देश विकासमा आम–सञ्चारमाध्यमको जिम्मेवारी

282
Shares

देश विकासको महान अभियानमा आम–सञ्चारका माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइनन्, यी त सामाजिक चेतना, लोकतान्त्रिक मूल्य–मान्यता र आर्थिक पारदर्शिताको आधारस्तम्भसमेत हुन् । आजको सूचना प्रविधिको नवीन युगमा नागरिकको सोच, निर्णय र सहभागितामा आम–सञ्चारमाध्यमको प्रभाव प्रत्यक्षरुपमा रहेको हुन्छ । त्यही भएर सत्य, तथ्य र निष्पक्षताको आधारमा सामग्री प्रसारण तथा प्रकाशन गर्नु आम–सञ्चारमाध्यमको आजको पेसागत र नैतिक जिम्मेवारी हो ।

जब सञ्चारमाध्यमबाट प्रेषित हर सामग्री विश्वसनीयताले भरिपूर्ण हुन्छ तब नागरिक सचेत हुन्छन् । जब नागरिक सचेत हुन्छन् तब लोकतन्त्र सुदृढ, सबल तथा मजबुत हुन्छ । जब लोकतन्त्र सुदृढ, सबल तथा मजबुत हुन्छ तब विकासको गति दिगो, बलियो, भरपर्दो र समावेशी बन्दै जान्छ । आज देश विकासका लागि हर नागरिक आम–सञ्चारमाध्यमको यही र यस्तै खालको जिम्मेवारीपूर्ण भूमिका देख्न र हेर्न आतुर छन् ।

नेपालका आम–सञ्चारका माध्यमले राजनीतिक विषयवस्तुलाई मात्रै बढी प्राथमिकता दिँदै आएको कुरा आमजनतामा जगजाहेर नै छ । राजनीति देशको मूलनीति भएकोले यसलाई स्थान दिनु एक हिसाबले स्वाभाविक पनि हो । साथै आमजनताले पनि यस्ता सामग्रीलाई चासोका साथ हेर्ने र बुझ्ने हुँदा यी विषयवस्तुलाई प्राथमिकता दिनु आम–सञ्चारमाध्यमको आफ्नै बाध्यता वा आवश्यकता पनि होला ।

तर अन्य सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद, पर्यटन तथा विकाससँग प्रयक्षरुपले सम्बन्धित विषयवस्तुलाई पनि समानान्तररुपमा समेट्दै जानुपर्छ भन्ने हो । स्थानीय तथा विकास पत्रकारितालाई पनि एकथाथ जोड्दै समावेश गर्दैै लैजानुपर्छ भन्ने हो । विकासका विषयवस्तुले प्राथमिकता पाउन थालेमा आम–सञ्चारमाध्यमप्रति हेर्ने आममानिसको नजरिया नै सकारात्मक बन्छ र यसले प्रत्यक्षरुपमा देश विकासमा टेवा पु¥याउँछ । आम–सञ्चारमाध्यमबाट पनि सदैव यी र यस्तै विकासमुखी सामग्री निरन्तर सम्प्रेषण भइरहुन् भन्ने आम अपेक्षा रहँदै आएको छ ।

देशको आर्थिक विकासमा सञ्चारमाध्यमले नीति, बजार र उपभोक्ताबीच सेतुको काम गर्छन् । बजेट, मौद्रिक नीति, कर संरचना, वैदेशिक लगानी, कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, सूचना प्रविधि विस्तारजस्ता विषयमा स्पष्ट र विश्लेषणात्मक सामग्री प्रकाशित हुँदा व्यवसायी, लगानीकर्ता र आम नागरिकलाई निर्णय प्रक्रियामा सघाउ पु¥याउँछ । विश्व बैंकका विभिन्न प्रतिवेदनमा सूचना पहुँच सुधार भएका मुलुकहरूमा साना तथा मझौला उद्यमको वृद्धिदर तुलनात्मकरूपमा उच्च पाइएको छ ।

यसले रोजगारी सिर्जना, नवप्रवर्तन र आय वृद्धिमार्फत समग्र आर्थिक समृद्धिमा योगदान पु¥याउँछ । यसैले अर्थतन्त्रसम्बन्धी तथ्याङ्कलाई सरल भाषामा व्याख्या गर्दै जनतालाई आर्थिक साक्षरता प्रदान गर्नु आम–सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व हो । प्रजातान्त्रिक तथा लोकतान्त्रिक शासन प्रणालीमा आम–सञ्चारमाध्यमलाई राज्यको चौथो अंगको रुपमा मान्यता दिइएको छ ।

