सपना बोकेर संसार घुम्दै एउटा भूतपूर्व गोर्खा


खोटाङको सामान्य परिवारमा जन्मिएर गोर्खा सैनिकबाट व्यावसायिक जीवन सुरु गरेका भीम राई अवकाशप्राप्त गोर्खा सैनिक हुन्,
हाल इंग्ल्यान्डमा बसोबास गर्दै आएका राईको अवकाशपछि जीवनको दोस्रो चरणलाई यात्राको खोज, ज्ञानको संकलन र अनुभवको साझेदारीमा समर्पित गर्दै नयाँ ठाउँ, संस्कृति र अनुभवप्रतिको मोहमा बाँधिएर विभिन्न देश, ऐतिहासिक स्थल, धार्मिक गन्तव्य, सांस्कृतिक केन्द्र र प्राकृतिक सुन्दरताको रस्वादन गर्ने रुची छ । राईले यात्रामार्फत् गन्तव्यको यथार्थ चित्रण र सूचना दिने उद्देश्यले सामाजिक सञ्जालमा छोटा भिडियोमार्फत यात्रा वर्णन गर्ने अभ्यास सुरु गरेका छन्, त्यो नेपाली समाजमा लोकप्रिय हुँदै गएको छ ।साधारण जीवनशैली, सीमित स्रोत र सस्तो बजेटमा यात्रा गर्ने उनको शैली प्रेरणादायी छ । यात्राबाट सिकाइ र सन्देश बाँड्ने ध्येय राख्ने राईको यात्राबाट विभिन्न देशको भाषा, धर्म, खानपान, संस्कृति र आर्थिक संरचना बुझ्न सकिन्छ । उनले नियात्रालाई यात्रा साहित्यको प्रभावकारी माध्यम मानेका छन्, जसले पाठकलाई आफू पुगेका स्थानको सँगै भ्रमण गरेको अनुभव दिन्छ । उनका अनुभव र अनुभूतिहरूका विषयमा न्युज अफ नेपालका लागि
राजु श्रेष्ठले गर्नुभएको कुराकानी ।

आफ्नो परिचय संक्षिप्त परिचयसहित तपाईंको यात्राका बारेमा खुलाउनुहोस् ?

मेरो नाम भीम राई हो । खोटाङको बुईपास्थित विपन्न परिवारमा जन्मेको व्यक्ति हुँ । रोजगारीका सिलसिलामा म बेलायती सेनामा भर्ती भई अहिले अवकाश प्राप्त जीवन बिताइरहेको छु । नयाँ–नयाँ ठाउँको भ्रमण गर्ने र त्यसको बारेमा जानकारी राख्ने मेरो रुचीको हो । स्वदेशमा म पूर्व–पश्चिम राजमार्ग भई मेचीदेखि महाकालीसम्म पुगेको छु । तर, विश्वका त्यति धेरै स्थानमा पुगेको छैनन् । तथापि, मनमा जहाँ–जहाँ जान रहर लाग्यो ती स्थानहरुमा चाहिँ पुग्न सकेको छु भन्दा खासै फरक नपर्ला ।

तपाईं यात्रासँगै भिडियो प्रस्तुति दिनुको मुख्य कारण के हो । र, तपाईंले यात्रा वर्णन कसरी सुरु गर्नुभयो ?

हिजोआज मानिसको हात हातमा मोबाइल फोन छ । अधिकतम् मानिस कुनै न कुनै रूपबाट सामाजिक सञ्जालमा जोडिएका हुन्छन् । छोटा–छोटा भिडियो क्लिपहरु बनाएर सामाजिक सञ्जालमा राखियो भने कसै न कसैले हेर्छन्, एकातिर आफ्नो भ्रमणको संग्रह पनि हुने अर्कोतिर नगएका मानिसलाई पनि त्यो ठाउँको बारेमा केही जानकारी हुन्छ भन्ने मेरो बुझाइ हो । मैले १५–१६ वर्ष अगाडिदेखि नै युट्युबमार्फत् यात्रा वर्णन सुरु गरेको थिएँ ।

यात्रा सुरु गर्ने निर्णयमा तपाईंलाई प्रेरित गर्ने कुनै विशेष घटना वा व्यक्ति थियो कि ?

मैले गाउँकै विद्यालयमा पढेँ । त्यो विद्यालयमा एकजना अमेरिकन महिला पिसकोर भन्ने संस्थाबाट आएकी थिइन् । उनी अमेरिकादेखि खोटाङको गाउँसम्म आएर शिक्षण गरेको देख्दा म छक्क पर्थे । पछि मैले के चाल पाए भने उनी नेपालको गाउँ हेर्न र अनुभव गर्ने सोचले त्यहाँ आएकी रहेछिन् । उनीबाट म प्रेरित भई मानिसले केही नयाँ कुरा जान्नको लागि विभिन्न ठाउँमा पुगेर त्यहाँको अनुभव गर्नुपर्छ भन्ने लाग्योे ।

तपाईंले भ्रमण गर्ने गन्तव्य र प्रस्तुतिको विषयवस्तुको छनोट कसरी गर्नुहुन्छ ?

