झुमालाई २५ वर्षे यात्रामा मन पर्‍यो जारको काम


लोकप्रिय गायिका तथा संगीतकार झुमा लिम्बूले आज शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म जारमा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन्।


‘म्युजिक गर्दै जाँदा मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म फिल्म हो जार। मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै आएपछि मैले नाईँ भन्ने कुरै आएन। २५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ। तर पनि पूरै त चित्त बुझ्दो रहेनछ’ लिम्बूको भनाइ छ।

फिल्मका पात्रहरू लिम्बु गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको झुमाले बताइन्। हालै राजधानीमा आयोजित प्रिमियरमा जार हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन्। लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला तथा लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन्। फिल्ममा पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन्।

फिल्म हेर्ने अधिकांशले फिल्मको तारिफ गरेका छन्। सिनेमाले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको फिल्म पूर्ण मौलिक बनेको चर्चा गरे। अभिनेत्री मनीषा कोइरालाले जार नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन्।

अभिनेता विपिन कार्कीले जार नेपाली फिल्मको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन्। फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायतका कलाकारले अभिनय गरेका छन्।