यसको मुख्य भूमिका राज्यका तीन अंग– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका गतिविधिमाथि निगरानी राख्नु हो । खोज तथा अनुसन्धानमूलक पत्रकारितामार्फत सार्वजनिक स्रोतको दुरुपयोग, भ्रष्टाचार र नीतिगत कमजोरी उजागर हुँदा उत्तरदायित्व वृद्धि हुँदै जान्छ । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले समेत प्रेस स्वतन्त्रता उच्च भएका मुलुकहरूमा सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास दर उल्लेखनीय रूपमा बढी रहेको देखाएका छन् । पारदर्शिता बढेपछि विकासका लागि विनियोजित बजेट लक्षित क्षेत्रमा पुग्ने सम्भावना उच्च हुन्छ । यस्तै स्थानीय तहको बजेट कार्यान्वयन तथा सामाजिक सुरक्षा भुक्तानीसम्बन्धी रिपोर्टिङले वित्तीय अनुशासन कायम गर्नमा सहयोग पु¥याउँछ ।

त्यसै गरी सामाजिक विकासमा पनि सञ्चारमाध्यमको प्रभाव गहिरो र फराकिलो हुन्छ । शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, बालअधिकार, अपाङ्गता अधिकार तथा सामाजिक समावेशिताका विषयलाई प्राथमिकतामा राखेर प्रकाशित सामग्रीले चेतना अभिवृद्धि गर्दछ ।

सार्वजनिक स्वास्थ्यसम्बन्धी अभियानहरु खोप कार्यक्रम, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी सन्देशहरू रेडियो, टेलिभिजन र अनलाइन माध्यममार्फत व्यापकरूपमा पुगेका कारण धेरै देशमा स्वास्थ्य सूचकाङ्क सुधारिएको पाइन्छ । युनिसेफ तथा विश्व स्वास्थ्य संगठनका तथ्याङ्कले सञ्चार अभियान प्रभावकारी हुँदा खोप कभरेज दर उल्लेखनीय रूपमा बढ्ने गरेको देखाएको छ । यसरी सही र वैज्ञानिक सूचना प्रवाहले जनस्वास्थ्यमा प्रत्यक्षरुपमा सकारात्मक प्रभाव पार्दछ, जसको प्रत्यक्ष सम्बन्ध र साइनो समग्र देशको विकाससँग जोडिएको हुन्छ ।

विश्वका अन्य देशमा जस्तैै नेपालमा पनि आज आम–सञ्चारमाध्यम राजनीतिक वा सार्वजनिक बहस र पैरवीका निम्ति महत्वपूर्र्ण औजारका रूपमा स्थापित भइसकेका छन् । ठूला र शहरकेन्द्रित आम–सञ्चारमाध्यमहरु देशको आर्थिक विकाससँगै अझै विस्तार र सशक्त हँदै जानेछन् । आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन यस्ता आम–सञ्चारमाध्यमले प्रभावकारी भूमिका पनि खेलिरहेका छन् । तर विकासको लाभ सबै जनतासम्म पु¥याउन केवल ठूला आम–सञ्चारमाध्यम मात्र पर्याप्त हुँदैनन् ।

सञ्चारको पहँुचबाट बाहिर रहेका दुर्गम क्षेत्रका निरक्षर तथा न्यून आय भएका आधारभूत तहका जनतासम्म विकासको अवसर पुग्न आवश्यक छ । सञ्चारको पहुँच नपाएका मानिसहरुले विकासको प्रत्यक्ष लाभ पनि पूर्णरुपमा लिन सक्दैनन् । यसका लागि साना र स्थानीय स्तरका वैकल्पिक अखबार, रेडियो, टेलिभिजन र अनलाइन माध्यम अत्यन्त महत्वपूर्ण हुन्छन् । यस्ता स्थानीय सञ्चारमाध्यमहरूले आमजनताको भाषा, संस्कृति र भावना अभिव्यक्त गर्न सक्ने क्षमता राख्छन् । उपभोक्तावादी संस्कृतिले प्रभावित शहरकेन्द्रित सञ्चारमाध्यमसँगै स्थानीय सञ्चारमाध्यमको पनि सशक्त उपस्थिति आवश्यक छ । त्यसैले नेपालले परिकल्पना गरेको समाजवादउन्मुख आम–सञ्चार प्रणालीलाई पनि समावेशी, जनमुखी र स्थानीय आवश्यकता अनुकूल बनाइनुपर्छ ।