म प्रायःजसो राजनीतिक, धार्मिक, भौगलिक, ऐतिहासिक, कला, साहित्य, संगीत र पुरातात्विक महत्वका स्थानहरु छान्ने गर्छु । जस्ले गर्दा त्यहाँ पुगेर केही ज्ञान आर्जन गर्न सकौं भन्ने मेरो मुल उद्देश्य हो । र, साथै त्यो ज्ञान सन्ततिहरुलाई पनि बाँड्न सकौं भनेर ती स्थानको छनोट गर्छु । उदाहरणको लागि राजनीति शास्त्रको उद्गम भूमि आक्रापोलिस एथेन्स पुगेको छु । जहाँ सोक्रोटिस, प्लेटो र अरिस्टोटलहरूको विषयमा सिक्ने अवसर पाएँ । धार्मिक स्थलहरुको कुरा गर्नु हुन्छ भने लुम्बिनी, बिन्द्रा वन, जेरुसेलम, भ्याटिकन सिटी र बेत्लेहम पुगेको छु । जस्ले गर्दा धर्म के हो र के कुनै मानिसलाई भगवान मान्न सकिन्छ ? भन्ने विषयमा केही जान्ने अवसर त पाएँ । तर, पूर्ण ज्ञान पाउन अहिलेसम्म सकेको छैन् । त्यस्तै भौगलिक स्थानहरु नायाग्रा फल्स, ग्रेट वाल, ग्रेट पिरामिड, ग्रान्ड क्यानन, पानामा नहर, पुलपिट ढुंगा, जाङजाच्चे र टिटलिस पर्वत स्वीट्जरल्यान्ड पनि पुगेको छु । ती स्थानमा पुग्दा मन शान्त हुन्छ । साहित्यतर्फ सेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनदेखि कलामा लियो नार्डो दा भिन्सी, राफेल र माइकल एन्जेलोको सहर फ्लोरेन्स पुगेको छु । तिनै फ्लोरेन्स सहरमा आधुनिक राजनीति शास्त्रका पिता निकोल म्याकाभेलियाको पनि जन्म भएको थियो । त्यहाँदेखि जेनेभा पुगेर क्रिष्टोफर कोलम्बसको जन्मघर हेरेको छु । संगीतमा बिटल्सको सहर लिभरपुलदेखि आब्बाको संग्र्राहलय स्टकहोमसम्म पुगें ।

यात्राका निम्ति आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?, प्रायः पारिवारिक सदस्यसँग घुमफिर गर्नुभएको हुन्छ, भ्रमणमा वार्षिक कति खर्च हुन्छ ?

म एकदम बजेट ट्राभलर हुँ । छ महिनासम्म सानो तिनो काम गर्छु । त्यसपछि एक हप्ता वा दुई हप्ता घुम्न बाहिर निस्कन्छु । यो प्रक्रिया हरेक वर्ष दोह¥याई रहन्छु । खर्च व्यवस्थापन ज्यादै जटिल प्रश्न हो । किनभने खर्च धेरै पनि गर्न सकिन्छ, थोरैमा पनि व्यवस्थापन गर्न सकिन्छ भन्ने मेरो मान्यता छ । तर, म कुन समयमा कहाँ जाने, के हेर्ने र के खाने भनेर कुरा पहिले नै बजेट मिलाएर घुम्न निस्कन्छु । तथापि, हरेक वर्ष यति नै खर्च हुन्छ भन्ने यकिन छैन । संसारको सबैभन्दा प्रतिष्ठित होटलहरू जस्तैः बर्ज अल अरब दुबई, भेनेसन मकाउ, पेनिन्सुला हङकङ, डोरचेष्टर लन्डन, मेना हाउस कायरो, राफेल सिङगापुर, बालाजियो वा सिजर प्यालेस लस भेगाजमा कमसेकम मध्यान्हको चिया पिउनको लागि भए पनि पुगेर होटलको वातावरणसँग घुलमिल भएको अनुभव छ ।

सधैं खर्च मात्रै हुन्छ कि केही आम्दानी पनि गर्नुभएको छ ?

खर्च गर्ने उद्देश्य लिएर घुम्न निस्कँदा कसरी आम्दानी हुनु र ? तर, जीवनमा एउटा कुरा के याद गर्नुपर्छ भने सित्तैमा कसैले केही दिँदैन र सजिलो पनि केही छैन ।
तपाईं आफ्नो यात्रा साहित्यको लेखनशैली र दृष्टिकोणलाई कसरी परिभाषित गर्नुहुन्छ ?

