बिजुली गइरहने देश

1.32k
Shares

बिजुली गइरहने देश ! हेर्दाहेर्दैको आँखाले दृश्य केही देख्न नसक्ने अवस्था हुन्छ । बत्ती गएपछि अन्धकारको कालो मुस्लोमा के देख्नु, के हेर्नु ? आँखाले जति नै नियालेर हेरे पनि देखिने भनेको केही बाँकी रहेको हुँदैन । बाँकी नरहेको शून्यतामा कामले नेटो काट्छ । चिनाजानी बिरानो बन्छ । आपसमै टाढापनको आभास हुन्छ । मात्र आवाज सुनिन्छ । दृश्यमय संसार अन्धकारमा विलीन भएको हुन्छ । यस्तोमा डरको मात्रा बढ्न थाल्छ । चोरीडकैतीको साहसचाहिँ बढ्छ । त्यसपछि अन्धकारको संवाद डरलाग्दो हुन थाल्छ ।

अन्धकार छाएको बेलामा आँखाले देख्न छाड्छ तर के साँच्चै देख्न छाड्ने आँखाले मात्र हो ? वा त्यस पलमा जीवनकै दृश्य विलीन हुन्छन् ? जब बत्ती जान्छ, एकाएक संसारको रङ, रूप सबै हराउँछ । आँखा खुला छन् तर शून्य घुरिरहेको हुन्छ । जति नियालेर हेरे पनि देखिने केही हुँदैन र त्यो ‘नदेखिने’ अवस्थामै जीवनको अर्को पाटो खुल्दै जान्छ ।

दृष्टिको बन्धन हटेपछि ध्वनि हाबी हुन्छ । कोठाको कुनाबाट कसैको सास फेर्ने आवाज आउँछ, पर परबाट टोलको कुकुर भुक्छ, कहिलेकाहीँ आफ्नै मुटुको धड्कन पनि गुञ्जिन थाल्छ । सामान्यतः ती अनौठो सुनिने आवाजहरूले मान्छेलाई त्रस्त पार्छ, निद्रा हराउँछ, सपना भाग्छ ।

अन्धकार दृष्टिको अभाव होइन, त्यो अनुभूतिको अर्को तह हो, जहाँ सम्बन्धहरू पुनः परिभाषित हुन्छन् । चिनाजानी मानिस पनि अपरिचित लाग्छ । एउटै कोठामा बसेका दुईजना एक–अर्कासँग अञ्जानजस्तै हुन सक्छन् । दृष्टिको सुविधा नभएको ठाउँमा सम्बन्ध आवाजमा, सासमा, मौनतामा खोज्नुपर्छ । र, त्यहीँ कतै ‘मात्र सुनिने’ संवेदना जन्मिन्छ, जहाँ आँखाले भन्दा कानले बढी प्रेम गर्छन्, डराउँछन्, महसुस गर्छन् ।

अन्धकारले दृश्य चोर्छ, तर साथसाथै हामीलाई आफूसँगको अन्तर्मनको संवाद गर्न बाध्य बनाउँछ । जब बाह्य दृश्य हराउँछ, तब भित्रको दृश्य खुल्छ । कामको थकान, सम्बन्धको चिसोपन, मनको बोझ यी सबै अन्धकारमा झनै स्पष्ट देखिन थाल्छन् । आँखाले केही नदेख्दा हृदयले सबै देख्न थाल्छ । शायद यसैले अन्धकार कहिलेकाहीँ डर लाग्दो होइन, बरु शुद्ध पार्ने शक्ति हो । त्यो समय हो, जब हामी ‘देखिने’ दुनियाँको भ्रमबाट अलग भई ‘सुनिने’ जीवनको गहिराइमा पसेर आफैँसँग भेटिन्छौं ।