आजको डिजिटल युगमा आम–सञ्चारमाध्यमको जिम्मेवारी दिन–प्रतिदिन बढ्दै गएकोे छ । सामाजिक सञ्जालको तीव्र विकास र विस्तारसँगै गलत तथा भ्रामक सूचना पनि द्रुत गतिमा फैलिरहेका छन् । गलत तथा भ्रामक सूचनाले सामाजिक सद्भाव बिगार्न, द्वन्द्व निम्त्याउन र लोकतान्त्रिक प्रक्रियामा अविश्वास पैदा गर्न सक्छन् । यस्ता चुनौतीलाई सम्बोधन गर्न आम–सञ्चारमाध्यमले तथ्य जाँच संयन्त्र सुदृढ र सबल बनाउनुपर्छ ।

नियमित तथ्य जाँच गरेर विश्वसनीय सामग्री प्रकाशन÷प्रसारण गर्ने सञ्चार संस्थाहरूमा आम पाठक, श्रोता र दर्शकको विश्वास दर पनि बढी हुन्छ । यस्तै विश्वसनीय सामग्री सम्पे्रषण गर्ने भएकोले बीबीसी (बिट्रिस ब्रोडकास्टिङ कर्पोरेसन) लाई आज पनि विश्वकै विश्वसनीय सञ्चारमाध्यम मानिन्छ । त्यसैले स्रोत प्रमाणीकरण, बहुपक्षीय दृष्टिकोण र सन्तुलित प्रस्तुति आजको अपरिहार्य आवश्यकता हो ।

सांस्कृतिक संरक्षण र राष्ट्रिय एकताको सुदृढीकरणमा पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ । देशको भाषा, कला, साहित्य, संगीत, लोकसंस्कृति र मौलिक परम्परालाई प्राथमिकतामा राखेर प्रकाशित सामग्रीले सांस्कृतिक आत्मविश्वास बढाउँछ । विविध जातजाति, भाषा र समुदायबीच आपसी समझदारी कायम राख्न सन्तुलित र जिम्मेवार भाषा प्रयोग गर्नुपर्छ । जातीय, धार्मिक वा क्षेत्रीय विवाद बढाउन सक्ने संवेदनशील सामग्री प्रकाशन÷प्रसारण गर्दा उत्तेजक शब्दावली प्रयोग गरिएमा सामाजिक तनाव बढ्न सक्छ ।

यसतर्फ चनाखो भई शान्ति पत्रकारिता र संवादमुखी रिपोर्टिङलाई प्राथमिकता दिन सकेमा यसले सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पु¥याउन सक्छ ।विपद् व्यवस्थापनका सन्दर्भमा आम–सञ्चारमाध्यमले जीवनरक्षकको भूमिका निर्वाह गर्न सक्छन् । भूकम्प, बाढीपहिरो, महामारी वा अन्य आपतकालीन अवस्थामा सुरक्षित स्थान, राहत वितरण, स्वास्थ्य सावधानी र सरकारी निर्देशनसम्बन्धी सूचना समयमै प्रवाह हुँदा जनधनको क्षति न्यून हुन्छ ।

विपद् अवधिमा विश्वसनीय सूचना प्रवाह भएका क्षेत्रमा अफवाह कम फैलिन्छ र उद्धार कार्य प्रभावकारी हुन्छ । यसैले संकटको घडीमा सत्य, प्रमाणित र स्पष्ट सामग्री प्रकाशन÷प्रसारण गर्नु नै आम–सञ्चारमाध्यमको उच्चतम सामाजिक जिम्मेवारी र दायित्व हो । यद्यपि आम–सञ्चार क्षेत्रले अनेक चुनौतीहरूको सामना गरिरहेका छन् । विज्ञापनमा अत्यधिक निर्भरता, राजनीतिक दबाब, पत्रकार सुरक्षाको अभाव र डिजिटल प्लेटफर्मको एल्गोरिदम प्रभावले निष्पक्ष पत्रकारितामा असर पारिरहेको छ ।

आर्थिक दबाबका कारण सनसनी खोज सामग्रीतर्फ झुकाव बढ्ने खतरा पनि रहन्छ । यस्तो अवस्थामा सम्पादकीय स्वतन्त्रता, व्यावसायिक पत्रकार आचारसंहिता र संस्थागत पारदर्शिता अत्यावश्यक हुन्छ । समाचार र विचारलाई स्पष्टरूपमा छुट्याउने, त्रुटि सच्याउने संस्कार विकास गर्ने, स्रोतको गोपनीयता जोगाउने तथा मानवअधिकारको सम्मान गर्ने अभ्यासले नै विश्वसनीयता कायम राख्नमा सघाउ पु¥याउँछ ।

