प्रेमध्वजको जन्मजयन्तीमा उनकै जन्मथलो चौतारामा कार्यक्रम गरिने

प्रेमध्वज सम्मान १ लाखसहित मीरा राणालाई


ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको स्मृतिमा स्थापित गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा प्रदान गरिने स्रष्टा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम यस वर्ष उनकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा गर्ने भएको छ।

प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको बैठकले यस वर्ष सो कार्यक्रम आगामी जेष्ठ २७ गते मङ्गलबार आयोजना गर्ने निर्णय गरेको छ। सांगीतिक प्रस्तुतिका साथ हुने कार्यक्रममा प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ एक लाख एक रुपियाँसहित ख्यातिप्राप्त गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

त्यसै गरी प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङगीत सम्मान ०८२ नगद ५० हजार रुपियाँसहित यस वर्ष वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई प्रदान गरिने भएको छ। त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२ नगद ५० हजार रुपियाँसहित यस वर्ष गायक सुरज कुमार थापालाई प्रदान गरिने भएको छ। प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केका अनुसार प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार २०८२ नगद २५ हजार रुपियाँसहित सिन्धुपाल्चोकबासी गायक चन्द्र सिं घलेलाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

Skip This