सबै मानिसलाई संसारका सबै स्थान पुग्ने अवसर प्राप्त हुँदैन । किनभने यात्राको लागि मुख्यतया तीन चिजको आवश्यकता पर्छ । पैसा, समय र रहर । सबै मानिसलाई ती सबै कुरा एकैपटक जोहो गर्न मुस्किल पर्छ । अब आफू जाने अवसर नमिले पनि त्यहाँको विषयमा सुनेका मान्छे धेरै हुन्छन् । उनीहरुले मनमनै यस्तो होला भनेर कल्पना गरेका हुन्छन् । त्यहाँ पुगेका मानिसले त्यस स्थानको विषयमा लेखेको पुस्तक छन् भने धेरैले पढ्न रुचाउ छन् भन्ने मलाई लाग्छ । जहाँसम्म लाग्छ, यात्रा साहित्य हजारौ वर्ष पहिलेदेखि नै सुरु भएको थियो । यात्रा साहित्य लेख्दा मलाई स्मंरणभन्दा नियात्रा राम्रो हुन्छ जस्तो लाग्छ । किनभने नियात्रामा वर्तमान कालको प्रयोग गरेर आफूसँगै पाठकलाई पनि ती स्थानको भ्रमण गराउन सकिन्छ ।

तपाईंले प्रारम्भमा भ्रमण गरेको देश वा स्थान कुन हो, र, त्यसले तपाईंको दृष्टिकोणमा कस्तो प्रभाव पा¥यो ?

म बेलायती गोर्खा सैनिक क्याम्प धरान (रेक्रुटिङ डेपो) मा सन् १९८४ मा सेनामा भर्ती भएको थिएँ । त्यसपछि तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाज बोइङ ७०७ चढेर काठमाडौं विमानस्थल गौचरदेखि दमदम अन्तर्राष्ट्रिय विमानस्थल कलकता पुगेको थिएँ । त्यहाँ पुगेपछि मैले जीवनमा पहिलोपटक दुई वटा कुरा चाल पाएँ । पहिलो कुरा रातिमा पनि त्यति धेरै गर्मी हुने रहेछ, दोस्रो नेपालमा जहाजको इन्धन नपाइने रहेछ, त्यो भारतदेखि आयात गर्नुपर्ने रहेछ । त्यसपछि विमान हङकङको काइटक विमानस्थलमा उत्रन लाग्दा पनि फेरि दुई वटा कुराबाट प्रभावित भएँ । पहिलो कुरा अतिधेरै पानी अर्थात् समुन्द्र र दोस्रोे गगनचुम्बी घरहरू । नेपालको दुर्गम गाउँबाट एकैपटक संसारको विकसित शहरमा पुग्दा वास्तवमा म मान्छे त रहेछु तर अहिलेसम्म जंगलीनै रहेछु कि भन्ने भान परेको थियो ।

बाल्यकाल, व्यावसायिक जीवनका अनुभवले यात्रा र साहित्यप्रतिको तपाईंको रुचिलाई कति प्रभावित ग¥यो ?

बाल्यकालमा थोरै अध्ययन थियो । केही अनुभव थिएन । पछि सैनिकमा जागिर खाँदा कुमालेको काँचो माटोजस्तै थिएँ । जस्तो आकार दिन खोज्यो त्यस्तै बन्थे । सैनिक घर र नागरिक घर चुम्बकका दुई फरक ध्रुबजस्तै हुन् । राजनीतिक भाषामा भन्नु पर्दा पुँजीवाद र साम्यबादजस्तै । सैनिक घरमा आफूले केही सोच्न जरुरी थिएन र पाइँदैन पनि । केबल कमान्डरले भनेको मान्दा पुग्थ्यो । त्यसैले जिन्दगीको वास्तविक परिभाषा खासै बुझ्न सकिएन । जवान थिएँ, साहित्यमा अलि–अलि रुचि थियो । तैपनि त्यति धेरै लेखपढ गर्न समय हुँदैनथ्यो । युधिर थापा र प्रकाश कोविदका उपन्यासहरु पढिन्थ्यो । पछि अलिक समय छिप्पिदै गयो । नयाँ–नयाँ स्थानमा पुगियो । त्यसपछि धेरै पुस्तकका पानाहरू पल्टाउन थालियो । समय र परिस्थिति अनुसार रुचीहरु पनि बढ्दै र फेरिँदै फेरिँदै गए ।

भ्रमणका क्रममा विकासोन्मुख र विकसित देशमा देखिएको आर्थिक संरचनाका मुख्य भिन्नताहरू के–के थिए ?

