-पहलगाम आक्रमणपछि दुवै देश सैन्य टकराबतर्फ उन्मुख
-क्षेत्रीय सुरक्षामा गम्भीर खतरा
काठमाडौं ।
भारत र पाकिस्तानबीच दशकौंदेखिको चिसोपन फेरि खुला युद्धमा परिणत भएको छ । १५ दिनअघि कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको प्रतिकारमा भारतले ‘अपरेसन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानकै विभिन्न सैन्य तथा आतंककारी संरचनाहरूमाथि लक्षित हवाई हमला गरेपछि औपचारिक युद्धको स्थिति सिर्जना भएको हो ।
भारतको हवाई आक्रमणमा ३ वर्षीय बालकसहित कम्तीमा २६ पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानले पुष्टि गरेको छ । यसको जवाफस्वरूप पाकिस्तानले भारतीय सीमामा मिसाइल हमला गर्दा ३ जना भारतीय नागरिकको ज्यान गएको पुष्टि भारतले गरेको छ । दुवै देश अहिले युद्धकालीन तयारीमा व्यस्त छन् ।
सैन्य दाबी र प्रतिउत्तर
पाकिस्तानी सेनाले भारतीय वायुसेनाका ५ लडाकु विमान–राफेल, मिग–२९, र सुखोई–३० सहित—खसालिएको दाबी गरेको छ । साथै, भारतीय सेना मुख्यालय र चेकपोस्टहरूलाई पनि निशाना बनाइएको जनाएको छ ।
भारतले भने पाकिस्तानी सेनाको यो दाबी अस्वीकार गर्दै आफ्नो पक्षबाट थप हवाई कारबाहीको तयारी भइरहेको जनाएको छ ।
साथै, भारतले पाकिस्तानको जेएफ–१७ लडाकु विमान खसालिएको, ७० आतंककारी मारिएको र ६० भन्दा बढी घाइते भएको दाबी गरेको छ । भारतीय हवाई आक्रमणमा ‘अपरेसन सिन्दूर’ अन्तर्गत प्रमुख आतंककारी नेताहरू मारिएका छन् । अब्दुल मलिकः लस्कर–ए–तैयबाका वरिष्ठ नेता, मुदस्सिर लस्कर–ए–तैयबाका वरिष्ठ नेता, मसुद अजहरका १० जना परिवारका सदस्यहरू ः जसमा उनका छोरा र भाइहरू समावेश छन्, बहावलपुरमा भएको हवाई हमलामा उनीहरू मारिएका थिए ।
भारतले आक्रमण गरेका स्थानहरू
भारतले विभिन्न स्थानहरूमा लक्षित हवाई हमला गरेको बताइएको छ । पाकिस्तान–नियन्त्रित कश्मीर ः मुजफ्फरावाद, कोटली, पाकिस्तानको पन्जाब प्रान्तः बहावलपुरमा हमला गरेको छ । यी हमलाहरू आतंककारी समूह लस्कर–ए–तैयबा र जैस–ए–मोहम्मदको संरचना ध्वस्त पार्ने उद्देश्यले गरिएको भारतले दाबी गरेको छ ।
पाकिस्तानको प्रतिआक्रमण
पाकिस्तानी सेनाले भारत नियन्त्रित जम्मु–कश्मीरको भिम्बर गली, तोपखाना क्षेत्रलगायतका भूभागमा प्रतिआक्रमण गरेको छ । पाकिस्तानले भारतीय ब्रिगेड मुख्यालयसहित चेकपोस्टहरूमा क्षति पु¥याएको जनाएको छ । यस क्रममा भारततर्फ कम्तीमा १० जनाको मृत्यु भएको छ ।
मानवीय संकट र सीमावर्ती जनजीवन
सीमावर्ती क्षेत्रमा रहेका नागरिकहरू अहिले सर्वाधिक प्रभावित भएका छन् । पाकिस्तानतर्फ मीरपुर, मुजफ्फरावाद र बालाकोटबाट हजारौं नागरिक विस्थापित भएका छन् भने भारततर्फ जम्मु, पुञ्छ र श्रीनगर क्षेत्रमा बंकर निर्माण र आपतकालीन सुरक्षाका उपायहरू तीव्र पारिएका छन् ।
स्वास्थ्य सेवा, सञ्चार, विद्युत् र यातायातजस्ता पूर्वाधार प्रभावित भएका छन् । अस्पतालहरूमा घाइतेहरूको चाप बढेको छ भने खाद्यान्न र इन्धन आपूर्ति अस्थिर बन्दै गएको छ । शिक्षण संस्था बन्द गरिएका छन् ।
नेतृत्व र सैन्य तयारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोप भ्रमण स्थगित गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक नियमित रूपमा बोलाइरहनुभएको छ । भारतीय वायुसेनाले राफेल जेट र मिसाइल प्रणाली उच्च सतर्कतामा राखेको छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले पनि सुरक्षा परिषद्को आपत्कालीन बैठक डाक्नुभएको छ । पाकिस्तानले हवाई क्षेत्र बन्द गरेको छ र आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
भारत–पाकिस्तान युद्धको पृष्ठभूमि
