वीरचन्द्र रीन्हो : अमूल्य योगदान र स्मरण

6.58k
Shares

संखुवासभा जिल्लाको अत्यन्तै विकट गाउँ साप्तेल (साबिक ताम्कु गाविस–८, हाल सिलीचोङ गाउँपालिका–३) मा बुबा पञ्चकुवेर रीन्हो कुलुङ अनि आमा रामहीरा तोमोछामे कुलुङको कोखबाट वि.सं. १९९८ पुस १५ गते जन्मनुभएका वीरचन्द्र रीन्होको वि.सं. २०८१ माघ ३० गते ८४ वर्षको उमेरमा देहावसान भयो । उहाँको भौतिक शरीरले यस धरतीबाट सधैँका लागि बिदा लिएको भए तापनि उहाँले समग्रमा कुलुङ समुदाय र यस समुदायको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खम)’ लाई लगाउनुभएको गुण एवं उहाँले दिनुभएको आर्थिक, भौतिक, बौद्धिक, नैतिकलगायत स–साना अनगिन्ती कामहरुलाई हामीले कदापि बिर्सनुहुँदैन, बिर्सने पनि छैनौँ ।

उहाँको बाल्यकालको अधिकांश समय आफ्नो बुबासंँग गाउँदेखि माथि रहेको खर्कमा गाईभैँसी चराएर बित्यो । त्यसरी सानो उमेरमा गोठालो गर्ने क्रममा हिउँदमा किशोरावस्था (लगभग १८ वर्षको उमेरसम्म) उहाँ नुन बोक्न धरान बजारको फुस्रे भन्ने ठाउँमा धेरै पटक आउनुभएको थियो । गाउँबाट धरान बजारको फुस्रेमा आउँदा चिराइतो र सुन्तलाको भारी पनि खेप्ने गर्नुहुन्थ्यो । यसले गर्दा घरको गर्जो टार्न र आफ्नो व्यक्तिगत खर्चमा केही सहयोग पुग्थ्यो । तर, ऊ बेलाको समयमा चुत्ताचप्पल लगाउने चलन थिएन । खाली खुट्टा पैदल हिँडेरै भारी बोकेर त्यति टाढा आउनुपर्दा खुट्टा दुख्ने, सुन्निने, त्यसरी दुःखेको र सुन्निएको खुट्टाले हिँड्नै नसक्ने अवस्था आउँथ्यो । त्यसरी अनेकौँ दुःख–कष्टको भारीसँगै बल्लतल्ल फुस्रे आइपुगेको भोलिपल्टै वा त्यही दिन नुन, मरमसला, अन्य आवश्यक घरायसी चिजबिजको भारी बोकेर घर पु¥याउनुहुन्थ्यो । त्यसरी धरानको फुस्रेबाट लगेको भारी पु¥यायो, फेरि जंगलको गोठमा बस्न गयो । दिनचर्या त्यसरी नै बित्ने गथ्र्यो । हुन त त्यो बेला गाउँघरका जो–कोही वर्षमा एक वा दुईपटक धरान किनमेल गर्न आउनै पर्ने हुन्थ्यो । फलतः उहाँको मनमा अब यस्तो दुःखको भारी कसरी बिसाउने ? भन्ने नानाथरी कुरोहरु मनमा खेल्न थाल्यो ।

