सिजन २०२४–२५ मा फुटबलमा आए बेग्लै नतिजाहरू


यस सिजन २०२४–२५ मा अन्तर्राष्ट्रिय फुटबलमा विगतमा आएका नतिजाभन्दा बेग्लै नतिजाहरू निस्केका छन् । जुन, विश्व फुटबलमा आश्चर्यजनक विषयसमेत बनेको छ । उक्त सिजनमा कयौं समयसम्म उपाधिका लागि कुरिरहेको टोलीलाई सफलता मिलेको छ भने केही खेलाडीको लागि पहिलो प्रमुख उपाधिको साइत जुरेको छ ।

पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग जित्यो भने टोटनहामले पहिलो पटक ठूलो उपाधि जित्यो । यस्तै, बेल्जियमको युनियन सेन्ट गिलाइसोले ९० वर्षमा पहिलो बेल्जियम प्रो लिगमा उपाधि जितेको छ । यहाँ केहीको मात्रै उपाधि जितेकोबारे प्रस्तुत गरिएको छ ।

पीएसजी च्याम्पियन्स लिग विजेता

सिजन २०२४–२५ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिग जितेको छ । जर्मनीको एलिन्जा एरिनामा भएको फाइनल खेलमा पीएसजीले इन्टरमिलानलाई ५–० ले हराएर उपाधि जितेको हो । यससँगै फ्रेन्च क्लबको लामो समयदेखिको पहिलो च्याम्पियन्स लिग जित्ने सपना साकार भएको छ ।

टोटनहामलाई पहिलो उपाधि

यस सिजनको यूईएफए यूरोपा लिगको उपाधि इंग्लिस क्लब टोटनहामले जितेको छ । दुई इंग्लिस क्लबबीच भएको फाइनल खेलमा टोटनहामले म्यानचेस्टर यूनाइटेडलाई १–० ले हराएको हो । योसँगैं स्पर्स (टोटनहामको उपनाम) को प्रमुख उपाधि जित्ने १७ वर्षदेखिको पर्खाइ सकिएको छ ।

क्रिस्टलको १६४ वर्षमा पहिलो उपाधि

इंग्लिस क्लब क्रिस्टल प्यालेसले क्लबको इतिहासमै पहिलो प्रमुख उपाधि जित्न सफल भयो । क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटी जस्तो शीर्ष टोलीलाई १–० ले हराएर यस वर्ष एफए कप जितेको हो । १ सय ६४ वर्षमा क्रिस्टलको यो पहिलो प्रमुख उपाधि हो । यो उपाधि दिलाउन एबेर एजेले निर्णायक गोल गरेका थिए ।

न्यु क्यासलले ७ दशकपछि उपाधि जितेको

अर्को इंग्लिस क्लब न्यु क्यासल यूनाइटेडले ७ दशकपछि पहिलो प्रमुख उपाधि जितेको छ । इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जित्न न्यु क्यासलले प्रिमियर लिग विजेता लिभरपूललाई २–१ ले हराएको हो ।

बोलग्नालाई ५१ वर्षपछि उपाधि

इटालियन क्लब बोलग्नाले इटालियन कपमा उपाधि जितेको छ । एसी मिलानलाई हराएर बोलग्नाले ५१ वर्षको उपाधि खडेरी समाप्त पारेको हो । यस क्लबले पछिल्लो पटक १९७४ मा प्रमुख उपाधि जितेको थियो ।

केनको सपना साकार

इंग्लिस फुटबलर ह्यारि केनको पहिलो प्रमुख उपाधि जित्ने सपना साकार भएको छ । बायर्न म्युनिक २०२४–२५ को जर्मन बुन्डेसलिगामा विजेता बनेपछि ३१ वर्षीय केनलाई करिअरमा पहिलो चाँदीको ट्रफी प्राप्त भएको हो । यद्दपि टोटनहाममा खेल्दा प्रमुख उपाधि नजितेको भन्दै उनी बायर्नमा पुगेका थिए । तर, उनले प्रमुख उपाधि जितेको केही दिनपछि नै टोटनहामले यूरोपा लिग जितेको थियो ।

सनको पहिलो उपाधि

दक्षिण कोरियाका ३२ वर्षीय फुटबलर सन हिउङ मिनले पनि करिअरकै प्रमुख उपाधि उचालेका छन् । टोटनहामले म्यानचेस्टर यूनाइटेडलाई १–० ले हराएर यूरोपा लिगको उपाधि जितेपछि सनले १७ वर्षको करिअरमा पहिलो पटक ट्रफी चुम्न पाएका हुन् । सन् २०१५ मा टोटनहाममा आएका आएका उनी ह्यारि केनले छाडेपछि टोलीका कप्तानसमेत बने ।