भारत र पाकिस्तानबीच सन् १९४७ को विभाजनपछि चारपटक खुला युद्ध भइसकेका छन् । सन् १९४७, १९६५, १९७१ र १९९९ मा युद्ध भएको थियो । हरेक युद्धको केन्द्रीय बिन्दु कश्मीर नै रहँदै आएको छ । पछिल्लो घटनाक्रम पनि पहलगाम आक्रमणबाट उत्पन्न भएको हो, जसमा भारतले पाकिस्तानमा आश्रय लिएका आतंककारी समूहहरूलाई दोष दिएको छ ।
सन् २०१९ मा भारतको पुलवामा आक्रमणपछि पनि भारतले पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई हमला गरेको थियो । त्यस बेला पनि दुवै देश केही दिन युद्धको मोडमा पुगेका थिए तर अन्तर्राष्ट्रिय दबाबपछि अवस्था शान्त भएको थियो । तर, यो पटकको आक्रमणले स्थिति अझै जटिल र गम्भीर बनाएको छ । दुवै देशका सेनाले सूचना युद्ध पनि आक्रामक रूपमा अघि बढाएका छन् । सामाजिक सञ्जाल र राज्य सञ्चालित सञ्चारमाध्यमहरूबाट एकअर्कामाथि दोषारोपण र राष्ट्रवादी भावना झनै चर्काइएको देखिन्छ ।
अन्तर्राष्ट्रिय चिन्ता र कूटनीतिक पहल
युद्धले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता सिर्जना गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन र युरोपेली संघले दुवै पक्षलाई संयमता अपनाउन र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् । चीनले दक्षिण एसियाली स्थायित्वका लागि कूटनीतिक वार्ताको आवश्यकता औंल्याएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भारतको सैन्य कारबाहीलाई दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।
अमेरिकाले आणविक शक्ति सम्पन्न दुई राष्ट्रबीचको युद्धले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षा संकट निम्त्याउने चेतावनी दिएको छ । इजरायलले भने भारतीय कदमको स्वागत गरेको छ । उसले आतंकारी गतिविधिमाथि भारतले गरेको कारबाही जायज रहेको बताएको छ ।
सम्भावित असर र कूटनीतिक मार्ग
भारत–पाकिस्तान युद्धले दुवै मुलुकको आन्तरिक राजनीति, अर्थतन्त्र, र कूटनीतिक सम्बन्धमा गम्भीर असर पार्न सक्छ । सैन्य खर्चको वृद्धिले विकास निर्माण कार्यहरूमा बाधा पुग्नेछ भने विदेशी लगानी र पर्यटनमा गिरावट आउने अपेक्षा गरिएको छ । यस युद्धले कश्मीर विवादलाई पुनः अन्तर्राष्ट्रियकरण गर्ने सम्भावना पनि बढाएको छ । विश्लेषकहरूका अनुसार छिमेकी मुलुकहरू—विशेषतः नेपालले युद्धको सट्टा वार्ता र संयमतर्फ प्रेरित गर्ने भूमिका लिन सक्नुपर्ने देखिएको छ ।
भारत–पाकिस्तानबीचको पछिल्लो युद्धले पुनः पुष्टि गरेको छ कि दक्षिण एसियाली स्थायित्व कश्मीर समस्या समाधानबिना सम्भव छैन । आणविक हतियारसहितको यस्तो टकरावले केवल दुवै देशका नागरिक मात्र होइन, सम्पूर्ण एसियाली क्षेत्रलाई नै जोखिममा पार्नेछ । अब अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी हो-युद्धविराम, वार्ता र दीर्घकालीन समाधानको वातावरण निर्माण गर्न कूटनीतिक पहल अघि बढाउनुपर्ने देखिएको छ । अन्यथा निर्दोष नागरिकको ज्यान, शान्ति र भविष्य गम्भीर संकटमा पर्ने देखिएको छ ।
भारतीय र पाकिस्तानी दूतावास वरपर सुरक्षा बढाइयो
भारत–पाकिस्तानबीच युद्ध शुरू भएपछि नेपालस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरि कुनै अवाञ्छित गतिविधि नहोस् भन्ने हेतुले सुरक्षा निकायले ती दूतावास वरिपरि सुरक्षा सतर्कता बढाएको छ ।
दुवै देश नेपालका लागि छिमेकी मुलुक भएको र ती दूतावासमा कुनै पनि गतिविधि नहोस् भन्ने हेतुले सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
दुई देशबीचको युद्धको छाया नेपाालमा नपरोस् भन्ने चाहना राख्दै आएको सरकारले दुई देशबीचको तिक्ततालाई लिएर नेपाली भूमि प्रयोग हुन नहुने भन्दै सरकारले सबै सुरक्षा निकायलाई अलर्ट गराएको छ । गृह मन्त्रालयले सीमा नाकामा निगरानी गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । कुनै पनि शंकास्पद व्यक्ति वा समूहलाई नेपाल प्रवेशमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठकमा के के भए ?
