नेपालमा शिक्षाको मूल उद्देश्य के हो ? के शिक्षा केवल प्रमाणपत्र प्राप्त गरेर जागिर खाने साधन मात्र हो ? कि, यो सामाजिक, बौद्धिक र वैचारिक विकासको माध्यम पनि हो ? आजको नेपाली समाजमा यो एउटा गम्भीर चिन्ताको विषय बनिरहेको छ– शिक्षित व्यक्तिहरूको बढ्दो संख्या भए तापनि त्यो शिक्षा व्यवहारमा लागू नहुनु, सोचमा परिपक्वता नआउनु र प्रगतिशील सोचको अभाव हुनु ।
नेपालमा बर्सेनि लाखौँको संख्यामा स्नातकोत्तरको परीक्षा पास गर्ने संख्या बढ्दै छ । डिग्री, पीएचडी गर्नु भनेको उच्चतम शिक्षाको पहुँचमा पुग्नु हो तर पनि यी सर्टिफिकेट लिनेको संख्यामा वृद्धि भएसरह के साँच्चै समाजमा सुधार र विचारले उच्चतम स्तर पाएको छ त ? छैन, तीमध्ये धेरैको सोचाइ अझै पनि पुरातन, रूढिवादी र आत्मकेन्द्रित छ । यस्तो लाग्छ, उनीहरूलाई शिक्षा भनेको केवल ‘सरकारी जागिर’, ‘ठूलो पद’, वा ‘धेरै पैसा कमाउने माध्यम’ मात्र हो । यसरी शिक्षा केवल ‘कागजमा सीमित’ बन्दै गएको छ ।
साँचो अर्थमा शिक्षित व्यक्ति त्यो हो, जसको सोच फराकिलो हुन्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गर्छ र जसले विवेक र तार्किक सोचलाई जीवनमा उतार्छ । तर हाम्रो समाजमा अझै पनि यस्ता डिग्रीधारीहरू भेटिन्छन्, जो महिला शिक्षालाई दोस्रो दर्जामा राख्छन्, दलित वा पिछडिएको समुदायसँग छुवाछूत गर्छन् वा भ्रष्टाचारलाई सामान्य व्यवहार ठान्छन् । यस्तो व्यवहारले देखाउँछ कि उनीहरूको शिक्षा केवल कागजमा सीमित छ, व्यवहारमा होइन । डिग्री पाउनका लागि पढ्नु राम्रो कुरा हो । तर त्यो डिग्री केवल आम्दानीको स्रोत बन्न पुगेको छ भने, त्यसको गहिरो मूल्य घट्छ । शिक्षाको प्रयोग केवल आत्मकेन्द्रित लाभको लागि गर्ने हो भने समाजमा परिवर्तन सम्भव छैन । शिक्षित व्यक्तिको जिम्मेवारी आफ्नो ज्ञानलाई समाज सुधारमा प्रयोग गर्नु पनि हो ।
छोरीलाई आर्थिक आर्जन गर्ने मौका मिलेसँगै चुलोचौकाको जिम्मेवारीबाट मुक्त गराइएको छ त ? आजका कैयौँ छोरीहरु निर्धक्कसँग छोरा बनेका छन् तर छोरीको सम्पूर्ण कर्तव्य सकेर मात्र । त्यस्तै छोरी जागिरे भएका छन् तर घरमा गृहिणीको सम्पूर्ण कार्य र परिवारको सेवा सकेर मात्र । किनकि आज छोरीलाई स्वाभिमानी बन्न त सिकाइएको छ तर छोरालाई घरको जिम्मेवारी आधा–आधा भनेर सिकाउनचाहिँ बिर्सिएको छ ।
जातभात र छुवाछूतको प्रतिक्रिया त बदलिएको छ तर सम्पत्ति र पावरको थिचोमिचो अझ बढी छ । दाइजोको माग गलत र दण्डनीय छ भन्ने त थाहा छ, त्यसैले गिफ्टको नाममा करोडौँ लेनदेन गरिने गरिएको छ । यहाँ करोडौँको गिफ्ट दिन सक्ने केटीहरु छान्न थालिएको छ, काली, मोटी, होची नाममा शारीरिक सैन्दर्यताको मूल्यांकन र मानसिक तनाव अझ बढ्दो छ । यससँगै साधारण र सादा जीवन बिताइरहेका नारीको अपमान बढ्दो छ । बढ्दो सामाजिक सञ्जालबाट ग्ल्यामरको फरक पहिचानसँगै प्लास्टिक सर्जरी र केमिकलयुक्त अैषधिको प्रयोग बढ्दो छ । नेपालमा बस्ने केटाहरु, गरिब परिवारमा जन्मेकाहरुको विवाह गर्न नसकिने अवस्था पुगेको छ । केटीको प्लास्टिक सर्जरी, दाइजोसँगै केटाको तलबको दाइजो र डिभोर्सपछिको सर्वस्व हरण बढ्दो छ ।
वेस्टन कपडामा डिस्को धाउने केटीको संख्या बढे पनि सँगै छिरेका केटाहरुले केटीहरुलाई हेर्ने नजर र अपमानको खाडल अझ गहिरिँदै छ । सवारीसाधन चलाउन समान अनुमति मिले पनि केटाको ड्राइभिङ इन्ट्रेस्टलाई सम्मान र केटीको ड्राइभिङ इन्ट्रेस्टलाई, कुन केटाको पछाडि ? प्रश्न फरक छ ।
