बाबुछोराको गोलले दोहोरिएको इतिहास

0
Shares

२५ वर्ष अघि अर्थात् सन् २००० को गर्मीयाममा पोर्चुगल र जर्मनी आमनेसामने भिडिरहेका थिए । प्रतियोगिताको नाम थियो युरो २००० । समूह चरणको एक महत्वपूर्ण खेल भएको त्यो दिन पोर्चुगलका एक जुझारु विंगर सर्जिओ कोन्सेइसाओ मैदानमा टल्किए । उनले जर्मनीविरुद्ध ह्याट्रिक गोल गर्दै पोर्चुगललाई ३–० को ऐतिहासिक जित दिलाए । त्यो क्षण, त्यो गौरव, त्यो जित समयसँगै पुरानो भयो, तर सम्झनामा अमर रह्यो । त्यसको २५ वर्षपछि उही जर्मनी, उही पोर्चुगल आमने सामने थिए । फरक थियो त केवल समय, खेलाडीको नाम र प्रतियोगिता ।

बुधबार राति यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पोर्चुगल फेरि जर्मनीसँग भिड्दै थियो । खेलको शुरूवाती समयमा पोर्चुगल १–० ले पछि प¥यो । त्यसैक्रममा एक नयाँ नायक तयार हुँदै थियो, फ्रान्सिस्को कोन्सेइसाओ । उनी त्यही २५ वर्षअघिका नायक सर्जिओ कोन्सेइसाओका छोरा हुन । दोस्रो हाफमा बेन्चबाट मैदानमा उत्रिएका फ्रान्सिस्कोले जर्मनीको गोलपोस्टमा आगो लगाइदिए, एक विश्वस्तरीय गोल गरेर । आत्मविश्वासले भरिएको, कलाले सजिएको, इतिहास बोकेको थियो त्यो गोल ।

त्यसपछि रोनाल्डोले दोस्रो गोल थपेपछि पोर्चुगलले खेलमा २–१ को जित निकाल्यो । अनि २५ वर्षपछि फेरि एकपटक जर्मनीविरुद्ध बिर्सिसकेको जितको स्वाद चाख्यो । यो केवल जित मात्र थिएन, यो थियो समयको एक अद्भुत चक्रव्यूह । २५ वर्ष अघि बुवाले बनाएको इतिहास, छोराले दोहो¥यायो । त्यो पनि जर्मनीविरुद्धकै निर्णायक खेलमा । खेलमा “म्यान अफ द म्याच” घोषित भए फ्रान्सिस्को । संसारभरका फुटबल प्रेमीहरूमा नयाँ सन्देश प्रवाह भयो । यो घटनाले कुनै फिल्मको स्क्रिप्ट झैँ अनुभव गराउँछ, तर यो दुई पिँढीको एउटा दुर्लभ संयोग हो । फुटबल कहिलेकाहीँ खेल मात्र हुँदैन, इतिहास, भावना र वंशको संवाद पनि बन्ने गर्दछ ।

को हुन् त फ्रान्सिस्को कोन्सेइसाओ

२२ वर्षीय फ्रान्सिस्को पोर्चुगलका एक होनहार विंगर हुन् । एफसी पोर्टोबाट युभेन्टसमा ऋणमा गएका उनी आफ्नो गतिशील खेलशैली, ड्रिब्लिङ र आत्मविश्वासका कारण चर्चामा छन् । ‘सीआईईएस अब्जर्बभेटरी’ ले उनलाई युरोपका “नन–बिग फाइभ लिग” का उत्कृष्ट ड्रिब्लरमध्ये एक भनेर सम्मान दिएको छ । उनको नाम अहिले युरोपियन च्याम्पियनसिप २०२४ मा चेकियाविरुद्ध अन्तिम क्षणमा गरेको गोलका कारण पनि छाएको छ । तर, जर्मनीविरुद्धको गोल एउटा व्यक्तिगत जित मात्रै होइन, एक पिंढीले अर्को पिंढीलाई चुमेको गौरवपूर्ण क्षण थियो ।