भौतिक संरचनाको कुरा गर्दा धेरै भिन्नताहरु छन् । एउटै पृथ्वीमा दुई वटा संसारजस्तै । धेरै टाढा जान पर्दैन । काठमाडांैदेखि विमान चढेर लगभग तीन घन्टा यात्रा गरेर बैंकक वा छेङ्दु जानोस् बिलकुल अर्कै संसार छ । तर, त्यसको ठीक विपरित लन्डन, पेरिस, बर्लिन वा न्युयोर्कदेखि काठमाडौं आउनोस् झनै अर्कै फरक संसार छ । एउटा गरीब देशबाट दुबई नै पुग्नोस् न । त्यहाँ पुगेर त्यहाँको मानवीय संरचनाहरु देख्दा मानिसको दिमागले जस्तो सोच्यो त्यस्तै हुनेरहेछ, भन्ने लाग्छ ।

पर्यटन, कृषि वा स्थानीय उद्योगले त्यस देशको आर्थिक विकासमा कस्तो भूमिका खेलेको देख्नुभयो ?

मलाई जहाँसम्म लाग्छ, उद्योगधन्दाले मात्रै देशले फड्को मार्न सक्छ । त्यसका लागि धेरै देश उदाहरण छन् । तथापि, पर्यटनले पनि केही भूमिका निर्वाह गर्नसक्छ भन्ने आफ्नै आँखाले देखेको छु । नेपालको कृषिमा चाहिँ मलाई किन किन शंका लाग्छ ।

भाषा, भोजन, धर्म आदिको विविधताले तपाईंलाई कस्तो दृष्टिकोण दिए ?

निश्चय नै संसारभरिका मानिसले एउटै भाषा बोल्ने भइदिएको भए मानव जीवनलाई जीविकोपार्जन गर्न हरेक कुरामा सजिलो हुन्थ्यो होला । तर, यसमा अंग्र्रेज र स्पेनिसहरु बाहेक अरुले त्यति धेरै कोशिस गरेको जस्तो लाग्दैन । सबै देशले संसारको एउटै भाषा हुनुपर्छ जस्ले गर्दा हरेक कुरामा सजिलो हुन्छ भन्नुभन्दा पनि आफ्नो भाषा बचाउनुपर्छ भन्नेतर्फ मानिस लागे । स्वभावैले मान्छेले आ–आफ्नो भाषा बचाउनपर्छ भन्ने त ठीकै हो । तर, एक देशको भाषा अर्कोले मन नपराएमा समस्या पनि हुने रहेछ । मैले यात्राको क्रममा केही अप्ठ्यारो महसुस गरेको छु । उदाहरणको लागि लन्डनदेखि सबैभन्दा नजिकको अर्को विदेशी सहर भनेको पेरिस हो । ती सहर एक आपसमा रेलदेखि दुई घन्टा मात्रै टाढा छन् । तर, पेरिस पुगेर एक जना फ्रेन्चले पनि अंग्रेजी नबोलेको चाल पाएपछि मलाई भाषाको विषयमा सोचनीय बनायो । अँ ! खानाको विषयमा भने बिलकुल ठीक छ । हरेक देशका खाना फरक–फरक प्रकारका छन् । त्यो एक प्रकारले राम्रै छ । किनभने मानिसलाई हरेक दिन एकै प्रकारको खाना खाँदा वाक्क पनि लाग्न सक्छ । त्यति मनोरञ्जन पनि हुँदैन र सायद स्वस्थकर पनि हुँदैन होला ? संसारमा खानामा विविधता हुन अति नै जरुरी छ । तर, धर्मको विषयमा भरसक म बोल्न चाहन्न । केही भन्न पनि सक्दिन । किनभने संसारका धेरै स्कलरहरुले धर्मको परिभाषा फरक फरक प्रकारले दिएका छन् । खासमा धर्म के हो भनेर ठोस प्रमाणसहित म केही तर्क प्रस्तुत गर्न सक्दिन । यद्यपि, म आस्तिक वा नास्तिक दुवै होइन । किनभने मलाई यिनीहरुको बिषयमा अज्ञानतावादका पिता थोमस हक्सीले भनेझैँ केही थाहा छैन भन्ने नै हुन्छ । त्यसकारण म त्यस विषयमा त्यति खुल्न चाहन्न । तैपनि सोधिहाल्नु भयो । त्यसैले मलाई यहाँनेर एकपटक सोक्रोटिसको भनाइ नै दोहो¥याउँ जस्तो लाग्यो, ‘मलाई एउटा मात्र कुरा थाहा छ, त्यो थाहा छैन ।’

कुनै विशेष उत्सव वा परम्परामा सहभागी हुँदा तपाईंलाई कस्तो अनुभव भयो ?

