सुशीलले एकसाथ ल्याए २ गीत


गायक तथा संगीतकार सुशील विश्वकर्माले राजधानीमा आयोजित एक कार्यक्रमका बीच एक साथ दुई गीत सार्वजनिक
गरेका छन्।ख्यातिप्राप्त गायिका मिरा राणा र संगीतकार दीपक जंगलले उनका दुई गीत पछ्यौरीको छेउ र भुतुक्क भएँ नी भिडियोसहित सार्वजनिक गरेका हुन्। दुबै गीतको भिडियो गायक एवम् संगीतकार सुशीलकै युट्युब च्यानलबाट अपलोड गरिएको छ। रोमाञ्चक भावको भुतुक्कै भएँ नीमा सुशीलको संगीत, राजेश गुरुङको रचना र महेश थुलुङको स्वर रहेको छ भने यसको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीले अभिनय गरेका छन्।

अर्को गीत पछ्यौरीको छेउमालाई सुशीलले नै गाएका छन् भने गायनमा बिबी अनुरागीले साथ दिएका छन्। हेमन्त विवशले रचना गरेको गीतको भिडियो नदी किनारमा गिट्टी कुटेर जीवन यापन गरिरहेका मजदुरको व्यथामा आधारित छ। गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ र श्रेया नापितले अभिनय गरेका छन्। दुबै गीतको भिडियो कृष्ण रसालले निर्देशन गरेका छन् भने केशव कोइरालाकोे कोरियोग्राफी तथा राजेन्द्र पाण्डेको छायांकन र सम्पादन गरेका छन्।

कार्यक्रममा भिडियोका निर्देशक कृष्ण रसालले दुई फरक शैलीका गीतको निर्देशन गर्दा भिन्न अनुभव भएको बताए। चार दशकदेखि गायन, संगीत र बाँसुरी वादनमा रहँदै आएका सुशीलले यसपटक निकै राम्रो गीत गाएको चर्चा उनले गरे। गायक एवम् संगीतकार सुशील विश्वकर्माले अमेरिकामा रहँदै आए पनि संगीत सृजना र गायनलाई निरन्तरता दिने बताए।

गायिका लोचन भट्टराईले सुशीलको गायनको प्रशंसा गरिन् भने गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सुशीलको संगीत र गायन दुबै राम्रो भएको बताए।गायिका मिरा राणाले सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको चर्चा गरिन् भने संगीतकार दीपक जंगमले सुशीलले सुन्दा आनन्द आउने गीत बजारमा ल्याएको चर्चा गरे।

Skip This