टेक तामाङ साँझमा झुमे संगीतप्रेमी



गीतकार संघ नेपालको आयोजनामा गीतकार टेक तामाङको सांगीतिक साँझ हालै राजधानीमा सम्पन्न भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२ मा डेढ दर्जन गायक गायिकाले २५ जना वाद्यवादकसहित तामाङद्वारा रचित गीत प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए। आयोजक संघका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व तथा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न सांगीतिक साँझमा संगीतप्रेमीको सम्हालिनसक्नु भिड लागेपछि सहज बनाउन हलको ढोकासँगै बाहिर पनि एलइडी राखेर प्रत्यक्ष देखाइएको थियो।

गीतकार तामाङले रचना गरेका नयाँ र पुराना १७ लोकप्रिय गीत प्रस्तुत कार्यक्रममा किरण प्रधानले नेपाल मेरो घर, शिव परियारले आमा, संगीता राना प्रधानले मन पर्छ, अन्जु पन्तले तिमीलाई पराईको र अँगालोमा बेरिरहुँ, प्रदीपराज पाण्डेले अल्झिरह्यो याद, प्रल्हाद तिमिल्सिनाले स्वर्ग झैँ सैलुङ, अस्मिता अधिकारीले जोर मादलको तालैमा, डेबिट शंकरले स्वर्ग सुख, सत्यराज आचार्यले जित्नेहरूको पनि, स्वरुपराज आचार्यले आफ्नै धड्कन, कन्काइस्ट राईले नजिक यति भएर पनि र जन्मिखेली, सञ्जय तुम्रोकले तिमी सागर र मै खुकुरी, रेश्मा बमजनले माथि माथि लेकमा र रुपक चौधरीले मीठा मीठा बोल बोलका गीत सुनाएर दर्शक रिझाएका थिए। प्रायः गायक गायिकाले गीत प्रस्तुत गर्दा दर्शक दीर्घाबाट वान्समोरको आवाज गुन्जिएको थियो।


सांगीतिक साँझमा संगीतकार अशोक कुमार राईको संगीत संयोजनमा मनोहर सुनाम भ्वाइलिन संयोजक, शिला बहादुर मोक्तान किबोर्ड र भरत बुढाथोकी तालवादन संयोजकको रूपमा रहेका थिए। त्यसै गरी भ्वाइलिनतर्फ मोहनकृष्ण ढली, किशोर कार्की ढली, रविन कार्की ढली, नारायण कार्की ढली, रोमन बुढाथोकी र विकासनाथ योगी, बाँसुरीतर्फ गोपाल देव घतानी र धन बहादुर गुरुङ, तालवादनतर्फ कुमार महाराज, मेघराज लुंगेली, अनिल थापा र पोषण धर्ती, गितारतर्फ देव राई, सञ्जिव लिम्बु र दीपेश श्रेष्ठ, सितारमा सितामैया राहचल, सारंगीमा भरत नेपाली, प्याड ड्रमतर्फ भुपेन्द्र रसाइली तथा ब्रासतर्फ रुद्र परियार, पूर्ण नेपाली र तेज तामाङ रहेका थिए।

भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ आयोजित कार्यक्रममा गीतकार तामाङले औपचारिक रूपमा २०५० सालदेखि सांगीतिक यात्रामा लागे पनि सांगीतिक साँझले पूर्णता दिएको बताए। प्रमुख अतिथि बैरागी काइँलाले गीतकार सांगीतिक साँझ ऐतिहासिक बनेको बताए।अतिरिक्त प्रहरी महानिरीक्षक रहेका गीतकार तामाङको कार्यक्रममा उनीद्वारा रचित सोल्टिनी र माथि माथि लेकमा बोलका गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रम सञ्चारकर्मी, अभिनेता, फिल्म निर्देशक तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सञ्चालन गरेका थिए।