नेपालजस्तो देशमा, जहाँ शिक्षा भविष्यको ढोका खोल्ने साँचो मानिन्छ, यहाँ एउटा गहिरो विडम्बना लुकेको छ– यहाँका धेरैजसो ‘शिक्षित’ व्यक्ति वास्तवमा केवल कागजी शिक्षित छन् । उनीहरूसँग डिग्री, र प्रमाणपत्र त हुन्छ तर व्यावहारिक ज्ञान, सीप र जीवन उपयोगी बौद्धिकता हुँदैन । हाम्रो शिक्षा प्रणालीले बाल्यकालदेखि नै याद गर्नमा जोड दिन्छ । विद्यार्थीलाई तथ्य, मिति र सूत्र कण्ठ पार्न लगाइन्छ तर सोच्न, विश्लेषण गर्न वा प्रयोग गर्न सिकाइँदैन । परिणामस्वरूप हामी त्यस्ता स्नातक उत्पादन गर्छौं, जसले परीक्षा पास त गर्छन् तर जीवनका सामान्य समस्यासमेत समाधान गर्न सक्दैनन् ।
यसको राम्रो उदाहरणको रुपमा अहिलेको टेक्नोलोजीसँग नेपालीको जीवनयापन देख्न सकिन्छ । कुरा काट्ने र खुट्टा तान्ने समाज साइबर क्राइम, बुलिङ, हेरेसमेन्टमा तीव्र गतिमा दौडँदै छ । नारीलाई समानता र स्वतन्त्रता दिने प्रयासमा उनलाई पूजनीय र आदरणीय मान्न छोडिएको छ ।
मानिसले आफूलाई सर्वोपरि र अरूलाई तुच्छ ठान्न छोडेको छैन । जँड्याहा जिम–व्यायाम गर्नेलाई बेकार भन्दै लरबरिएको छ । जिम जाने व्यक्ति किसानको कामलाई धिकार्दै फलफूल चपाइरहेको छ । ओभर स्पिड ड्राइभिङ र ड्रिङ्केड् ड्राइभिङ गर्नेले एकल भ्रमण र बन्जी जम्पलाई अप्रत्यासित मृत्युको कारण भन्दै ती सबै एड्भेन्चर्स व्यक्तिलाई होच्याउने गरिरहेको छ । बिँडी, चुरोट र बियरमा चोकमा केटी छेड्नेले केटीको मध्यकालीन एकल शहर भ्रमणमा चारित्रिक प्रश्न खडा गर्ने गरेको छ ।
सबै–सबै शिक्षित छन् । डिग्री र कालोकोटको फोटो सोसियल मिडिया र घरका भित्ताभरि टाँगिएको छ तर सबै कागजीरुपमा शिक्षित (पेपर्ली एजुकेटेड) छन् । उनीहरुको लागि सामान्य कानुनी कुरा र त्यसको पालना गर्नुपर्ने कुरा एउटा केवल जोक बनेर अगाडि आएको छ । विनाअनुमति कसैको फोटो, भिडियो लिन मनाही छ । फोटो लिनुभन्दा अगाडि चाहे कोही किन नहोस्, अनुमति लिनुपर्छ । यसको परिपालना कुनै शिक्षित व्यक्तिले गरेको पाइँदैन । कसैको बारेमा सोचेर बोल्नुपर्छ तर यहाँका शिक्षित व्यक्तिहरु कानुन किन्न सक्ने हैसियतमा सीमारेखा बारम्बार तोड्ने गर्दछन् ।
आज शिक्षा बेचिएको छ, कानुन बेचिएको छ, शिक्षित व्यक्ति सर्टिफिकेटमा भेटिएको छ । नेपाली समाजको यथार्थ यो छ कि हामी परिवर्तित केवल बाहिरीरुपमा भएका छौँ । अझै जनैमा साँचो बाँधेर खोक्रो ‘प्रोगेसिभ माइन्ड सेट’ दैखाउँदै दैडनेको संख्या बढ्दो छ । सम्पूर्ण नारीको मेकअपलाई कमेडी बनाउनेहरु घरमा रहेका दिदी–बहिनीको शारीरिक बनावटमा खेद प्रकट गर्ने जमात ठूलो छ । स्वयं प्लास्टिक सर्जरी गरी अर्धनग्न नारीको पछाडि दौडेर संस्कारको बखान गर्ने पुरुषको भीड अकल्पनीय छ ।
अन्त्यमा भन्नुपर्दा, डिग्री, पीएचडी भनेर नझुकिनुहोला, शिक्षित व्यक्तिको ढोंगमा पुरातन सोचाइ र कानुन हातमा लिन सक्ने हिम्मतवालाको डंगुर धेरै छ । वास्तवमा शिक्षित व्यक्ति र सर्टिफिकेट शिक्षित व्यक्तिको फरक छुट्याउनु साँच्चै नै गाह्रो छ । अब समाजले वास्तविक शिक्षित व्यक्तिको चयन गर्नु आवश्यक छ । किनकि वास्तविक शिक्षित व्यक्ति नै हाम्रो समाजको वैदिक प्रगतिको स्रोत हुनेछ । नेपाललाई अब त्यस्ता शिक्षित नागरिक चाहिएको छ, जसले डिग्री मात्र हैन, दृष्टिकोण, मूल्य र परिवर्तन ल्याउने क्षमता पनि बोकेको होस् ।
प्रतिक्रिया