व्यञ्जनकार र लम्सालसँग २० लाख असुल्न महालेखाको पत्र

कामपाको खर्चमा गएका दुईजनाको भ्रमण नियमविपरीत

399.59k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा नियमविपरीत फ्रान्स भ्रमणमा गएका मेयर सचिवालयका कुमार व्यञ्जनकार र सुनील लम्सालको भ्रमण खर्च असुल्न महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरलाई पत्राचार गरेको छ ।

सो भ्रमणबापत बेरुजु देखिएको करिब २० लाख रुपियाँ व्यञ्जनकार र लम्सालसँग असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयले पत्राचार गरेको हो । फ्रान्समा गत वर्ष मे १४ देखि २५ तारिखसम्म चलेको ७७ औं चलचित्र महोत्सवमा सहभागी हुन मेयर साहलाई मात्र निम्तो आएको थियो तर नियमविपरीत सचिवालयका सदस्यहरु गएर महानगरको २० लाख खर्च गरेको पाइएपछि महालेखाले २० लाख बेरुजु औंल्याएको हो ।

स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले मेयरको आदेशअनुसार कानुनविपरीत मेयर सचिवालयका दुई सदस्यलाई फ्रान्स पठाउने निर्णय गर्नुभएको थियो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन शुरू गरेको छ ।

मेयर सचिवालयका कर्मचरीलाई मेयर साहले फ्रान्स भ्रमणमा लगेको विषयमा अख्तियारले कामपासँग भ्रमणको सबै विवरण मागेको हो । तर, कामपाले पूर्ण विवरण अझै पेस गरेको छैन । प्रशासन विभागको असहमतिका बाबजुद प्रमुख प्रशासकीय अधिकृत परियारले मेयर शाहको आदेशमा उनीहरुको भ्रमण स्वीकृत गर्नुभएको थियो ।

स्रोतका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले व्यञ्जनकार र लम्सालको खर्च रकम भुक्तानी गर्न कामपाको वित्त विभागलाई पटकपटक दबाब दिनुभएको थियो । परियारले वित्त विभागमा दर्जनौंपटक टेलिफोन गरी सरकारी खातामा रकम हाल्न दबाब दिइरहनुभएको छ । सो विषयमा जानकारी लिन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

सामाजिक सञ्जालमा नेपालको भ्रष्टाचार विरोधी युवा मेयरले गरेको ब्राजिल र फ्रान्सको भ्रमणको पछाडिका काला कर्तुतहरूले मेयर र उहाँको टिमको आर्थिक अपारदर्शिता छताछुल्ल हुने अवस्थामा पुगेको छ । स्रोतका अनुसार त्यस्ता १४ घटनाको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उजुरी परेको छ । सबै विषय छानबिनको क्रममा छ ।

यस्ता भ्रमणले एक मुलुक र अर्को मुलुकबीचको कूटनीतिक सम्बन्धमा समेत असर र प्रभाव पार्न सक्ने बताइन्छ । यस्ता भ्रमण गर्दा नेपाल सरकारको सहमति लिनुपर्ने नीति र विधि बनाइएको छ । स्थानीय तह वा नेपाल सरकारको ढुकुटीबाट खर्च हुने गरी गरिने यस्ता भ्रमण गर्नुपूर्व सहमति लिनुपर्ने व्यवस्था छ । तर, कामपाले मेयरबाहेक अन्य दुई सदस्यको विषयमा सहमति लिएको थिएन ।

फ्रान्सले हरेक वर्ष चलचित्र महोत्सवमा निमन्त्रणा पठाउने गर्दछ । त्यसमाथि अन्तर्राष्ट्रिय संस्था मेट्रोपोलिस बोर्डको बोर्ड अफ डाइरेक्टर्स कामपा पनि भएको नाताले मेयरलाई बैठकका लागि निमन्त्रणा आएको हो । त्यस्तो भ्रमणमा अनधिकृत व्यक्तिलाई किन र कसरी कामपाको खर्चमा लगियो भन्ने प्रश्न उठेको छ ।

स्थानीय तहका पदाधिकारीहरू विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले विदेश भ्रमण गर्न सरकारको अनुमति लिनुपर्दछ । यी दुवै भ्रमणमा केवल मेयर साहलाई मात्र निमन्त्रणा आएको भए पनि कामपाकोे ब्यानरमा मेयरका तीन जना सहयोगीसमेत सहभागी भएका थिए ।

मेयर साहका दुई मित्रहरू व्यञ्जकार र सुनील लम्सालसहित अमेरिकातिर रहेका प्रवीण श्रेष्ठसमेतको अमेरिकादेखि ब्राजिलसम्मको सबै खर्च अर्थात् करिब ४० लाख रुपियाँ कामपाले व्यहोरेको पाइएको छ ।

गत असार १० मा बसेको कार्यपालिका बैठकबाट भ्रमणको खर्च अनुमोदन गराउन मेयर साहले त्यस दिनको बैठकको प्रत्यक्ष प्रसारण गर्न रोक लगाउनुभएको जिकिर गर्दै स्रोतले भन्यो– ‘त्यस दिनको बैठकमा खर्च अनुमोदन गर्ने एजेन्डा थिएन । तर, जालसाजीपूर्ण एजेन्डा अनुमोदन भयो । कार्यपालिकाको निर्णय सचिव प्रमुख प्रशासकीय अधिकृत परियारले प्रमाणित गर्नुभयो ।’

बैठक सकेलगत्तै प्रमुख प्रशासकीय अधिकृत परियारले मेयर साहको आदेशबमोजिम एजेन्डा तय भए पनि छलफल नै नभएको खर्च अनुमोदनको निर्णय प्रमाणित गर्नुभएलगत्तै वित्त विभागले भुक्तानी दिएको थियो । सरकारको स्वीकृत बेगर गरिएको भ्रमण तथा सो कार्यमा संलग्न सबै कर्मचारी तथा बिनास्वीकृति भ्रमणमा संलग्न सबैबाट असुलउपर गरी हदैसम्मको कारबाही गर्न आयोगमा उजुरी परेको थियो ।

उच्चस्रोतका अनुसार मेयर सचिवालयमा कार्यरत केही कर्मचारीले मेयर साहका स्वकीय सचिव भूपदेव साहलाई महानगरको खातामा रकम फिर्ता गरेमा सो विषयको उजुरीलाई अख्तियारले कारबाही नगर्ने सल्लाह दिएपछि यसबाट बच्न वित्त विभागलाई दबाब दिइरहेको बताइएको छ ।