तपाईँलाई यो शरीर प्राप्त भएको छ । यो शरीर प्राप्त हुनुको अर्थ के हो ! तपाईँसँग कस्ता–कस्ता सम्भावनाहरू छन् ! तपाईँभित्र श्वास आउनेजाने भइरहन्छ । तपाईँ जीवित भएका कारणले कति धेरै कुरा सम्भव भएका छन् ! यस कुरालाई नबुझेसम्म वास्तवमा के भइरहेको छ भन्ने कुरै थाहा हुँदैन ।
जे कुरा तपाईँ देखिरहनुभएको छ अर्थात् जे तपाईँलाई देखाइएको छ त्यो सत्य होइन । यो संसारमा मानिसहरू ठूला–ठूला पेन्टिङ अर्थात् चित्र बनाएर तपाईँलाई ‘यो यस्तो हो’ या ‘यो त्यस्तो हो’ भनेर बताउने कोशिश गर्छन् । तर, यथार्थ भने अर्कै हुन्छ । यस जीवनका सन्दर्भमा न कोही उचो हुन्छ, न त कोही नीच हुन्छ । यसमा कुनै छुवाछूत हुँदैन । यसमा ‘तपाईँ यो जातिको हुनुहुन्छ, तपाईँ त्यो जातिको हुनुहुन्छ’ भन्ने नै हुँदैन । जुनसुकै जातिको मानिस भए पनि सबैभित्र श्वास आइरहेको छ र गइरहेको छ ।
आज मानिसको हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन भएको छ । यसै कारण उसले वास्तविकतालाई पहिचान गर्नै सकेको हुँदैन । के उसले गरेका कार्यबाट कुनै समस्याको समाधान भइरहेको छ ! वास्तविक समस्या त के हो भने मानिसहरूले आफ्नो आँखा बन्द गरेका छन् । उनीहरू वास्तविकतालाई देख्न, पहिचान गर्न अनि बुझ्नै चाहँदैनन् । यसै कारण उनीहरूका मनमा अनेक प्रश्नहरू उब्जिन्छन् । ‘यो यस्तो के हो ? मलाई के हुनेछ ?’ यस्तै प्रश्नमा अल्झिरहेका छन् तर न त सुख छ, न चैन छ अनि न त शान्ति नै छ ।
मैले मानिसहरूसँग शान्तिको कुरा गर्दा उनीहरू भन्छन्, ‘मसँग त शान्तिका लागि समय नै छैन तर वास्तविकता के हो भने शान्ति पहिलादेखि नै सबैभित्र छ !कुरा दृष्टिकोणको हो । मानौँ एकातिर सुन्तलाको रुख छ अनि अर्कातिर केराको रुख छ । एकजना मानिसले एउटै दिशातिर मात्रै हेरिरहेको छ भने उसले के देख्छ ? उसले केराको बोट देख्छ । अर्को दिशातिर हेरिरहेको व्यक्तिले के देख्छ ? सुन्तलाको रुख । यस विपरीत दुवैतर्फ देख्न सक्ने व्यक्तिले भन्न सक्छ, ‘यहाँ केवल केराको बोट मात्र होइन, सुन्तलाको रुख पनि छ ।’
म त्यही व्यक्ति हुँ । मैले दुवैतर्फ देखेको छु । मैले यो संसारको दुःखलाई पनि देखेको छु अनि स्वयंले दुःखलाई झेलेको पनि छु । तर, दुःखका अलावा पनि कुनै अर्को चिज छ– अनि, त्यो अत्यन्तै सुन्दर छ ! त्यो मभित्र छ । म जहाँसुकै पुगेको भए पनि, मेरा साथमा जे जस्तो भएको भए पनि त्यो चिज सदैव मसँगै हुन्छ । म जहाँसुकै पुगे पनि आफ्नो सुख र शान्तिलाई आफुसँग लिएर गएको हुन्छु तर के म यस कुरालाई बुझ्छु कि बुझ्दिन ! के तपाईँ यस कुरालाई बुझ्नुहुन्छ कि बुझ्नुहुन्न ! यस कुरालाई नबुझेसम्म, यस कुरालाई स्वीकार नगरेसम्म के हुन्छ र ?
