काठमाडौं
यही वैशाख २० गतेदेखि हुने भनिएको ए डिभिजन क्लबको लिग कम नकआउट प्रतियोगिता नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिगको सट्टा यो लिग कम नकआउट आयोजना गर्ने अवधारणा ल्याइएको हो । एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको ए्एफसी च्याम्पियनसिपको लागि टोली पठाउन एन्फाले यो प्रतियोगिताको अवधारणा ल्याएको हो ।
गत चैत २५ गते एन्फामा सम्पन्न बैठकमा एन्फा पदाधिकारी र ए डिभिजनका १४ क्लबहरूबीच प्रतियोगिताका लागि सहमति भएको बताइएको थियो । प्रतियोगिता वैशाख २० गतेदेखि हुने तय भएको थियो । वैशाख १० गतेसम्म सहभागि हुने टोलीले दर्ता गर्ने समय दिइएको थियो ।
यसमा जम्मा चार टोलीले नाम दर्ता गराए । जसमा, तीन विभागिय टोली (आर्मी, पुलिस र एपीएफ) र संकटा क्लबले नाम दर्ता गराएका थिए । बाँकी १० क्लबले भने खेल्न कुुनै औचित्य नरहेको भन्दै नाम दर्ता गराएन ।
ती १० मध्य एक क्लबका अध्यक्षले बताए कि एएफसी च्याम्पियनसिप खेल्नको लागि लाइसेन्स लिनु पर्ने नै समय भएन । नाम नराख्ने शर्तमा उहाँले बताउनुभयो—एएफसी च्याम्पियनसिप खेल्न पहिले त लाइसेन्स चाहियो । लाइसेन्स लिनको लागि आवेदन भर्न यही वैशाख २७ गतेसम्म अवधि रहेको छ । यति छोटो समयमा तयारी नै गर्न सकिँदैन । एएफसी लाइसेन्स लिन विभिन्न चरणको प्रावधान पु¥याउनु पर्छ, जुन गर्न सकिँदैन ।
उहाँले थप्नुभयो—एक टोलीले उपाधि जित्यो र त्यो टोलीसँग लाइसेन्स छैन भने पछि विभागिय टोलीबाटै एएफसी च्याम्पियनसिप खेल्न जानेछ । यस्तो भएमा त्यो नकआउट लिग गर्नुको अर्थ नै रहँदैन । अर्को एन्फाले एपीएफलाई कसरी ए डिभिजन प्रतियोगितामा खेलाउन सहमति दियो ? एपीएफ पछिल्लो ए डिभिजन लिगबाट रेलिगेसन भएको टोली हो । एपीएफले उजुरी दिएको पनि दुई वर्ष भइसकेको छ र अहिलेसम्म एन्फाले यसबारे स्पष्ट निर्णय दिएको छैन । यस्तो तरिकाले फुटबल प्रतियोगिता आयोजना गर्न एन्फा किन सँधै तयार हुन्छ ? बुझ्न सकिँदैन ।
नेपालमा लिग नियमित समयमा नहुनु सबैभन्दा दुर्भाग्य हो । २०७९–८० को सिजनमा ए डिभिजन लिग भए यता लिग हुन सकेको छैन । हाल बी डिभिजन लिग भइरहेको छ र ए डिभिजन लिग भने कहिले हुने अतोपतो छैन । लिग नगर्ने अनि जे पायो त्यही प्रतियोगिता गर्न एन्फा तयार हुन्छ ।
नेपाली फुटबलको मेरुदण्ड भनेकै लिग हो । लिग नै नियमित रुपमा गर्न सकिँदैन भने पदमा बसिरहन उहाँहरूलाई सुहाउँदैन । तर, स्रोतअनुसार एन्फाले लिग यसै वर्ष शुरु गर्नेछ । एन्फाको अनुसार अहिले लिगको सट्टाको नकआउट लिग गर्नुृको कारण एएफसी च्याम्पियनसिपमा लिग विजेता टोलीको प्रतिनिधित्व गराउन हो ।
एन्फाले गत संस्करणकै विजेता चर्च ब्वाइज यूनाइटेडलाई एएफसी च्याम्पियनसिपमा पठाउन एएफसीलाई पत्राचार पनि गरेको थियो । तर, एएफसी नमानेपछि लिग कमनकआउट प्रतियोगिताको अवधारणा विकास भएको हो । तर, यो नयाँ अवधारणा शुरु नहुँदै अवसान भएको छ ।
प्रतिक्रिया