस्तावेजीकरण गर्ने निर्णय यो बैठकले गर्नुपर्दछ । यसले जनताको मनमा नेपाली कांग्रेसलाई आफ्नो स्थान बलियो बनाउन र भविष्यमा पार्टीका गतिविधिहरूमा जनताको भागीदारी र स्वामित्व सुनिश्चित गर्न मद्दत गर्नेछ ।
आन्तरिक प्रतिस्पर्धा
नेपाली कांग्रेसको नेतृत्वले पार्टीमा जिम्मेवारी र भूमिका वितरण गर्दा आन्तरिक प्रतिस्पर्धालाई ध्यानमा राख्नुपर्छ । नेतृत्वबाट गरिने भेदभावले कार्यकर्ताबीच नकारात्मक प्रभाव पार्न सक्छ । विरोधको भावना उत्पन्न गर्न सक्छ । संयमित रूपमा भेदभाव पूर्ण निर्णयहरूको विरुद्ध लड्ने लोकतान्त्रिक अधिकार हरेक नेपाली कांग्रेसका कार्यकर्तामा रहेको छ । तिनीहरूले यसलाई प्रयोग गर्दैछन् । पीडाले भावनामा चोट पुर्याएको बेला आवेशमा विरोध जनाउँदा त्यसलाई नेताले ग्रहण गर्न नसक्नु कदापि नेतृत्वको लोकतान्त्रिक चरित्र होइन ।
हिजो गिरिजा प्रसाद कोइरालाले विरोधी पार्टीहरूसँग समेत सहकार्य र सहमति कायम गर्न सफल हुनुभएको थियो । यसका आधारमा, हामीले पार्टीभित्रको विवादलाई सहमति, सहकार्य, र सहिष्णुताको नीति अपनाएर समाधान गर्न आवश्यक छ । यसले पार्टीमा भाइचारा बढाउँछ र कांग्रेसलाई बलियो बनाउँछ ।
भातृसंस्थाहरूको स्थिति र सुधार
अहिले पार्टीका भातृसंस्थाहरू लथालिङ्ग अवस्थामा छन् । र, तिनीहरू समाजको धरातल र मनोभावनाबाट टाढा भइसकेका छन्। तदर्थवादको संगठनले, राजनीतिक गतिविधि बिना पार्टी सक्रिय हुने स्थिति छैन । पार्टीको संगठनमा संलग्न हुने पार्टी पार्टपूर्जाहरुनै गतिशील नदेखिएपछि पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ रु त्यसैले, अहिलेका सबै भातृसंस्थाहरूलाई विघटन गरेर संयोजन समितिका नेताहरुलाई भातृसंस्थाहरूको अधिवेशन समयमै गराउने जिम्मेवारी दिनुपर्छ, अन्यथा तदर्थवादी निर्णयले अराजकता सिर्जना गर्दछ ।
(नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य प्रा.डा. पोखरेलले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)
प्रतिक्रिया