तपाईँ एउटा यस्तो दुनियाँमा बाँचिरहनुभएको छ, जहाँ तपाईँलाई हरेक चिजको भय छ । तपाईँ डराउनुहुन्छ । यसकारण मेरो भनाइ के छ भने अहिलेसम्म जिउन सिक्नुभएको छैन । भयपूर्ण तरिकाले बाँच्नेले जिउन सिकेको हुँदैन । यतिसम्म कि मानिसहरूमा भगवान्को समेत डर छ, ‘कसै गरी केही गलत भयो भने,फुल यहाँबाट त्यहाँ राखिदिएँ भने भगवान् रिसाउँछन् ।’ भगवान्सँग प्रेम गर्ने हो, उनीसँग भयभीत हुने होइन । मानिसहरू त कतिसम्म सोच्छन् भने ‘गलत समयमा घरबाट निस्क्यो भने केही न केही अशुभ हुन सक्छ ।’ हरेक चिजको भय छ ।
यदि जिउन सिक्ने हो भने जिउने कुरामा खुशी हुनुपर्छ । जिउने कुरामा त शान्ति हुनुपर्छ । भयमा रहेर कोही पनि बाँच्न सक्दैन । डराएर कसैले पनि प्रेम गर्न सक्दैन, किनकि यो तपाईँको प्रकृति हो । तपाईँ आफ्नो जीवनमा भयलाई पनि बढावा दिन सक्नुहुन्छ । यस विपरीत तपाईँभित्र रहेको बुझ्ने, ज्ञानलाई ग्रहण गर्ने क्षमतालाई पनि बढावा दिन सक्नुहुन्छ । तपाईँको जीवनमा तपाईँको हृदयरूपी दियो बलेपछि अँध्यारो बाँकी रहनेछैन ।
आज पृथ्वीमा अरबौँ मानिसहरू छन् । शान्तिका बारेमा हरेक मानिसका आ–आफ्नै परिभाषाहरू छन् । कसैले शान्ति प्राप्त गर्नका लागि राम्रो जागिरको चाहना राख्दछ । कोही यस संसारमा सबैभन्दा धनी मानिस बन्न चाहन्छ । हरेक मानिसले आ–आफ्नो चाहनालाई पूरा गरेर शान्ति प्राप्त गर्न चाहन्छ । मानिस भन्छ, ‘मलाई शान्ति चाहियो ।’ संसार भन्छ, ‘तपाईँको परिवार राम्रो छ । तपाईँकोे जागिर राम्रो छ । तपाईँको घर राम्रो छ । तपाईँका छोराछोरीहरू असल छन् । तपाईँलाई अरू के चाहियो ?’ के साँच्चै नै वास्तविक शान्ति यी सबै चिजहरु प्राप्त गरेर सम्भव होला त ?
आजको युगलाई विज्ञानको युग भनिन्छ । यस संसारमा मानिसले आफ्नो सुख–सुविधाका लागि के–के मात्रै गरेको छैन र ! तैपनि आज यो संसारको अवस्था राम्रो छैन । बुद्धिमान मानिसहरूले त यस्ता–यस्ता यन्त्रको आविष्कार गरिसके जुन पृथ्वीको आकर्षण शक्तिलाई पनि छोडेर अन्तरिक्षमा जान सक्छन् र विभिन्न किसिमका कार्यहरू गर्न सक्छन् । असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव तुल्याइरहेका हुन्छन् । क्यामेरा, टेलिफोन, नेभिगेसन (जहाजको दिसा नियन्त्रण गर्ने प्रणाली) लगायत अरू थुपै्र आविष्कार गरेका छन् । एक ठाउँबाट अर्को ठाउँसम्म जानलाई मानिसले आफ्ना लागि कस्ता–कस्ता सुविधाको विकास गरेको छ ! पृथ्वीमा बसी–बसी हज्जारौँ–करोडौँ माइल टाढा हेरेर आकाशको तारा कति ठूलो छ, भन्न सक्छ । जसरी मानिसले ती सबै सुविधा आफ्ना निम्ति सम्भव बनाएको छ, त्यसै गरी यो संसारमा शान्तिलाई सम्भव बनाउनका लागि पनि मानिसले नै पाइला चाल्नुपर्छ ।
एउटा कथा छ । एकजना मानिस आफ्नो साइकलमा चढेर आवश्यक कामका लागि कतै गइरहेका थिए । यत्तिकैमा अचानक उनको साइकलको टायर पन्चर भयो । दुःखी भएर उनी आफ्नो नजर यताउता डुलाइरहेका थिए, कुनै साइकल मर्मत गर्ने पसल भए यो समस्या हल हुने थियो भनेर । उनी घडी हेर्दै सोच्न थाले, ‘ओहो ! म, पुग्नुपर्ने ठाउँमा त समयमा पुग्न नसक्ने भएँ ।’ उनलाई यो कुराको चिन्ताले सताउन थाल्छ । उनी भन्छन्, ‘यो त राम्रो हुने भएन ।’