यसरी मनमा अनेक थरी कुरा खेल्दाखेल्दै ऊ बेलाको समयमा प्रायः सबै युवाको उत्तम विकल्प भनेको लाहुरे बन्ने हुन्थ्यो । त्यसै क्रममा वीरचन्द्र रीन्होले पनि लाहुरे हुने सपना बुन्न थाल्नुभयो । नभन्दै १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती हुनुभयो । उहाँले नयाँ जीवन अर्थात् ‘लाहुरे जीवन’ शुरु गर्नुभयो । बेलायती सेनामा भर्तीपछि त्यहीँ साक्षर बन्दै अगाडि बढ्नुभयो । त्यस क्रममा आफ्नो क्षमता र कार्यकुशलतासहित विभिन्न देशमा जस्तै– बेलायत, हङकङ, मलायालगायतका देशमा आफ्नो कर्म गर्दै जवानीका धेरै समय विदेशी मुलुकमा बिताउनुभयो । हुन पनि उहाँले गाउँघरको दुःख–कष्ट राम्रोसँग बुझेको हुनाले बेलायती सेनाबाट छुट्टी आउँदाखेरि गाउँका युवाहरूलाई खेलकुदका सामग्रीका साथै विद्यालयका लागि शैक्षिक सामग्री ल्याइदिनुहुन्थ्यो । यसरी उहाँले छुट्टीमा आउँदा गाउँघरका युवाहरूका लागि भनेर सामग्री ल्याइदिएर सामाजिक सेवाको शुभारम्भ गर्नुभएको थियो । स्मरणीय छ, उहाँले बेलायती सेनाबाट निवृत्त भएपश्चात् धरान नगरपालिकाको १३ नम्बर वडा, अमरहाटमा स्थायी बसोवास गर्नुभएको थियो ।

लाहुरे जीवनबाट अवकाशपछि २०४९ साल पौषमा धरान–१० स्थित स्व. क्याप्टेन कृष्णबहादुर गान्खु कुलुङको घरमा भएको प्रथम ‘किरात कूलू गूसखम’को सम्मेलनबाट संस्थापक कोषाध्यक्ष भई औपचारिकरूपमा कुलुङ समुदायको सेवामा समर्पित हुनुभयो । शून्यबाट शुरु भएको संस्थामा कुलुङ संघको संस्थागत विकासका लागि कार्यालय स्थापना गर्न भनी डटेर लाग्नुभयो । त्यस क्रममा उहाँले ‘मुठ्ठी–दान’को शुरुवात गर्नुभयो । सबैसँंग हातेमालो गर्दै विशेषतः आफ्नो नम्बरी साथीहरु र सिनियरहरुसँंग आर्थिक संकलन गर्नमा महत्वपूर्ण जिम्मेवारी बहन गर्नुभयो । फलतः ऊ बेला पाँकन्या गाविस–५ देवीगाउँमा ५ कठ्ठा जग्गा ‘किरात कूलू गूसखम’को नाममा किन्नुभयो । त्यसलाई तत्कालै किरात कूलू गूसखमको नाममा दर्ता गराउनुभयो । जग्गा खरिद गरेको दुई वर्ष वि.सं. २०५३ मा एकतले आरसीसी घर ठड्याउन सफल हुनुभयो । उक्त भवन तत्कालीन सरकारका मन्त्री बलबहादुर राईबाट उद्घाटन गराउनुभयो ।

यसै गरी उहाँले किरात कूलू गूसखमलाई जिल्ला प्रशासन कार्यलय, सुनसरीको इनरुवाबाट ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ भनी आधिकारिकरुपमा दर्ता गराउन भूमिका खेल्नुभयो । कुलुङ समुदायको पहिचानका लागि कुलुङ भाषाका लोककथा, कथा, नाटक, गीत, संगीत, नृत्य आदिको महत्वबारे कुलुङ जातिलाई बुझाउन र त्यसका लागि कुलुङ समुदायलाई ब्युँझाउन लागिपर्नुभयो । युवाहरुलाई संलग्न गराउन हरतरहले प्रयत्न गर्नुभयो । फलतः वि.सं. २०४५ मै रेडियो नेपालमा कुलुङ भाषाको गीत गाइसक्नुभएका भरत थोरेप्पा कुलुङको सांगीतिक र सांस्कृतिक नेतृत्वमा निनाम–रीदुम कुलुङ सांस्कृतिक परिवार सुनसरीको विष्णुपादु गाविस–८ बरडाँडामा स्थापना गरिएको ‘कुलुङ सांस्कृतिक समूह’लाई ‘किरात कुलु गुसखम’संँग हातेमालो गराउँदै हरेक वर्ष तिहार पर्वको अवसरमा धरान नगरभित्र (पछि काठमाडौंसम्म पनि) देउसी–भैलो कार्यक्रम आयोजन गर्नुभयो । २०५१ सालको पौषमा संखुवासभाको बुधबारे बजारमा भएको दोस्रो अधिवेशनबाट पुनः उहाँ केन्द्रीय कोषाध्यक्षमै निर्वाचित हुनुभयो । त्यसपछि गूसखमको आर्थिक एवं भौतिक सुधारमा अझ बढी इँटा थप्न भनी कुलुङ गाउँ–बस्तीहरुमा पुगेर बुझाउन र ब्यूँझाउनलाई अनवरत लागिपर्नुभयो ।

