काठमाडौं ।
यस सिजन २०२४–२५ को यूएफा च्याम्पियन्स लिगमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एक पाइला फाइनलतिर तेर्साइसकेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस टोली आर्सनललाई १–० ले हराएर पीएसजी फाइनलतिर अग्रसर भएको हो ।
यो पहिलो लेगको खेल आर्सनलको मैदानमा भएको हो । दोस्रो लेग पीएसजीको मैदानमा हुने भएको हुँुदा पीएसजीले लाभ लिनेमा कुनै शंका छैन । यद्दपि आर्सनलले रियल मेड्रिडलाई उनीहरूकै मैदानमा हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो । यसैले आर्सनलले उलटफेर नतिजा निकाल्न सकिनेलाई पनि नकार्न सकिँदैन ।
पीएसजीको लागि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने मौका छ । अहिलेसम्म पीएसजीले च्याम्पियन्स लिगको ट्रफी उचाल्न सकेको छैन । केही वर्षअघि लियोनल मेसी, नेयमार र केलियन एम्बाप्पे जस्ता सुपरस्टारले एकै साथ खेल्दा पनि पीएसजीले च्याम्पियन्स लिगको फाइनल यात्रा समेत गर्न सकेन ।
अहिले पीएसजी फाइनल पुगेमा त्यो आश्चर्य नै हुनेछ । किनभने यो टोलीसँग सुपरस्टार खेलाडी छैनन् । यदि फाइनल नै पुगे पनि टोलीको सामना इन्टर मिलान वा बार्सिलोनामध्य एक टोलीसँग हुनेछ । यी बलिया प्रतिद्वन्द्वी भएकाले पनि पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्न सक्ला त ? यही प्रश्न तेर्सिएको छ ।
पीएसजीको च्याम्पियन्स लिगको इतिहासमा फाइनल यात्रा एक पटक मात्रै भएको छ । २०१९–२० सिजनमा पीएसजी फाइनल पुग्न सफल भएको थियो । तर, त्यो फाइनललाई पीएसजीले स्मरणीय बनाउन सकेन । सो फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग टियागो सिल्भाको टोली १–० ले पराजित भएको थियो । सो फाइनलमा एम्बाप्पे, डि मारिया, नेयमार जस्ता नाम चलेका खेलाडीले खेलेपनि बायर्नलाई हराउन सकेन ।
प्रतिक्रिया