स्वभावैले मानिस समूहमा बस्न रुचाउँछ । त्यसकारण कुनै पनि उत्सवमा मानिससँग भेटघाट हुँदा विचार आदनप्रदान हुन्छ । त्यो मलाई आनन्ददायक नै लाग्छ ।

यात्राको क्रममा विभिन्न सांस्कृतिक समूहबीचको अन्तरक्रिया गर्नुभएको छ, भने त्यसले तपाईंलाई कस्तो प्रभाव पा¥यो ?
धेरै छन् नि । तैपनि क्लेनेथ्ली वेल्समा छँदा किराँत राईहरुको साकेला नाचसँग फिलिपिनोहरुको बास नाच गरेको राम्रो अनुभव छ । संसारका विभिन्न स्थानमा पुगेर उनीहरुको संस्कृति हेर्न अति नै रमाइलो लाग्छ र कुनै कुनै ज्ञानवद्र्धक पनि हुन्छन् ।

तपाईंले विभिन्न देशको ऐतिहासिक स्थल, स्मारक र संग्रहालयहरूको भ्रमण गर्दा कस्तो अनुभूति भयो ?

कार्लमाक्र्सको चिहान हाइगेटदेखि माओत्सेतुङको जन्मघर साओसान गाउँसम्म पुगेको छु । प्राचीन मिश्रको चर्चित फेरो टुटनखामुनको सामाधिस्थल भ्याली अफ द किङ लक्सरदेखि ममताज महल आग्रासम्म पुगेको अनुभव मलाई छ । मिश्रमा प्राचीनकालमा बनेका रामेसस दोस्रो स्मारक (ओबिलिस्क) देखि रोमन साम्रज्यले निर्माण गरेको रोमको पानथियन अवलोकन गरेको छु । बेलायती संग्राहलय लण्डनदेखि उडेर हर्मिटेज संग्राहलय सेन्ट पिटर्सबर्ग रुसमा पुगेको छु । भनिन्छ, त्यहाँ भएको हरेक चिजलाई एक–एक मिनेट समय दिने हो भने पूरै हेर्न लगभग १२ वर्ष लाग्छ । विश्वका त्यति भीमकाय संग्राहलय र स्मारकहरुमा पुग्दा मलाई स्वर्गीय आनन्दको अनुभूति भयो । जो हरेक मानिसले आफ्नो जीवनकालमा एकपटक गर्नुपर्छ ।

कुनै विशेष ऐतिहासिक स्थलको भ्रमण गर्दा त्यहाँको इतिहासले तपाईंलाई कस्तो अनुभूति दियो ?

क्याथ्योलिक धर्मावलम्वीहरुको पवित्र स्थान भेटिकन पुगेर सिस्टिना च्याप्पलको सिलिङमा माइकल एन्जलोले गरेको पेन्टिङ देख्दा उनका हातको औलाहरु भगवानले दिएको सुन्दर उपहार हो भन्ने अनुभूति भयो । अझ् त्यही पवित्र स्थानमा करेरा मार्वलले निर्माण गरेको भर्जिन म्यारीले आफ्ना वयस्क छोरा जिसस क्राइस्टलाई सूली (क्रुसिफाइड) देखि निकालेर काखमा राखेर बिलौना गरिरहेको रोदनको दृश्य मूर्तिमा देख्दा हरेक मानवको आँखामा आँशु आउँछ भन्ने मलाई लाग्छ । इजिप्टको पिरामिड पुगेर होस वा चीनको ग्रेट वालमा पुग्दा यी बनाउने मानिस कस्ता थिए, को थिए, कति थिए, कतिले अनाहकमा ज्यान गुमाए होलान् ? भन्ने जस्ता वर्षौदेखिको अनुत्तरित प्रश्नमा घोत्लिन्छु ।

पुरातात्विक अवशेष र संरचनाहरूले तपाईंलाई कस्तो प्रश्न वा गहिराइमा पुग्न प्रेरित ग¥यो ?

एउटा कुरा के सत्य हो भने अहिले संसार जुन अवस्थामा छ, यहाँसम्म आइपुग्न अनेकौ घटना घटेका छन् । विभिन्न कालखण्डमा युद्धहरू भएका छन् । र, युद्धले हजारौ हजार वर्ष अगाडि बनेका मानवीय संरचनाहरु नष्ट भएका छन् । तर, मेरो विचारमा मित्र वा शत्रुले होस् । जस्ले जे कुराको निर्माण गरेको भएता पनि त्यसको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ ।

प्राचीन इतिहास र समकालीन समाजबीचको सम्बन्ध बुझेपछि तपाईंले के सिक्नुभयो ?

