काठमाडौं
वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिए पनि कर्जाको गुणस्तर भने थप कमजोर बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १९ अर्ब ७ करोड रुपियाँँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.१३ प्रतिशत बढी हो । तर, यसै अवधिमा बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ५.६४ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको कुल खुद नाफा १३ अर्ब ५ करोड रुपियाँँ थियो । एक वर्षको अवधिमा नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरूको मुख्य व्यवसायबाट हुने आम्दानीमा भने खासै सुधार देखिएको छैन । बैंकहरूको खुद ब्याज आम्दानी एक प्रतिशतमात्रै बढेर ४९ अर्ब १० करोड रुपियाँँबाट ४९ अर्ब ५७ करोड रुपियाँँ पुगेको छ । यसले बैंकहरूको नाफा वृद्धिमा व्यवसाय विस्तारभन्दा पुराना कर्जाको असुली र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम घट्नुको योगदान बढी रहेको संकेत गर्छ । पछिल्लो समय घरजग्गा कारोबारमा देखिएको केही सुधार तथा निर्माण व्यवसायीलाई कर्जा पुनर्तालिकीकरण र पुन:संरचनाको सुविधा दिइनुले पनि बैंकहरूको कर्जा असुलीमा सहयोग पुगेको देखिन्छ ।
राष्ट्र बैंकले गत असारदेखि निर्माण व्यवसायीको कर्जाको भाका सार्न पाउने व्यवस्था गरेको थियो । ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी बैंकहरूले कर्जाको पुनर्तालिकीकरण वा पुन:संरचना गर्न सक्ने व्यवस्था गरिएको थियो । असोज मसान्तसम्म उपयोग गर्नुपर्ने यो सुविधाले समस्यामा परेका केही कर्जालाई नियमित बनाउन सहयोग गरेको छ । त्यसक्रममा बैंकहरूले यसअघि सम्भावित कर्जा जोखिमका लागि छुट्याएको प्रोभिजनसमेत घटाएका छन् । प्रोभिजन घट्दा खुद नाफा बढ्न सहयोग पुगेको हो । तर, नाफामा देखिएको सुधारसँगै खराब कर्जाको तथ्यांकले बैंकिङ क्षेत्रको जोखिम अझै चुनौतीपूर्ण रहेको देखाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.८५८ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५.६४१ प्रतिशत पुगेको छ । एक वर्षमा ०.७८३ प्रतिशत बिन्दुले खराब कर्जा बढेको हो ।
२० वाणिज्य बैंकमध्ये १२ वटाको खराब कर्जा बढेको छ भने आठ वटाको घटेको छ । खराब कर्जाको दर सबैभन्दा उच्च प्रभु बैंकको देखिएको छ । बैंकको खराब कर्जा गत वर्षको पहिलो त्रैमासमा ५.७८ प्रतिशत रहेकोमा अहिले बढेर १४.८० प्रतिशत पुगेको छ । एक वर्षमै ९.०२ प्रतिशत बिन्दुको वृद्धि हुनु बैंकका लागि गम्भीर चुनौती हो ।
त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशतबाट ८.८७ प्रतिशत र कुमारी बैंकको ६.९८ प्रतिशतबाट ८.७२ प्रतिशत पुगेको छ । हिमालयन बैंकको खराब कर्जा ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ भने प्राइम कमर्सियल बैंकको ५.८६ प्रतिशतबाट ७.१५ प्रतिशत पुगेको छ । लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.४२ प्रतिशतबाट ५.५८ प्रतिशत र एनएमबी बैंकको ४.५८ प्रतिशतबाट ४.९२ प्रतिशत पुगेको छ ।
कृषि विकास बैंकको खराब कर्जा ४.७८ प्रतिशतबाट सामान्य बढेर ४.७९ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको ३.८३ प्रतिशतबाट ३.८९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.७१ प्रतिशतबाट १.८३ प्रतिशत र नेपाल एसबीआई बैंकको ३.०१ प्रतिशतबाट ३.१९ प्रतिशत पुगेको छ ।
यसै गरी खराब कर्जा घटाउने बैंकमध्ये सानिमा बैंकले सबैभन्दा राम्रो सुधार गरेको छ । बैंकको खराब कर्जा गत वर्षको पहिलो त्रैमासको ३.९१ प्रतिशतबाट घटेर २.८६ प्रतिशतमा झरेको छ । एक वर्षमा १.०५ प्रतिशत बिन्दुको सुधार भएको हो । नेपाल बैंकको खराब कर्जा ५.४९ प्रतिशतबाट घटेर ४.६१ प्रतिशत पुगेको छ । ग्लोबल आईएमई बैंकको ४.९८ प्रतिशतबाट ४.७९ प्रतिशत र नबिल बैंकको ४.३१ प्रतिशतबाट ४.०६ प्रतिशत कायम भएको छ ।
त्यस्तै, माछापुच्छे्र बैंकको खराब कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत र सिद्धार्थ बैंकको ३.८० प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ । सिटिजन्स बैंकको ६.८४ प्रतिशतबाट सामान्य घटेर ६.८० प्रतिशत कायम भएको छ । एभरेस्ट बैंकको खराब कर्जा सबैभन्दा कम छ । बैंकको खराब कर्जा गत वर्षको पहिलो त्रैमासमा ०.७४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ०.५० प्रतिशतमा सीमित भएको छ । बैंकहरूको नाफा बढे पनि खराब कर्जाको विस्तारले आगामी दिनमा नाफाको स्थायित्व र लाभांश क्षमतामाथि प्रश्न खडा गरेको छ । कर्जाको साँवा तथा ब्याज समयमा असुल हुन नसक्दा बैंकहरूले सम्भावित जोखिम व्यवस्थापनका लागि थप रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । यसले सञ्चालन नाफा र खुद नाफा दुवैमा दबाब सिर्जना गर्छ ।











प्रतिक्रिया