यसरी बिस्तारै सबै जिल्लामा कुलुङ संघको जिल्ला कार्य समिति गठन गर्दै कुलुङ जातिका बारेमा चिन्तन–मनन गर्न र विचारमा प्रस्टता ल्याउन अनि ऊर्जा दिँदै अगाडि बढ्न उहाँको अमूल्य योगदान रहँदै आएको थियो । उहाँमा एक्लाएक्लैभन्दा पनि समूहगतरुपमा काम गर्ने र त्यसैमा रमाउने प्रवृत्ति थियो ।

यसरी बिस्तारै सबै जिल्लामा कुलुङ संघको जिल्ला कार्य समिति गठन गर्दै कुलुङ जातिका बारेमा चिन्तन–मनन गर्न र विचारमा प्रस्टता ल्याउन अनि ऊर्जा दिँदै अगाडि बढ्न उहाँको अमूल्य योगदान रहँदै आएको थियो । उहाँमा एक्लाएक्लैभन्दा पनि समूहगतरुपमा काम गर्ने र त्यसैमा रमाउने प्रवृत्ति थियो । राजीखुशीसाथ कुलुङ समुदाय र किरात कूलू गूसखमको यात्रामा अगाडि सर्न चाहने अग्रज, युवा, विद्यार्थी, महिला तथा आम समुदायको मनोभावना बुझेर सोहीनुसार निर्णय गर्न सक्ने एक कुशल नेतृत्वको भूमिका निर्वाह गर्ने क्षमता उहाँमा रहेको थियो ।

उहाँले कुलुङ समुदायका हकहितका लागि काम गर्ने क्रममा सबैभन्दा महत्वपूर्ण काम गर्नुभएको भनेको केही काममा सुनसरी जिल्लाको धरानको (हाल कूलू गूसखमको केन्द्रीय कार्यालय रहेको स्थानदेखि पूर्व–उत्तरमा) करिब १ किलोमिटर नजिकै रहेको स्थापना एक हो । स्मरणीय छ, पछिल्लोपटक त उहाँ लगातार त्यहीँ बस्नुभएको थियो । हुन पनि शुरुमा खाली जग्गा र नांगो डाँडाको रुपमा रहेको सो ठाउँमा अनेक प्रजातिका हजारौं रुख–बिरुवा तथा फलफूल लगाएर संघको आम्दानी बढाउन वीरचन्द्र कम्मर कसेर लाग्नुभएको थियो । हाल सो ‘कुलुङ चारी तोसखम’ किरात कूलू गूसखमकै संरक्षकत्वमा रहेको छ । सो ‘कुलुङ चारी तोसखम’ करिब २.९४१ हेक्टर (११.६२ विघा) क्षेत्रफलमा रहेको छ । सो ‘कुलुङ चारी तोसखम’ क्षेत्रलाई सुन्दर पर्यटकीय र सांस्कृतिक महत्वको भूमिका रुपमा परिचित गराउन सकिन्छ । जुन कामले वीरचन्द्र रीन्होको सम्झनालाई सधैँ ताजा र स्मरणीय राख्नका लागि पनि अब हामीले कदम चाल्नुपर्ने हुन्छ ।