प्राचीनकालमा विवेकको प्रयोग हुँदैनथ्यो । बलको प्रयोग गरेर मानिस एक अर्कामा लडाई झगडा गर्थे । अहिले समय परिवर्तन भएको छ । मानिसले कसरी पैसा कमाउने र आफू धनी हुने वा आफ्नो देश धनी बनाउने भन्ने विचारको विकास भएको छ । तैपनि विज्ञानको चमत्कार छ, यसले मानव जीवनलाई केही राहत मिलेको छ ।

ऐतिहासिक सम्पदाले आधुनिक पर्यटन र स्थानीय जीवनमा भूमिका खेलिरहेको छ भन्ने तपाईं सोच्नुहुन्छ ?

आम्मै, खेल्छ नि । उदाहरणको लागि ग्रिसको आक्रापोलिस एथेन्समा र रोमको कोलिशियममा यति धेरै पर्यटकहरु जान्छन् कि त्यसैको कारणले हजारौ स्थानीयको चुलोमा आगो बल्छ ।

यात्राका क्रममा तपाईंले सामना गरेको कुनै विशेष चुनौती र त्यसलाई पार गर्ने उपायहरू के थियो ?

चीनको हुनान प्रान्तमा जाङजाच्चे भन्ने पर्वत छन् । ती पर्वत सम्भवत प्राकृतिक रुपमा संसारको सबैभन्दा सुन्दरस्थल हुन सक्छन् । एकदिन त्यहाँ एउटा घटना घट्यो । होटलको स्वागत कक्षामा मैले मेरो हाते झोला छाडेर कोठामा पुगेछु । एकछिनपछि चाल पाएर फकिएर गएँ । राखेको स्थानमा मेरो झोला थिएन । जुन झोलामा म र मेरी श्रीमतीको खर्च, क्रेडिट कार्ड र राहदानी थिए । स्वागत गर्नेसँग कुरा गरेर मेरो समस्या सुनाउन मलाई ठूलो चुनौतीको सामना गर्नुप¥यो किनभने उनी अंग्रेजी बोल्न जान्दैन थिइन् । वर्षौ अगाडि सिकेको मेरो म्यान्डरिन भाषा खिया परिसकेको थियो । तैपनि उनलाई मरिमरि बुझाएर सीसीटीभी हे¥यौ । सीसीटीभीको मद्दतबाट कस्ले झोला लगेको रहेछ भन्ने चाल पाएपछि झोला लिन सफल भयौ । हुन त म १८ वर्षको कलिलो उमेरमा घर छाडेर हिँडेको व्यक्ति हुँ । अहिले ६० वर्ष पुगें र अहिलेसम्म हिँडेको हिँडैछु । त्यस अवधिका चुनौतीको विषयमा त नै एउटा पुस्तक बन्न सक्छ होला ।

कुनै यात्रामा भेटिएको व्यक्ति वा अनुभवले तपाईंलाई अत्यधिक प्रभावित पारेको छ भने, त्यसबारे बताउनुहोस् ?

यस्ता घटना धेरै छन् । एकदिन सफायर प्रिन्सेस पानीजहाज चढेर अमेरिकाको लसएन्जलसबाट सान्डियागो जादै थिएँ । यात्राको क्रममा मध्यान्हको चिया पिउन १२औं तलामा पुगेको थिएँ । हवाईबाट घुम्न आएका एक जोडी अमेरिकनसँग एउटै टेबलमा बसाइ भयो । उनीहरु अमेरिकन भएता पनि श्रीमान् जापानिज मूलका र उनकी श्रीमती फिलिपिनो मूलकी थिँइन् । कुरा गर्ने क्रममा पर्ल हारबरमा जापानिजले आक्रमण गरेको कुरा निस्क्यो । उनको बाबु जापानिज भएता पनि दोस्रो पुस्ता हवाईमा बसोबास गर्दै आएका थिए । अमेरिकाले त्यतिबेला जापानसँग युद्ध गर्दा अमेरिकामा बस्ने सबै जापानिजहरुलाई पक्राउ गरी बन्दी बनाएका थिए भन्ने सुनेपछि मलाई निक्कै दुःख लाग्यो । संक्षेपमा भन्दा एउटाले गरेको गल्तीको सजाय अर्कोले पाएको सुन्दा मनभित्र नरमाइलो लागिरहेको थियो ।

तपाईंका लागि सबैभन्दा अविस्मरणीय यात्रा कुन हो र त्यसले तपाईंलाई कस्तो सिकाइ दियो ?