यत्तिकैमा उनले केही पर साइकल मर्मत गर्ने एउटा सानो पसलमा बसिरहेका पसलेलाई देखे । बिचरा उनी साइकल मर्मत गर्नका लागि थोरै सामग्री पसलमा राखी उदास भएर बसेका रहेछन् । किनभने उनीकहाँ साइकल बनाउनलाई कोही पनि गएका थिएनन् । सबैका साइकल राम्रैसँग चलिरहेका थिए । यत्तिकैमा ती साइकल पन्चर भएका मानिस त्यहाँ पुगेर भन्छन्, ‘यो साइकलको टायर पन्चर भयो । यसलाई बनाइदिनुहोस् न ।’ उनलाई देखेपछि ती पसले खुशी भएर मनमनै भन्छन्, ‘हे भगवान् ! तिमीलाई लाखौँलाख धन्यवाद ! यी मान्छेको साइकल पन्चर भएर राम्रो भयो । अब म यिनको साइकल बनाउँछु अनि मलाई खानका लागि केही पैसा प्राप्त हुनेछ ।’
यसको अर्थ, यस संसारमा सुख–दुख त भइरहन्छ । कसैलाई दुःख हुन्छ त कतिलाई त्यही दुःखका कारणले खुशी प्राप्त हुन्छ । तर, मानिस यो कुरालाई बुझ्न चाहँदैन । शान्तिसँग रहेर यो जीवनलाई सफल बनाउने जुन मूल लक्ष्य छ त्यही कुरालाई बिर्सन्छ । एकखालको शान्ति त त्यो पनि हो जुन परिस्थितिमा निर्भर रहन्छ । सबै कुरा ठीक भएपछि त्यसको अनुभव हुन्छ । तर, अर्को शान्ति त्यो हो जसमा जुनसुकै परिस्थिति होओस् मानिसले आफुभित्र त्यो शान्तिलाई महसुस गर्न सक्छ । मानिसले संसारमा शान्ति ल्याउनका लागि सम्भव हुन सक्ने हरेक प्रयास गरिरहेको छ, जुन उसले गर्न सक्छ । तर, उसले ‘त्यो शान्ति’ लाई आफुभन्दा टाढा छैन भन्ने कुराका बारेमा जान्ने कोशिश नै गर्दैन । त्यो त ऊभित्रै छ । त्यही शान्ति पाउन मानिसले विभिन्न किसिमका औजारहरू बनाइरहेको छ । त्यसबाट शान्ति त होइन, क्रान्ति भने अवश्य भैरहेको छ । किनभने, शान्ति त अनुभव गर्ने कुरा हो ।
खुशीको खबर के छ भने, जुन शान्तिको खोजी हामीलाई छ, त्यो हामीबाट टाढा छैन । त्यो हामीभित्रै छ । मानिसले भित्रको शान्तिलाई प्राप्त नगरेसम्म चाहे उसले जतिसुकै कोशिश किन नगरोस्, ऊ व्याकुल रहनेछ । हरेक व्यक्ति–व्यक्तिलाई शान्तिको अनुभव भएपछि मात्रै यो पृथ्वीमा शान्ति सम्भव हुन्छ ।
यो कुरालाई एउटा उदाहरणद्वारा बुझ्न सकिन्छ । यदि एउटा स्टेडियमलाई प्रकाशै प्रकाशले उज्यालो बनाउनु छ भने त्यसमा जडान भएका हरेक बल्बलाई बाल्नुपर्छ । यो पृथ्वी पनि एउटा स्टेडियमजस्तै हो अनि हरेक मानिस एउटा बल्ब हो । स्टेडियमको सबैतिर उज्यालो बनाउनका लागि प्रत्येक बल्ब बल्नु आवश्यक भएजस्तै सबै मानिसमा त्यो सम्भावना छ । उसले आफ्नो जीवनमा शान्तिलाई अनुभव गर्न सक्छ । यसबाट पृथ्वीभरि नै शान्ति सम्भव हुन सक्छ । हृदयमा शान्तिको अनुभूति भएपछि मात्रै जीवन पनि सफल हुनेछ । तपाईँ यो संसारमा अवश्य पनि खाली हात आउनुभएको थियो तर खाली हात नै जान आवश्यक छैन । यदि कुनै लिएर जान सकिने चिज छ भने एउटा मात्रै चिज छ र त्यो हो– शान्ति ।
यदि हामी संसारमा शान्ति होओस् भन्ने चाहन्छौँ भने पहिला हामीले आफ्नै सानो संसारमा शान्तिलाई स्थापना गर्नुपर्छ । यदि कतै अशान्ति भइरहेको छ भने त्यसको कारण अरू कोही होइन, मानिस आफैँ हो । वास्तविक शान्ति त्यो हो जसलाई मानिसले आफुभित्र अनुभव गर्न सक्छ । यदि मानिसभित्र शान्ति छैन भने बाहिरको शान्ति असम्भव छ ।
मानिसलाई ‘मभित्रै शान्ति छ’ भन्ने कुरा महसुस हुनुपर्दछ । ‘म पनि यो शान्तिको हिस्सेदार हुँ र यो ममाथि निर्भर हुन्छ, यदि मैले प्रयास गरेँ भनेँ साँच्चै नै शान्ति सम्भव छ ।’ यसका लागि प्रत्येक मानिस सहभागी भएर ‘एक पाइला शान्तितर्फ’ चाल्नुपर्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
थप जानकारीका लागि www.premrawat.com)
प्रतिक्रिया