वि.सं. २०५४ देखि २०५६ सम्मको समयावधिमा कुलुङ समुदायको संस्थागत विकासमा निरन्तरता दिँदै वि.सं. २०५७ मा कुलुङ संस्कृति संरक्षणका निम्ति ऐतिहासिक कार्यक्रमबारे उहाँले सोच्नुभएको थियो, जुन पछि गएर साँच्चै ऐतिहासिक बन्यो । त्यो थियो, हाल किरात कूलू गूसखमका वरिष्ठ सविच रहनुभएका दुर्गादास तोमोछा कुलुङले निर्देशन गर्नुभएको र दीपेन्द्र थोरेप्पा कुलुङले लेख्नुभएको ‘रिदुम सम्सुराम’ (संस्कृति बचाऔं) नामक कुलुङ भाषाको नाटक । सो कुलुङ भाषाको पहिलो नाटकको रुपमा रहेको छ । सो नाटक धरान–१० स्थित सैनिक भवनमा वि.सं. २०५७ वैशाख १० गते मञ्चन गरिएको थियो, जुन नाटकबाट एकै दिनमा ऊ बेलाको समयमा पनि ५० हजारभन्दा बढी रकम आम्दानी भएको थियो । सो नाटकको व्यवस्थापनको जिम्मेवारीमा वीरचन्द्र रीन्होकै ठूलो योगदान रहेको थियो । उक्त नाटकबाट भएको आम्दानीमा देउसी–भैलो खेलेर प्राप्त भएको रकम थपी सोही वर्ष कुलुङ भाषाको गीत लाइस्पी तुम्खाम हुक्छो शीर्षकको एल्बम धरान म्युजिक मिडियामा स्वराङ्कन (रेकर्ड) गरेर काठमाडौंको अनामनगरस्थित म्युजिक नेपालमा डबिङ गरी नेपालका कुना–कन्दराका साथै विदेशमा समेत कुलुङ भाषाको गीत प्रवद्र्धन गरियो । त्यस कार्यमा पनि वीरचन्द्रको अभिभावकत्व, हौसला अनि व्यवस्थापनको योगदान भुल्न नसकिने रहेको थियो ।

त्यस्तै वि.सं. २०५७-२०५८ मा कुलुङ संघका गतिविधिहरु विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण गर्न भनी रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा अनुरोध गरिएको थियो । त्यसको नेतृत्व वीरचन्द्रले गर्नुभएको थियो । तर, पहिले नै ‘राई’ जातिको भाषाको कार्यक्रम भनेर बान्तावा जातिको भाषाको कार्यक्रम सञ्चालन भइरहेकोले कुलुङ भाषामा अर्को छुट्टै कार्यक्रम गर्न-कुलुङ भाषामा कार्यक्रम सञ्चालन गर्न नमिल्ने भन्दै रेडियो नेपालको क्षेत्रीय प्रसारण धनकुटाले अनुमति नदिएपछि शप्तकोशी एफएमबाट कुलुङ भाषाको कार्यक्रम रोक्तोखोम (इन्द्रेणी) गरिएको थियो ।

वि.सं. २०६३ मा संखुवासभा र भोजपुरको संयुक्त सम्मेलन संखुवासभाको बुधबारे बजारमा भव्यतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान रहेको थियो । साथै सीधै सोलुखुम्बुको महाकुलुङ छेस्काममा १८ जना पुर्खाहरु, बौद्धिक व्यक्तित्वहरु यमबहादुर होनित्ती, केन्द्रीय कोषाध्यक्ष भलाकाजी ङोपोचोलगायतका सांस्कृतिक अध्ययन भ्रमण टोलीले तत् समयमा पौष महिनाको १५ गते नयाँ वर्ष चाक्चाकूरसंँगै छेस्काममा सयौं ज्येष्ठ पुर्खाको उपस्थितिमा राज्यले दमन गरेर, उपेक्षा गरेर विलीन भइसकेको मीनारी दाचाम् ‘चाक्चाकूर’ पर्वलाई विधिवत् ढंगले ब्यूँझाउने काम औपचारिकरुपमा शुभारम्भ भयो । वीरचन्द्र रीन्होको नेतृत्वमै यो पुनः शुभारम्भ गरिएको थियो । आज पनि गाउँघर छाडेर टाढा–टाढा गएका कुलुङहरु यस मौलिक चाड चाक्चाकूरको अवसरमा आफ्नै गाउँघरमा भेला भई हर्षोल्लासका साथ यो चाड मनाउने गर्छन् । यतिखेर वीरचन्द्र रीन्हो हामीमाझ नभए पनि यस्ता कार्यले उहाँको स्मरण भइरहन्छ । उहाँप्रति हार्दिक श्रद्धा–सुमन ।