त्यतिबेला नेपालमा माओबादी द्वन्द्वकालको समय थियो । म एकदिन कानुनको विद्यार्थी छोरीलाई लिएर संयुक्त राष्ट्रसंघको कार्यलयको भ्रमणको लागि न्यूयोर्क गएको थिएँ । भवनभित्र एसियाका सबैभन्दा कलिला माओवादी सेना भनेर नेपालका बयस्क नभएका गुरिल्लाहरुको हातमा राइफल समातिरहेका तस्वीरहरु देख्दा अन्तर्राष्ट्रिय जगत्मा बद्नामी भएको भनेर मनमा दुःख लागेको थियो । वास्तवमा यो अविष्मरणीय क्षण त निश्चय पनि हुँदै होइन । तर, मेरो दिमागमा लागेको दुःखद् क्षणको छाप चाहिँ निश्चय नै हो । संयुक्त राष्ट्रसंघमा राखिएको उक्त तस्वीरहरुले हामी कता जाँदै छौं भन्ने कुराले मलाई धेरै पाठ सिकाएको थियो ।

नेपालको र विदेशका यात्राबीचको भिन्नता के पाउनुभयो ?

धेरै फरक छ, नेपालमा यात्रा गर्न एकदम सजिलो छ, आफ्नै भाषा छ । आफ्नै संस्कृति छ, जतासुकै गए पनि भयो । जे खाए पनि भयो । मज्जै मज्जा छ । तर, विदेशको यात्रामा रहँदा निश्चित नियम पालना गरेनौ भने धेरै समस्या आई पर्न सक्छन् । एक प्रकारले भन्ने भने घर नफर्किन्जेलसम्म तनाव भइरहेको हुन्छ ।

तपाईंको आगामी यात्राका योजना र इच्छित गन्तव्यहरू के–के छन् ?

गत महिना इजिप्ट गएँ । दुई महिनापछि स्कानडेन्भियन राष्ट्रहरु जाँदै छु । त्यहाँ दुई हप्ताको लागि जान ब्रिटानिय पानी जहाजको टिकट खरिद गरिसकेको छु । यसटक जर्मनी, स्वीडेन, फिनल्यान्ड, डेनमार्क र स्टोनिय जान्छु । नर्वे जान्न किनभने गत वर्ष त्यहाँ गएको थिएँ । मलाई पानी जहाजदेखि संसारको भ्रमण गर्न असाध्यै मन पर्छ । अहिलेसम्म १६ पटक पानीजहाजदेखि संसारका विभिन्न कुनामा पुगिसकेको छु । हुन त पानीजहाज नजाने स्थानहरुमा विमान वा रेलदेखि पनि यात्रा गरेको धेरै अनुभव छन् । स्कानडेन्भियन राष्ट्रहरुको यात्रा चौथोपटकको हुनेछ । म पटक–पटक त्यता जान्छु । किनभने संसारको सबैभन्दा दुःखी मानिसको देशमा भन्दा सुखी मानिसको देश घुम्न छुट्टै आनन्द आउँछ । त्यतातिर घुम्न रमाइलो नै लाग्छ । त्यसपछि अर्को वर्ष जापान र कोरिया जाँदैछु । हुन त कोरिया पहिले पनि गएकै छु । तैपनि त्यहाँ पुगेर विभिन्न प्रकारको किम्ची खाँदा रमाइलो लाग्छ । त्यसैले भित्रि मनदेखि नै जान मन लागिरहेको छ ।

भविष्यमा यात्रा, साहित्य लेखन वा अन्य विषयमध्ये तपाईं कुनमा केन्द्रित हुन चाहनुहुन्छ ?

लगभग चार दशकभन्दा बढी समय देशभन्दा बाहिर परदेशतिर बरालिँदै हिँडेको हुनाले उक्त अनुभव सँगालेर आफ्नो जीवनकालको उत्तराद्र्धमा एउटा पुस्तक लेखौ भन्ने रहर छ । तर, मानिसका सबै रहर कहाँ पूरा हुन्छ र ? तैपनि प्रयत्न गरौ । हेरौ के हुन्छ ?

यात्राबाट प्राप्त सिकाई र अनुभवलाई नयाँ पुस्तामा कसरी बाँड्न सकिन्छ ?

अहँ, पटक्कै सकिँदैन । किनभने मान्छे स्वभावैले आफू बाठो छु भन्ने ठान्छ र अरुको कुरा कसैले सुन्न मान्दैनन् । बरु केही नजाने पनि र केही नदेखे पनि मलाई सबै थाहा छ भन्ने उसको विचार हुन्छ । उदाहरणको लागि म र मेरो भतिज गाउँको एउटै घरमा सँगसँगै बस्छौ । उ बिहान उठने बितिक्कै जाँड खान्छ । मैले संसार सात चक्कर लगाएर आएँं । रुस पुगेर के चाल पाएँ भने, ‘जाँडले तिमीलाई राम्रो गर्दैन रहेछ,’ भन्छु । किनभने साम्यबादी शासनकालमा धेरै मानिस साम्यवाददेखि वाक्क लागेर भोड्काको सेवन गरे र चाँडै स्वर्ग गए भनेर सुनेको कुरा उनलाई बताएँ । तर, जवाफमा उस्ले भन्छ,‘ लाहुरेलाई मानव जीवनको विषयमा के थाहा छ र ? केबल मान्छे मार्न मात्र सिकेको हुन्छ,’ भनेर उल्टै पाठ सिकाउन थाल्छ । म उनलाई जित्न सक्दिन । त्यसैले नबोली नबोली केवल उनको कुरा मात्र सुनिरहन्छु । तर उनको कुराले मलाई के थाहा भयो भने म मेरो भतिजलाई त सम्झाई बुझाई गर्न सक्दिन रहेछु भने अरुलाई झन् के सक्थे होला र ?

