बागलुङमा वसन्त नै बस्न खोज्छ लोलाएर


निर्माणाधीन फिल्म माइतीघरको शीर्ष गीत बागलुङको कालिका मन्दिरमा छायांकन गरिएको छ।
५९ वर्षअघि निर्मित फिल्म माइतीघरको नाममा निर्माणाधीन सो फिल्मको कालजयी गीत वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर बाग्लुङको कालिका मन्दिरमा छायांकन गरिएको हो।

गीतमा पहिलेको माइतीघरका गीतकार किरण खरेलकै शब्द रचना र जयदेवकै संगीत रहेको छ भने नयाँ भर्सनका लागि सञ्जीवनीको स्वर रेकर्ड गरिएको छ। गीतको भिडियो कमल राईले कोरियोग्राफी गरेका छन्। भिडियोमा फिल्मका नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाले नृत्य गरेका छन्। उनीहरूसंगै ५० बढी कोरसलाई फिचरिङ गरिएको फिल्मका निर्माता रोहित अधिकारीले जानकारी गराए।

फिल्म आगामी दशैंको फूलपातीबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। मिलन तामाङले निर्देशन गरिरहेको फिल्ममा तामाङ संस्कृतिलाई समावेश गरिएको छ। रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङद्वारा निर्माणाधीन फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरिरहेका छन् भने सुसन प्रजापतिको छायांकन रहेको छ। ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्मको छायांकन म्याग्दीको ताकम र धारापानी गाउ“मा गरिएको छ।