भारत–पाकिस्तानबीच युद्ध चर्किंदै गएपछि नेपालले आफ्नो सुरक्षा रणनीति स्पष्ट गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक सम्पन्न गरेको छ । बैठकमा क्षेत्रीय अस्थिरताको सन्दर्भमा नेपालको कूटनीतिक, सुरक्षा र मानवीय तयारीबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देलसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । यसअघि बिहानै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि परिषद्को बैठक बोलाइएको हो ।
भारत–पाकिस्तान युद्धको तत्कालीन अवस्था मूल्यांकन, पहलगाम आक्रमणदेखि हालसम्मको सैन्य गतिविधि र क्षेत्रीय अस्थिरताको असरबारे बैठकमा गम्भीर समीक्षा भएको बैठकमा सहभागी एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, आपतकालीन योजनाहरू अद्यावधिक गर्ने र सम्भावित शरणार्थी बहावको सामना गर्न गृह मन्त्रालय, सशस्त्र प्रहरी र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । नेपालले ऐतिहासिक तटस्थताको नीतिअनुसार कुनै पक्ष नलिई संयमता र संवादको मार्गलाई समर्थन गर्ने नीति अवलम्बन गर्ने निष्कर्ष बैठकले निकालेको छ ।
सरकारले युद्धसम्बन्धी सूचना प्रचारप्रसारमा संवेदनशीलता अपनाउने र अफवाह तथा दुष्प्रचार रोक्न सञ्चारमाध्यमलाई संयमित रिपोर्टिङको आग्रह गर्ने निर्णय गरेको छ ।
स्रोतका अनुसार नेपालले केही दिनभित्रै शान्तिपूर्ण संवाद र संयमतर्फ उन्मुख हुन दुवै पक्षलाई आह्वान गर्ने औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ । साथै, यथास्थितिमा गम्भीर परिवर्तन भएमा राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी मानवीय र सुरक्षा उपायहरू विस्तार गर्ने रणनीति सरकारले लिएको छ । नेपाल भारत र पाकिस्तान दुवैसँग भू–राजनीतिक, व्यापारिक र सामाजिक सम्बन्ध भएको देश हो । भारतसँग खुला सीमा रहेकाले युद्धको असर सीधै नेपालमा पर्न सक्ने खतरा बढेको छ । सम्भावित शरणार्थी बहाव, आपूर्ति लाइनमा अवरोध र सुरक्षामा जोखिमको आँकलन सरकारले गरेको छ ।
झण्डै ४० हजार नेपाली युद्धका निम्ति तयारी अवस्थामा
भारतीय सेनामा कार्यरत झण्डै ४० हजार नेपाली युद्धका निम्ति तयारी अवस्थामा रहेका छन् । भारत र पाकिस्तानबीच युद्ध शुरू भएपछि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा रहेका सैनिकहरूलाई पनि उच्च सतर्क अवस्थामा राखिएको छ ।
भारतमा ७ वटा गोर्खा रेजिमेन्ट र ३९ वटा बटालियनमा ३२ हजारभन्दा बढी नेपाली कार्यरत छन् । त्यस्तै, अन्य रेजिमेन्टमा पनि नेपाली सैनिकहरू कार्यरत रहेकाले भारतीय सेनामा समावेश नेपालीभाषीको कुल संख्या ४० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । गोर्खा रेजिमेन्टलाई भारतको भरपर्दो सैन्यशक्तिका रूपमा हेरिन्छ । भारतको अर्धसैनिक बलमा समेत उल्लेख्य संख्यामा नेपालीहरूको उपस्थिति रहेको हुँदा उनीहरूलाई पनि सतर्क अवस्थामा राखिएको बुझिएको छ ।
सन् २०४७ अघिदेखि नै भारतीय सेनाको हैसियतमा नेपाली नागरिकहरूले विभिन्न युद्धहरूमा अग्रपंक्तिमा रहेर लड्दै आएका छन् । यसपटक पनि गोर्खा रेजिमेन्टका नेपाली सैनिकहरूलाई तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विशेषगरी स्थल सेनामा बढी संख्यामा रहेका नेपाली सैनिकहरूलाई यसपटकको तनावमा सीधा संलग्न नगराइएको भए पनि लडाइँका बेला सेनाका सबै तहलाई तयारी अवस्थामा राख्ने रणनीति अनुसार उनीहरूलाई पनि सक्रिय राखिएको छ ।
प्रतिक्रिया