सञ्चार आवश्यकता गाँस, बास र कपास जत्तिकै महत्वपूर्ण मानवीय आवश्यकता पनि हो । राष्ट्रिय समस्या र आर्थिक विकासका बाधाबारे जति बढी मानिस जानकार हुन्छन्, समाधानका लागि उति सक्रिय बन्छन् । सरकारले जनजीवन सुधारका लागि गरेका प्रयासबारे जनताले आफ्ना विचार राख्न पाउनुपर्छ । साथै आफ्नै जीवनस्तर उकास्न गरिएका गतिविधिबारे जानकारी पाउने र अरुलाई सुनाउने अधिकार पनि जनताले पाउनुपर्छ । आजको सन्दर्भमा विकासका लागि सञ्चार भनेको जनताले आफ्ना आवश्यकता र विकासका विषयमा खुलारुपमा कुरा गर्न, आफ्ना धारणा व्यक्त गर्न र विकासका जिम्मेवार पक्षसँग बहस पैरवी गर्न पाउने माध्यम हो ।

देशको समग्र विकासमा आम–सञ्चारमाध्यम प्रभावकारी साझेदार बन्नका लागि केही नीतिगत कदम आवश्यक हुन्छ । प्रेस स्वतन्त्रताको संवैधानिक तथा कानुनी संरक्षण, सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरण, पत्रकारको व्यावसायिक तालिम र सुरक्षा, ग्रामीण तथा सामुदायिक रेडियोको प्रवद्र्धन गर्न अझै पत्रकारितामा लगानी बढाउनु जरुरी छ । साथै, डिजिटल साक्षरता कार्यक्रममार्फत नागरिकलाई पनि सूचना मूल्याङ्कन गर्ने क्षमता विकास गरिनुपर्छ । जब नागरिक स्वयं सूचनाबारे सजग हुन्छन्, तब दुष्प्रचारको प्रभाव स्वतः घट्दै जान्छ ।

आम–सञ्चारमाध्यम राष्ट्रको ऐना मात्र होइनन्, मार्गदर्शक पनि हुन् । सत्य, तथ्य र निष्पक्षताको आधारमा सम्प्रेषण भएका सामग्रीले नागरिकमा विश्वासको सञ्चार गर्न सक्छन् । आज विश्व नै विश्वासमा अडिएको हुँदा विश्वास नै विकासको मूल आधार बन्नुपर्छ । पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय र समावेशिताको मूल्यलाई आत्मसात् गर्दै अघि बढ्ने पत्रकारिताले देशलाई स्थायित्व, समृद्धि र सद्भावतर्फ अग्रसर गराउन सक्छ । त्यही भएर आम–सञ्चारमाध्यमले आफ्नो पेसागत धर्मलाई आत्मसात् गर्दै सार्वजनिक हितलाई सर्वोपरि राख्न सकेमा देश विकासको अभियानमा आम–सञ्चारमाध्यमकोे योगदान ऐतिहासिक र निर्णायक बन्न सक्छ ।

यसरी देश विकासमा आम–सञ्चारमाध्यमको भूमिका अत्यन्त प्रभावकारी हुन्छ । आम–सञ्चारमाध्यमविनाको समाजमा सञ्चार प्रक्रिया प्रभावकारीरुपमा अगाडि बढ्न सक्दैन, जसरी मुटुविना शरीरमा रक्तसञ्चार सम्भव हुँदैन । त्यही भएर आम–सञ्चारमाध्यमको भूमिका सदैव सकारात्मक, जिम्मेवार र आवश्यकताअनुसार आलोचनात्मक हुनुपर्छ ।

आम–सञ्चारमाध्यमले एकैपटक ठूलो जनसमुदायसम्म सूचना तथा सन्देश प्रवाह गरी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउँछ । राज्य र नागरिकको बीचमा सम्पर्क सेतुको कार्य गर्ने स्वतन्त्र क्षेत्र भएकोले गणतन्त्र, लोकतन्त्रको संरक्षण र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवद्र्धनमा आम–सञ्चारमाध्यमले शक्तिशाली एवं प्रभावकारी भूमिका खेल्नुपर्छ । तसर्थ, देशको समग्र विकासका लागि आम–सञ्चारमाध्यमको भूमिका, जिम्मेवारी र उत्तरदायित्व सदैव सशक्त, प्रभावकारी र उत्तरदायी भइरहनु आवश्यक छ । यसका लागि सम्बन्धित पक्ष, तह र तप्काको भूमिका पनि सदैव सकारात्मक भइरहनुपर्छ ।