शून्यमा पनि जीवन हुन्छ अन्तर्यात्रा गर्ने, आफैँसँगको सम्बन्ध गाँस्ने र त्यो मौनतामा पनि अर्थ खोज्ने । अन्धकार, अन्ततः दृष्टिको अन्त होइन, अनुभूतिको आरम्भ हो । त्यसका लागि हामी सबैले प्रश्न गर्नुपर्छ, आवाज उठाउनुपर्छ । सबैभन्दा जरुरी कुरा स्मरण राख्नुपर्छ कि एउटा कर्मचारी फेरिनु केवल व्यक्तिको हेरफेर होइन, यो सिद्धान्त, दृष्टिकोण र निष्ठाको परीक्षाफल हो । दिइरहेको कुनै सुविधा वा बलिरहेको बत्ती कटौती गरिँदा कालो छायाले पनि तर्साउन थाल्छ । जीवनधाम तहसनहस हुन थाल्छ भन्ने कुराको ख्याल गर्नुपर्छ । त्यो परिवर्तन होइन, अस्तव्यस्तता हो । फेरिँदैन कहिल्यै लय, फेरिन्छ केवल अनुहार । भनौं नीति जस्ताको तस्तै, निर्णय त्यहीँ पुरानै । तर फेरिएको देखाएर अन्धकारलाई नै सामान्य बनाउने चलन चलेको छ ।

अब प्रश्न उठ्छ, के यस देशमा कहिल्यै बिजुली जानै छाड्छ ? कि हामी सधैँ अन्धकारमा बाँच्नै बानी परेका छौँ ? के अब हामीले लोडसेडिङको तालिका हेरेर काम गर्नुपर्ने अवस्था आउँछ ? के हामीले उज्यालोलाई मात्र देख्न सिकेका छौँ, तर त्यसलाई जोगाउन कहिल्यै सोच्दैनौँ ? अथवा के उज्यालो आफैँ हामीबाट डराउन थालेको हो ? उज्यालोलाई हामीले किन निरन्तरता कायम राखिराख्न सक्दैनौं कि जान्दैनौं कि वा बुझ पचाएर जनतामा कालो दिनको बोझ बोकाउन मन पराउँछौं?

बिजुली जाने यो चलन केवल प्रविधिको समस्या होइन, यो चेतनाको प्रश्न हो । जबसम्म हाम्रो चेतना प्रज्वलित हुँदैन, तबसम्म यो देश उज्यालोको सपना देखिरहनेछ र हरेकचोटि अन्धकारलाई नियति ठानिरहनेछ । चलनचल्तीबाटै बिरानिइसकेका टुकी, टर्चलाइट खोजेर अँध्यारो भगाउने क्षणिक उपाय पनि कतिन्जेलका लागि हो र ?

यसैले अब ट्रान्सफर्मर, पोल वा तारको मर्मत होइन, आवश्यक छ सोचको मर्मत, संस्कारको जडान र सिस्टमको फेरबदल । तब मात्र त्यो दिन आउनेछ जब न रुख ढल्दा, न पानी पर्दा, न कर्मचारी बदल्दा, न चोरी हुँदा बिजुली जाँदैन, देशमा उज्यालो निरन्तर बास बस्छ । अँध्यारो आएर कसैले अन्धो हुनुपर्दैन । अँध्यारोमा कसैले छामछुम गर्दै हिँड्नुपर्दैन । त्यसपछि अन्धकारको विरुद्ध उज्यालोले व्यापार गरेर अनावश्यक पैसा कुम्ल्याउन पनि पाउँदैन ।

जलस्रोतको दृष्टिले धनी मानिने हाम्रो देश, जहाँ पातपातमा पानी झर्छ । जहाँ हिउँ पग्लिएर, मुहान फुटेर पनि कलकल सफा पानी बग्छ । जहाँ झरना र खोलाको वेगले संगीत गुञ्जाउँछ । त्यही पानीको जगेडाले बिजुली निकालिएको छ । तर निकालिएको बिजुलीमाथि राजनीति हुन्छ । जनताको ढाड सेक्ने प्रपञ्च रचिन्छ । त्यही देशमा जब रात पर्छ, अन्धकारको व्यापार शुरु हुन्छ ।