यात्रा र साहित्यप्रतिको तपाईंको सन्देशले पाठकलाई कस्तो प्रेरणा दिन्छ ?

यात्रा त यात्रा नै हो । नयाँ–नयाँ स्थानमा पुग्दा कुनै न कुनै प्रकारले मनोरञ्जन पनि हुन्छ । मेरो विचारमा साहित्य नितान्त फरक विषय हो जस्तो लाग्छ । यसमा मेहनत र परिश्रमको आवश्यकता पर्छ । जस्लाई समाजमा उतार्न मनोरञ्जनभन्दा बढी तपस्या गर्नुपर्छ ।

नेपालको पर्यटन उद्योगको प्रवद्र्धनका लागि तपाईको सुझाव के छ ?

खासमा मेरो कसैलाई केही पनि भन्न छैन । किनभने मैले माथि नै भतिजको उदाहरण प्रस्तुत गरिसकें । खाँटी कुरा गर्ने हो भने म कुनै पनि विषयको विशेषज्ञ पनि होइन । केवल पूर्वबेलायती गोर्खा सिपाही मात्र हुँ । किन मैले त्यसो भनेको हो भने मानिस रियलिटी बेस हुनुपर्छ । हाम्रो समाजमा लाहुरे भनेपछि एक पैसाको दिमाग हुँदैन र उनीहरुले केही जान्दैनन् भन्ने छाप छ । त्यसलाई त्यति सजिलोसँग चिर्न पनि म सक्दिन ।

अन्त्यमा केही भन्न बाँकी छ कि ?

एउटा कुरा छ, मैले संसारको विभिन्न स्थानमा यात्रा गर्नु भनेको अध्ययनको एउटा हिस्सा हो भन्ने ठानेको छु । मानिसले ज्ञान हासिल गर्नको लागि कि अध्ययन वा अनुभव गर्नुपर्छ भन्ने मेरो ठम्याइ हो । यदि दुवैलाई सँगसँगै हाँक्न सकेमा धेरै राम्रो हुन्छ । तर, हरेक मानिसलाई सो अवसर जुर्न एकदम मुस्किल पर्छ । मैले अध्ययनको मूल थलो भनेको बोलोग्ना युनिभर्सिटी इटालीलाई मानेको छु र यो कस्तो रहेछ भनेर एकचोटी त्यहाँ पनि पुगेको छु । किनभने सन् १०८८ मा स्थापना भएर क्रमशः अहिलेसम्म निरन्तरता पाइरहेको उक्त युनिभर्सिटी विश्वको सबैभन्दा पुरानो युनिभर्सिटी हो । हुन त कतिपय मानिसले नालन्द विश्वविद्यालय सबैभन्दा पुरानो भने पनि यो हजार वर्ष अगाडि नै बन्द भइसकेको छ । त्यसपछि दोस्रो पुरानो सन् सन् १०९६ मा खोलिएको अक्सफोर्ड युनिभर्सिटी पनि पटक–पटक पुगेको छु । र, त्यहाँका कलेजहरुको कुना कुनामा को–को पढेका रहेछन् भनेर जान्ने अबसर प्राप्त गरेको छु । एवम् प्रकारले क्याम्ब्रिज, हार्वाड, एमआईटी, यूसीएल र सेन्ट पिटर्सबर्ग युनिभर्सिटीहरुको पनि धित मरिन्जेल नै भ्रमण गरेको छु । किनभने संसारका ८० प्रतिशतभन्दा बढी तिनै युनिभर्सिटीका विद्यार्थीहरु पाइन्छ । मैले यसरी युनिभर्सिटीलगायत संसारको विभिन्न स्थानमा जानको मुख्य कारण भनेको ‘केही कुरा सिक्नु नै हो’ र आफूले सिकेका कुराा सन्ततिहरुलाई सार्ने नै हो भन्ने मेरो जोडदार तर्क छ । त्यसैले अन्य सबै आवश्यक्त्ताहरुलाई न्युनिकरण गर्दै नयाँ नयाँ स्थानमा पुगेर नयाँ नयाँ कुरा सिक्ने कामलाई निरन्तरता दिइरहेको छु । ६० वर्षे जीवनको यो मेरो पहिलो अन्तरवार्ता हो । त्यसको लागि धेरै धैरै धन्यबाद छ ।