रंगशाला निर्माणमा लापरबाही


नेपालमा क्रिकेटप्रतिको जनआस्था र आकर्षण दिनप्रतिदिन बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूले देखाएको प्रदर्शनले देशको गौरव बढाएको छ ।

यति ठूलो सम्भावना बोकेको खेललाई उचित पूर्वाधार नहुनु दुःखद पक्ष हो । यही पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको पुरानो रंगशालालाई आधुनिक स्तरमा रुपान्तरण गर्ने प्रयासले जनतामा आशा पलाएको थियो ।

३ सय दिनभित्र अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि त्यसले भने यथार्थको धरातलमा पूर्णता लिन सकेको छैन । सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेर रंगशालाको निर्माण प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनी र सरोकारवाला निकायको ढिलासुस्तीले काममा व्यापक प्रभाव पारेको छ ।

प्यारापिट निर्माणमा ४५.१९ प्रतिशत वित्तीय प्रगति र ५५ प्रतिशत भौतिक प्रगति तथा फ्लडलाइटतर्फ २३.८१ प्रतिशत वित्तीय र ३५ प्रतिशत भौतिक प्रगति मात्र हुनु लापरबाहीको स्पष्ट संकेत हो । करोडौं रकमको ठेक्का लिने निर्माण कम्पनीले राष्ट्रिय गौरवसँग खेलबाड गर्नु खेल क्षेत्रको भविष्यसँग धोका गर्नुसरह हो । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले निर्माण कम्पनी, नेपाल क्रिकेट संघका पदाधिकारी तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरूलाई सरकारी निवासमा बोलाएर प्रश्न गर्नु, असन्तोष प्रकट गर्नु र समयसीमा तोकेर निर्देशन दिनु एक सशक्त कदम हो ।

प्रधानमन्त्रीको यो सक्रियताले सरकार खेल पूर्वाधारमा गम्भीर छ भन्ने सन्देश दिन्छ । समस्या पहिचान मात्र होइन, समाधानतर्फको प्रतिबद्धतासमेत छलफलमा देखिएको छ । अबको एक महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने बताइनुले आशा पलाएको छ । तर जनताले आशा मात्र होइन, परिणाम चाहन्छन् । निर्माण कम्पनीले हिजोको लापरबाहीलाई सुधार गर्दै गुणस्तरीय कार्य सम्पन्न गर्नुपर्छ । मन्त्रालय र सम्बन्धित निकायले पनि नियमित अनुगमन, मूल्यांकन तथा पारदर्शिता कायम गर्न जरुरी छ ।

नेपालजस्तो सम्भावनाशील देशमा खेल पर्यटन प्रवद्र्धन र युवालाई खेलतर्फ आकर्षण गराउन पूर्वाधारको मजबुती अपरिहार्य छ । कीर्तिपुर रंगशालाको निर्माण समयमै सम्पन्न हुनु केवल एक रंगशाला निर्माण मात्र नभई नेपाली क्रिकेटको गौरवपूर्ण भविष्यतर्फको बाटो बन्न सक्छ । सरकारको चासो अब कार्यान्वयनमा परिणत होस् भन्ने आम अपेक्षा हो । रंगशाला मात्र एउटा संरचना होइन, त्यो युवाको ऊर्जा, राष्ट्रिय भावना र भविष्य निर्माणको आधार हो ।

अबको एक महिनाभित्र काम सक्ने प्रतिबद्धता व्यक्त गरिएकाले अझै पनि आशा बाँकी छ । तर आशालाई व्यवहारमा परिणत गर्नु नै आजको आवश्यकता हो । जनताले सरकारसँग ठोस परिणाम अपेक्षा गरेका छन् । निर्माण कम्पनीको जवाफदेहिता र सरकारी निकायको प्रभावकारी अनुगमनले मात्र यो आयोजना सफल बन्न सक्छ । कीर्तिपुर रंगशाला निर्माणले गति लिँदा मात्र नेपाली क्रिकेटको उज्यालो भविष्य सुनिश्चित हुन्छ र मुलुक अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बन्छ ।