जलस्रोतको दृष्टिले धनी मानिने हाम्रो देश, जहाँ पातपातमा पानी झर्छ । जहाँ हिउँ पग्लिएर, मुहान फुटेर पनि कलकल सफा पानी बग्छ । जहाँ झरना र खोलाको वेगले संगीत गुञ्जाउँछ । त्यही पानीको जगेडाले बिजुली निकालिएको छ । तर निकालिएको बिजुलीमाथि राजनीति हुन्छ । जनताको ढाड सेक्ने प्रपञ्च रचिन्छ । त्यही देशमा जब रात पर्छ, अन्धकारको व्यापार शुरु हुन्छ ।
बिजुली जानु अब कुनै अनौठो घटना होइन । ‘लोडसेडिङ’ को आदत हामीलाई यति गहिरो परेको छ कि अँध्यारो देख्नेबित्तिकै बत्ती फर्किने आशामा आँखाले घडी हेर्छ, कानले ट्रान्सफर्मरको आवाज सुन्छ र मनले लामो सास फेर्छ । तर यथार्थ के हो भने, जलस्रोतले भरिएको देशमा पानी बग्छ । तर बत्ती बल्दैन ।

कलकारखाना, जुन देशको अर्थतन्त्रको मेरुदण्ड हुन सक्थे, अन्धकारले घिसार्दै लगेको हुन्छ । जब मोटर चल्दैन, जब मेसिन थपक्क थन्किन्छ, तब रोजगारीको रेखा मेटिँदै जान्छ । हजारौं हात बेरोजगार भई घर फर्किन्छन् । अनि यति धेरै पानी भएर पनि देशको उत्पादन खडेरीले सुकेझैँ सुख्खा भएर सुक्छ । अन्धकारको आधिपत्यले काम तमाममा बाधा पार्छ । आज सकिने काम भोलि हुन पनि मुस्किल पर्छ । समय त्यत्तिकै खेर जान्छ । मान्छे अल्छीको दास हुन पुग्छ । सिर्जनशीलता मर्न थाल्छ ।

उत्साहमय ऊर्जामा माकुराले जालो हाल्छ । कार्यालयका फाइलहरू अड्किन्छन्, कम्प्युटरका स्क्रिनहरू अन्धकारमा हराउँछन् । निर्णयहरू ढिलाइ हुन्छन्, नीति बनाउनेहरू निष्क्रिय हुन्छन् । अनि यो शून्यताभित्र इन्भर्टरको व्यापार एक व्यापार चम्किन्छ । इन्भर्टरको माग आकाशिन्छ । बजारमा यिनको मोल झनै महँगो हुन्छ, नाफा उठाउँछ । जसको बिजुली नहुनुमा प्रत्यक्ष लगानी छैन, तर उसैले पूरा लाभ उठाउँछ । इनभर्टर आयातकर्ता, व्यापारी र विदेशी कम्पनीहरू अन्धकार बेच्न पाएर मुुस्कानमा हुन्छन् ।

परन्तु घाटा कसको ? घाटा त्यो किसानको, जसको ट्युबवेल बिजुली नपाएर थलिन्छ । घाटा त्यो विद्यार्थीको, जसको किताब टुकीको उज्यालोमा मुस्किलले देखिन्छ । घाटा त्यो युवाको, जसले इन्टरनेटको भरमा नयाँ ज्ञान सिक्न चाहन्छ । घाटा त्यो साना–मझौला उद्योगीको, जसले न रोजगारी दिन सक्यो, न फाइदा उठाउन पायो । घाटा त्यो राष्ट्रको, जसको गर्व थियो– ‘हामी जलस्रोतमा धनी छौँ ।’

अन्ततः धन त छ, तर व्यवस्थापनको अभाव छ । स्रोत त छ, तर सोचको अपुग छ । खोलाहरू त बगिरहेका छन्, तर हाम्रो नेतृत्वमा चेतनाको निकास छैन । यद्यपि गफको कमी छैन । कोही भन्छन्– लोडेसडिङ भारतले हटाएको हो । कसैले जश नलिए हुन्छ । कोही भन्छन्– लोडसेडिङ मेरै कारणले हटेको हो, यसमा कसैले मैले हटाएको भनेर झुटो नबोले हुन्छ ।

आखिर हामी अन्धकारमा बाँच्न सिक्दै छौँ । तर त्यो बचाइ जीवन होइन, अस्तित्वको नाममा आत्मसमर्पण हो । बिजुली बग्ने खोलाहरू, अनि थलिएका उद्योगहरू, सञ्चार सुविधाबाट वञ्चित समुदायबीच अब प्रश्न उठ्छ । के हामी जलस्रोतका मालिक हौँ वा अन्धकारका उपभोक्ता ? जबसम्म उज्यालोका ठेकेदारहरू इन्भर्टर बेच्नेलाई हेरेर देशको नाफा नाप्छन्, तबसम्म अन्धकारकै ऊर्जा चलिरहन्छ । पानी बगिरहन्छ । उज्यालोले अँध्यारोलाई ज्योर्तिमय पार्ने दिन टाढिँदै जान्छ ।

नेपाल जलका स्रोतले भरिपूर्ण, तर प्यासले प्याकप्याक्ती जनताको पीडामा डुबेको एक अनौठो देश । खोलानाला विनारोकावट बगिरहेका छन्, कहिले त उपत्यकाका कुना–कन्दरामा बेवास्ताजस्तै गरेर झरिरहेका छन् । कहिले ती पहाडका काख चिरेर समथरतिर लम्किरहेका छन् । तर ती सबै बगाइको कुनै उपयोग छैन । न कुनै सिँचाइ, न कुनै सरसफाइ, न कुनै ऊर्जा । सत्तामा बस्नेहरूका योजनाको अभाव, सोचको संकुचन र कामको कमजोरीले ती पानीका धाराहरू केवल बग्ने रमिता बन्न पुगेका छन् । कति ठाउँमा बगाएर प्रकृति र जीवनकै विनाश पनि गरेका छन् ।

रमणीय, सुन्दर तालहरू छन् । तर सुन्दरतालाई कामको उपयोगमा बदल्न नसक्दा, ती पनि बस तालमै जमिरहेका छन् । मेची, कोशी, गण्डकी, कर्णाली ती गड्गडाउने छालहरू हामीलाई स्मरण गराउँछन् कि हामी पानीमा धनी हौँ । तर ती नदीनालामा बगेका अवसरहरू, योजनाहीनताले बगेका सपनाहरू हुन् ।
यो कस्तो विडम्बना ! पानीको देशमा प्यासको त्रास । काठमाडौंका गल्लीदेखि तराईका टोलसम्म पानीको लागि हाहाकार छ । धारामा झर्न नसकेको पानी, ट्यांकरको पानी किनेर ट्यांकी भर्नुपर्ने दिन । सस्तो मूल्यमा न आउँदो पानी अब सुनजस्तै महँगो भइरहेको छ । जब पानी पाइँदैन, प्यास त लाग्ने नै भयो । तर त्यो प्यास मात्र प्यासको होइन, त्यो प्यास हो व्यवस्थाको, त्यो प्यास हो विकासको, त्यो प्यास हो समृद्धिको !

घरभित्र अन्धकार छ । अघोषित ‘लोडसेडिङ’ ले बालबालिकाको पढाइ रोकिएको छ, अस्पतालमा औजार चल्दैनन्, उद्योग ठप्प छन्, अनि जनताको धैर्यताको परीक्षा लिइरहिएको छ । यस्तो अवस्थामा हामी विकसित देशको उकालो फड्को मार्दैछौं कि पाषाण युगतिर ओरालो झर्दै छौं ? के हामी यत्तिकै सहिरहने हो ? खोला बग्दाबग्दै अर्कैको जलसम्पदा हुन पुगेका छन् । तालको पानी थुनिदै थुनिएर सुक्न थालेको छ । जनताको प्यास झन्–झन् तिखारिँदै गएको छ । खै, कहिले आउला त्यो दिन जब खोलानालाको बगाइ योजनामा बाँधिनेछ ? तालको पानी उपयोगको निम्ति चलाइनेछ ? बिजुलीले घरघरमा उज्यालो दिनेछ ? जनताको अनुहारमा साँचो अर्थमा उज्यालोको सौन्दर्यमय सन्तुष्टि झल्किनेछ ? रोकिएका कामहरू सुचारु हुनेछन् । सर्वत्र खुशीको उत्सव मनाइनेछ ।

नेपालले आफ्नो पानी चिन्नुपर्छ स्रोत होइन, शक्ति हो यो । त्यो शक्तिबाट जनताले प्रत्यक्ष फाइदा लिन सक्दा सार्थक हुन्छ । अन्यथा पानीको देशमा प्यास सधैँ एक त्रासदीको कथा बन्दै जान्छ । बिजुली गइरहने देशको पहिचानमा विश्वमै लाजमर्दो नाम कायम रहन्छ ।